होलिसँगको मेरो आत्मीयता
म सुत्ने तरखर गर्दै थिएँ । त्यस्तै रातिको १० बजेको हुँदो हो । निद्रा नलागेपछि मोबाइलमा दक्षिण भारतीय चलचित्र हेर्न थाले । म दक्षिण भारतीय चलचित्रको डाइहार्ट फ्यान भन्दा पनि हुन्छ । विशेष गरी ती चलचित्रमा हुने प्रेम कथा र ढिस्यूँ, ढिस्यूँ मलाई खुब मन पर्छन् । मैले डाइहार्ट फ्यान भनेर अंग्रेजी शब्द घुसाउने काम गरेँ माफी चाहन्छु । यसको ठ्याक्कै नेपाली अर्थ मैले जानित सबैले बुझ्ने भएको कारण अंग्रेजी शब्दलाई सापटी लिएर यता राख्ने ढृष्टता गरेको हुँ ।
अँ दक्षिण भारतीय चलचित्र हेर्दै थिएँ त्यो पनि नागार्जुनाको । त्यतिकैमा मोबाइलमा घण्टी बज्यो । रातिमा फोनको घण्टी नबजेको धेरै समय भएको थियो । झ्याउ मान्दै फोन रिसिभ गरेँ । फोनबाट आवाज आयो भाइ सञ्चै ? के गर्दै छौ ? होलिको विशेष कार्यक्रम के छ ? रेडियो कराएको जसरी एकोहोरो कुरा गरेको सुनेर मलाई रिस उठेर जे गरेपनि तपाईँलाई के मत्लब भन्दिउँ कि जस्तो लागेको थियो । आफूलाई काम गर्ने बेलामा कसैले अवरोध खडा ग¥यो कि लाटो रिस उठ्थ्यो । हुन त म खासै रिसाउँदिन तर दुख भने बेस्सरी लाग्छ ।
त्यो फोन गर्ने दाइसँग राम्रै कुरा भयो । भोलिपल्ट बिहान साढे पाँच बजे मलाई लिन आउने सहमति पछि फोन काटेँ । फेरि चलचित्रलाई निरन्तरता दिए । फोनमा खास कुरा भएको थियो । होलिको दिनमा गैंडाकोटमा रहेको मौलाकालिका मन्दिर जाने । मौलाकालिका मन्दिर जान भनेर खबर गरे मात्र पुग्ने म, झन् गाडी लिएर लिन आउँछु भनेपछि किन जान्थिन र । फिल्म हेरेर सुत्दा करिब १ बजेको हुँदो हो । सुत्ने बित्तिकै निद्रा कसरी परोस् । फेरि अचेल मेरो निद्रा पनि समयमा आउँदैन अनि बिहान अबेलासम्म निद्रा खुल्दैन । अझै भनौ बिहानको उदयीमान घामले झ्यालबाट स्पर्श गर्न सुरु गरेपछि मात्र मेरो निद्रा खुल्छ ।
मंगलबार ठिक उल्टो भयो । साढे पाँच बजे मोबाइलमा बजेको घण्टीले मेरो निद्रा बिथोलियो । घण्टी बज्न नरोकिएपछि मैले फोन उठाएँ । भाइ अझै सुतिराखेको ? फोनमा आवाज आयो । मैले होइन उठेको मात्र छैन । भनेर जवाफ दिएँ । हामी त बाहिर आएका छौं ल छिटो गर, ढिलो भइसक्यो । घाम लागेपछि डाँडा उक्लिन गाह्रो हुन्छ भनेर मलाई निर्देशन आएपछि हतार हतार उठ्दै आफ्नो नित्य कर्म सकेर मौलाकालिकाको यात्रामा लागेँ । सधैँ होलिको दिनमा बिहानैदेखि साथीहरुसँग रंग घसेर होलि मनाउने म आज मौलाकालिकाको यात्रामा गएको छु । के के हुने हो थाहा छैन । काम के हो त्यो पनि थाहा छैन । बिहानै करिब साढे ६ बजेतिर हामी कालिका पुग्यौँ । बाटोमा डाक्टर हेमराज कोइराला, देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शैलेन्द्र पिया, नेपाल प्रहरीका पूर्व डीआईजी ज्ञानेन्द्र महतलगायतका व्यक्तिहरु पनि भेटिनुभयो ।
