शिक्षकले रोके परिक्षा दिनबाट विद्यार्थीलाई


चितवन । 
नेपाल संस्थागत विद्यालय शिक्षक युनियन (नेपाल ईष्टु), चितवनले आफ्नो माग पूरा नभएको भन्दै शुक्रबार प्याब्सन, चितवन अन्तर्गतका विद्यालयहरुको परीक्षा स्थगित गराएको छ । नेपाल ईष्टु, चितवनले शुक्रबार निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन (प्याब्सन), चितवन अन्तर्गतका करिब एक सय ४५ वटा विद्यालयको तेस्रो त्रैमासिक परीक्षा स्थगित गराएको हो । संस्थागत शिक्षकहरुको संगठन नेपाल ईष्टु, चितवनले यहाँका संस्थागत विद्यालयहरुको परीक्षा स्थागित गर्दा प्याब्सन,
चितवन अन्तर्गतका विद्यालयमा अध्ययन गर्ने करिब ७० हजार विद्यार्थीहरुको परीक्षा प्रभावित भएको छ । चितवनमा नेपाल ईष्टु र ईष्टु नेपाल दुई वटा संस्थाले एउटै माग राख्दै पटक पटक विद्यालय बन्द गराउँदै आएको छन् । नेपाल ईष्टुले यस अगाडि भदौ महिनामा विद्यालय बन्द गराएको थियो भने ईष्टु नेपालले पनि असोज र मंसिरमा गरि दुई पटक विद्यालय बन्द गराइसकेको छ ।

परीक्षा दिन नपाएपछि खेलेर समय विताउँदै गरेका विद्यार्थीहरु । 

शुक्रबार पहिलो समुहको परीक्षा सञ्चालन भइरहँदा नेपाल ईष्टुका शिक्षकहरु विद्यालयमा पसेर परीक्षा दिइरहेका विद्यार्थीहरुको हातबाट उत्तर पुस्तिका खोसिएको सम्बन्धीत विद्यालयका विद्यार्थीहरुले बताउँछन् । भरतपुर १० मा
रहेको अम्बर एभरेष्ट ईङ्ग्लीस बोर्डिङ स्कुलका कक्षा ४ मा पढ्ने विद्यार्थी इमान गुरुङले कम्प्युटर विषयको परीक्षा दिइरहेको अवस्थामा शिक्षकहरु आएर उत्तर पुस्तिका खोसेका बताउँछन् । परीक्षा दिन नपाए पछि चौरमा भुरुङ खेल्दै बसेका गुरुङले भने,( ‘हाम्रो बिहान १० बजेबाट इक्ज्याम शुरु भइरहेको थियो, लेखिरहेको बेलामा सरहरु आएर कपि खोस्नुभयो आजको इक्ज्याम दिन पाएनौँ ।’ गुरुङले जस्तै परीक्षा दिन नपाएको बताउँछन् भरतपुर १० मा रहेको अर्किड सेकेण्डरी स्कुलका कक्षा ४ मा पढ्ने विद्यार्थी युडी सुनार । सुनारले भने,( ‘परीक्षा दिन विहान स्कुल गएको सरहरुले परीक्षा हुन्न भनेर घर जान भन्नु भयो अनि फिर्ता आयौँ ।’ बिना सूचना परीक्षा चलिरहेको बेलामा विद्यार्थीहरुलाई परीक्षा दिनबाट बन्चीत गरिएकोमा साना विद्यार्थीहरु चिन्तित मुद्रामा देखिन्थे ।

