बाबुराम सरकारको विस्थापनपछि सहमति : महासचिव पोखरेल

ईश्वर पोखरेल
- आनन्द पोखरेल
नारायणगढ । नेकपा एमालेका महासचिव ईश्वर पोख्रेलले बाबुराम सरकारको विस्थापनपछि मात्र राजनीतिक दलहरुबीचको सहमति सुरुवात् हुने बताउनुभएको छ । वर्तमान सरकार विघटन नगरेसम्म मुलकले निकाश पाउन नसक्ने बताउँदै महासचिव पोख्रेलले भन्नुभयो, ‘बाबुराम सरकार ढलेपछि बनेको नयाँ सहमतीय सरकारले मात्र चुनाब गराउन सक्छ’ ।
शनिबार नेकपा एमाले चितवनले भरतपुर पार्टी कार्यालयमा गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्वोधन गर्दै महासचिव पोख्रेलले एउटा पार्टीको घोषणाले मात्र चुनाब हुन सक्दैन, चुनाब हुनलाई संविधान संशोधन गरिनुपर्छ भन्नुभयो । ‘एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले भनेजसरी अब कुनै हालतमा पनि संविधान सभा पुनसर््थापना हुन सक्दैन’ महासचिव पोख्रेलले भन्नुभयो, ‘संसद पुनसर््थापना भए देशमा अराजकता आउने र त्यसको डढेलोले मुलक डढाउनेछ ।’
महासचिब पोख्रेलले सम्वोधनको क्रममा धेरै आलोचनात्मक शव्द एनेकपा माओवादी र बाबुराम सरकारको विरुद्धमा खर्चनुभएको थियो । उहाँले नैतिक हिसाबले बाबुरामलाई चाँडो सरकार छोड्न सुझाब दिनुभएको छ । सहमतिको लागि एमालेले पनि पटकपटक बहुमतको सरकार छोडेको उदाहरण दिँदै पोख्रेलले बाबुरामलाई पनि चाँडोभन्दा चाँडो सरकार छोडी चुनाबमार्फत जननिर्वाचित सरकार गठनको लागि बाटो खोल्न आग्रह गर्नुभएको छ ।
शुभकामना मन्तव्यको क्रममा उहाँले पुष्पकमल दाहाललाई पनि पटकपटक गाली गर्नुभयो । उहाँले भन्नुभयो, ‘पुष्पकलम दाहाल पटकपटक सहमति गर्छन्, तर त्यो सहमति उहाँबाट लागू हुँदैन । हात्तीवन बैठकभित्र दाहालले एउटा सहमति गरे, बाहिर निस्केपछि अर्को सहमति भएको बोल्दिए ।’
सहमति भएका कुरामा माओवादीले कार्यान्वयन नगर्दा समस्या उत्पन्न भएको उहाँको भनाइ थियो । ‘देशमा नवफाँसीवाद माओवादीले लाद्न खोजेको छ, एमाले त्यसको विरुद्धमा लाग्छ, यो सरकार ढलेर नयाँ सरकार गठन हुन्छ, तपाइँहरु ढुक्क हुनूस्’ उहाँले भन्नुभयो । स्थानीय निकायको चुनाब हुनुपर्ने तर्क गर्दै पोख्ररेलले देशले नेपाली अनुहारको संघीयता खोजेको बताउनुभयो ।
माओवादीको सत्ता कव्जाको कुरा बुझ्न नसकेको भन्दै पोख्रेलले आफ्नो गल्तीको पनि खुलासा गर्नुभयो । माओवादी सत्ताकव्जाको रोगबाट मुक्त हुनुपर्ने धारणा पनि उहाँले राख्नुभयो ।
त्यस्तै कार्यक्रममा एमालेका पोलिट्व्युरो सदस्य तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले पानी जमेर बस्दैन, पानीले आफ्नो बाटो आफै बनाउँछ भन्दै आन्दोलनको संकेत गर्नुभयो । उहाँले भन्नुभयो, ‘राष्ट्रपतिले अब बाबुरामलाई कान समातेर लखेट्छन्, त्यो दिन पनि आउँछ अब ।’
यसैगरी अर्का एमालेका पोलिटव्युरो सदस्य काशीनाथ अधिकारीले बाबुरामको सरकार रहेसम्म सहमति हुन नसक्ने बताउनुभयो । कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सचिव जितनारायण श्रेष्ठ, एनेकपा माओवादीका केन्द्रीय सदस्य ठाकुर ढकाल, नेकपा मालेका जिल्ला सचिव परशुराम लामिछाने, एमालेका केन्द्रीय सदस्य देवी ज्ञवाली, राप्रपा नेपालका जिल्ला अध्यक्ष बद्रि तिमिल्सिना, राप्रपाका जिल्ला अध्यक्ष रामहरि कँडेल, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष मोहनमणि ढकाललगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।
एमाले जिल्ला उपाध्यक्ष कृष्णभक्त पोखरेलले स्वागत मन्तव्य दिनुभएको कार्यक्रम जिल्ला अध्यक्ष जगन्नाथ थपलियाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

No comments

@lonely_aananda. Powered by Blogger.