डाँडामा पुगेपछि पो थाहा भयो । मन्दिर दर्शन गर्न भन्दा पनि उद्देश्य त अर्को पनि रैछ । मौलाकालिका र देवघाट जोड्ने धार्मिक पदमार्ग निर्माणको अनुगमन समेत रैछ मंगलबार । लौ अब भने मज्जाले हिँड्नुपर्ने भयो । ट्वीटहरु हाइकिङ जान्थे हल्ला गर्दै म भने चुपचाप अग्रजहरुसँग धार्मिक हाइकिङ जानुपर्ने भयो । त्यसरी धेरै नै हिड्ने थाहा पाएको भए मैले पनि आफ्ना दुई चार जना दामलीहरु सँगै लिएर जान्थेँ नि । थाहा भएन, एक्लै लागेँ । त्यो दिनमा बेस्सरी हिँडियो, खुट्टा त बाउँडिन थाल्यो । भोलिपल्ट उठ्न नसकिएला भन्ने पो पीर प¥यो ज्यानलाई । डुल्नु डुलेपछि पदमार्गको अनुगमन गरेर कालिका मन्दिरमा नै खाना खाएर हामी तल झ¥यौँ । नारायणगढ आउन नपाउँदै ट्वीटेहरु होलि खेल्नको लागि तयारीमा बसेका रैछन् ।
हुन त हामी माथी डाँडामा नै होलि खेलेका थियौँ । तर छरपस्ट तरिकाले होइन । जसरी दिउँसो छरपस्टै तरिकाले होलि खेल्यौँ त्यसरी मन्दिरमा पनि खेलेको भए घरमा पुग्दा कसैले चिन्दैनथे होला । नारायणगढ झर्ने बित्तिकै उज्ज्वलले फोन गर्यो । म झुट बोलेँ भाइ म मन्दिरमा नै छु । मन्दिरबाट आएको थकाइले हत्तु भएको थिएँ, त्यसैले झुुट बोल्न बाध्य भएँ । अनि एकछिन सुस्ताउन थालेँ । एकैछिनपछि क्याम्पा चौरको होलि खेल्न गएँ । त्यहाँ सहकर्मी सहित धेरै जना होलिको कन्सर्टमा रम्दै थिए । मध्य क्षेत्रका प्रहरी प्रमुख पनि त्यहीँ रहेछन् । सवारी चेकजाँचमा निकै कडाई । तीन जना चढेको हामी पुलिसलाई देख्ने बित्तिकै अरुलाई झारेर म एक्लै अगाडि बढेँ । होलिको रमाइलो माहौलमा रम्दै थिएँ, रंगको वर्षा सुरु भयो ममाथि । अनुहारमा थोरै मात्र अबिर लगाएर हिँडेको म त्यहाँ पुगेपछि त ढेँडु जस्तै बनेँ । अनुहारमा मात्र रंग दलेको भए त ठिकै हुन्थ्यो टाउकोबाट समेत रंगको वर्षा गराउन थाले ।
यतिकैमा फेरि सुशीलले फोन ग¥यो । ठाडो निर्देशन जारी ग¥यो, वीरेन्द्र क्याम्पस आइज । केटाहरुले उम्किन नदिने ठम्याइ भएपछि म वीरेन्द्र तिर नै लागेँ । त्यहाँ पुग्दा चिनिने स्वरुपमा कोही पनि थिएनन् । सबैलाई हेरेको चिनेको व्यक्ति पनि छद्मभेषी जस्तै लाग्न थाल्यो । सबै जना रंगीचंगी भएका थिए, होलिको रंगले । तर देखिराखेकालाई चिन्न गाह्रो भएन । म त्यहाँ पुगेपछि फेरि रंगको वर्षा सुरु भयो । अनुहारमा मात्र नभएर सरीर र टाउको पनि बाँकी राखेनन् । नुहाउँदा टाउकोबाट पानी खन्याए जसरी टाउकोबाट रंग वर्षाउन थाले सबैजना मिलेर । म पनि चुप लागेर रंग दल्न दिएँ । नमानेर पो के गर्नु ? चुप लागेर रंग दल्न दियो भने बरु ढुक्क हुन्थ्यो । तर आज मलाई एकदमै सकस भैसकेको थियो । टाउकोमा रंग मैले कुनै पनि होलिमा दल्ने गरेको थिएन ।