परीक्षाहलमा पसेर विद्यार्थीहरुको कपि खोस्दा तपाईहरुले के गरेर बस्नु भएको थियो ? भनेर प्रश्न गर्दा अम्बर एभरेष्टका प्रिन्सिपल मुक्तिनाथ अधिकारीले नेपाल ईष्टुका शिक्षकहरु जबरजस्ती विद्यालयमा छिरेर परीक्षा स्थगित गराएका बताए । ‘नेपाल ईष्टु अन्तर्गतका शिक्षकहरुको टोली नै आएर परीक्षा बन्द गराउन भन्दै विद्यार्थीहरुले लेख्दै गरेको कपि खोस्नुभयो’ अधिकारीले भने । बिहानी समूहको परीक्षामा कपि खोसिए पछि दिउसो १ बजेबाट सञ्चालन हुने दोस्रो समूहको परीक्षा भने भरतपुर ईङ्ग्लीस स्कुल सोसाइटी (बेस), चितवनले नै बन्द गर्न आग्रह गरेको कारण परीक्षा रोकिएको अधिकारीले बताए । पटक पटक एउटै माग राख्दै शिक्षकहरुले विद्यालय बन्द गराउने, परीक्षा स्थगित गराउने काम गर्दा समेत तपाईहरु किन मौन बस्नु भएको ? भनेर संस्थागत विद्यालय अभिभावक संघ, चितवनका अध्यक्ष राजेन्द्र न्यौपाने सँग प्रश्न गर्दा न्यौपानेले यो सम्बन्धमा जिल्ला शिक्षा अधिकारीले समन्वयकारी भूमिका खेल्न नसक्नुको कारण बताए । ‘हामीले विद्यालय बन्द नगर्न भनेका थियौँ तर उहाँहरुले एक्कासी निर्णय गरेर विद्यालय बन्द गर्नु भएछ, हामीले कुनै वार्ता गर्ने समय नै पाएनौँ’ न्यौपानेले भने । शिक्षकहरुले राखेका जायज माग प्रति प्याब्सन चितवनले गम्भिर भएर माग सम्बोधन गर्नुपर्ने न्यौपानेले बताए । ‘पुस ५ गते जिल्ला शिक्षा अधिकारीको रोहबरमा नेपाल ईष्टु, प्याब्सन चितवन, शिक्षक अभिभावक संघ बसेर गरेको सहमतिलाई प्याब्सनले लागू ग¥यो भने समस्याको समाधन हुन्छ’ न्यौपानेले भने ।

नेपाल ईष्टु, चितवनका अध्यक्ष विष्णुबहादुर भुजेलले विद्यालयमा परीक्षा नै स्थगित गराएर आन्दोलनमा उत्रनुको कारण बताउँदै भने,  ‘पुस ५ मा भएको सहमतीको कार्यान्वयन नभएको कारण विद्यालय बन्द गर्न बाध्य भएको हौँ ।’ सामुदायिक विद्यालयका शिक्षकहरुको सरर वृद्धि भएको तलव सुविधा सहित सुविधाहरु मंसिर महिनाबाट दिने भनिएको भए पनि विद्यालयहरुले नदिएका कारण आन्दोलनमा उत्रनु परेको भुजेलले बताए । सहमतिमा भए अनुसार असोज ६ गतेबाट गर्ने भनिएको अनिश्चित कालिन बन्द पनि फिर्ता लिएको बताउँदै भुजेलले भने,( ‘हामीले जुन सहमति गरेर विद्यालय बन्दको कार्यक्रम फिर्ता लिएका थियौँ विद्यालय सञ्चालकहरुबाट सहमति अनुसार काम नभए पछि पुनः विद्यालय बन्द गर्न बाध्य भएका हौँ’ भुजेलले भने । शिक्षकहरुले विद्यालयको पढाई नै बन्द गरेर हिँड्दा पनि जिल्ला शिक्षा कार्यालय किन मौन बसेको भनेर प्रश्न गर्दा चितवनका जिल्ला शिक्षा अधिकारीले विद्यालयमा परीक्षा स्थागित भएको जानकारी नपाएको बताए । जिल्लाको शैक्षिक संस्था हेर्ने प्रमुख व्यक्तिले यस्तो गैर जिम्मेवारी कुरा गर्न सुहाउँछ र भनेपछि परीक्षा नै स्थगित गराएर आन्दोलन गरेका भए शिक्षकहरुलाई शिक्षा नियमावली अनुसार कारवाही गरिने शर्माले बताए ।

No comments

@lonely_aananda. Powered by Blogger.