आजको घटनाले मेरो बाल्यपना समेत याद गरायो । जति बेला हामी होलीमा पिच्किरी छ्यापाछ्याप गरेर नपुगेर टाउकोबाट रंग खन्याउँथ्यौँ । मलाई अलि अलि सम्झना छ, एउटा होलिमा टाउकोमा धेरै रंग परेको कारण म बिरामी भएको थिएँ । त्यस वर्षपछि होलिमा मैले टोपी लगाउँथेँ । ता की मेरो टाउकोमा कसैको रंगको वर्षा नहोस् । तर आज टोपी लगाउने हेक्का नै भएन । खुला गएँ । टाउको त पुरै रंगाए साथीहरुले । जे होस् मेरो बाल्यावस्था सम्झना गराए । छुट्टै खुसी छायो मनमा । फेरि पहिलेको जस्तै बिरामी हुने हो कि भन्ने कुराले पनि मलाई सशंकित बनायो ।
वीरेन्द्र क्याम्पसमा मैले प्रत्यक्ष भेटेर चिनेका ट्वीटेहरु जति थिए त्यति नै नचिनेका समेत थिए । एक अर्कामा परिचित भयौँ । सबै जना रंग लगाइदिँदै म फलानो भन्दै होलिको शुभकामना दिन थाले । त्यहाँ हामी दिलेश, सुशील, अभिनय, मदन, उज्ज्वल, राजन, प्रकाश, आदर्श, चारुलगायतका ट्वीटेहरु थियौँ । चिनजान पछि सबैजना आफ्नै मान्छेजस्तो भयो ।
होलि खेलेपछि हामी गसिप दिन थाल्यौँ । गफ गर्न सुशीललाई कसले भेट्ने ? भए भरका ट्वीटीहरुसँग उसको चिनजान छ । फेक ह्याण्डल र असली ह्याण्डललाई उसले ठम्याउन खासै बेर गर्दैन । अनि फेक बनाएर केटाहरुलाई झुलाउन पनि पछि नपर्ने मान्छे हो सुशील । हामी गफ गर्दै गर्दा मुना पनि हामी माझ होलीको शुभकामना साटासाट गर्न आइपुगिन् । सबैजना भेटघाट हुँदा रमाइलो भयो गफगाफ पछि खाजा खाएर हामी फेरि नारायणी नदी किनार तिर लाग्यौँ । अझै बढी रमाइलो त नारायणीको किनारमा पो भयो । सधैँ एक्लै जान्थेँ किनारमा । डुल्यो, वाक्क लाग्थ्यो, हिँड्यो । आज त साथीहरु पनि थिए, त्यसैले होला अति रमाइलो लाग्यो । सबै जना रमाइलो गर्दै बालुवा माथि उफ्रिदै फोटो सेसन गर्दा खुब मज्जा आएको थियो ।
अभिनय र दिलेशले नारायणीमा मुख धोएर चोखिएर आएका मान्छेलाई सुशीलले फेरि रंग्यायो । हामी मुर्छा परिपरि हास्न थाल्यौँ । सबै जनाको प्रतिकृया थियो । यसपालिको जस्तो होलि त कहिल्यै रमाइलो भएको थिएन । मलाई पनि यो होलि खुब रमाइलो लाग्यो । विशेष लाग्यो । धेरै जना नयाँ व्यक्तिहरुसँग भेट भयो । अझै भन्दा यो होलि खास रह्यो ।
Leave a Comment