सत्ताको लोभमा उजाडिएको राष्ट्रियता

१४ जेठमा संविधानसभा विघटन गरिँदा मंसिरमा पुनः संविधानसभाको निर्वाचन घोषणा गरिएको थियो । विरोधमा उत्रिएका नेपाली कांग्रेस र नेकपा एमाले यतिखेर पुरक बजेटका विषयमा घोत्लिएका छन् र त्यतिखेरको अपमान बिर्सेर नयाँ शिरामा सम्झौता या संघर्षको राजनीतिक कसरत गरिरहेका छन् । एमाले र कांग्रेसलाई बिरालोले मुसा खेलाएझैँ गरिदिँदा सत्ताको दाउमा च्याँखे थाप्ने मौका भने राष्ट्रियताका चर्का कुरा गर्ने र रामबहादुर थापालाई प्रधानमन्त्री बनाउन पाए जसका अघि पनि लम्पसार नेकपा–माओवादीलाई परेको छ । चरम बद्नामी कमाएका मन्त्रीहरुको भीड बोकेर नेकपा माओवादीका उपाध्यक्ष बाबुराम भट्टराई एक्लै सत्ता वैतरणीको पुच्छरमा झुन्डिरहेका छन् । ठूला दलको यो ताल देखेर गाउँमा भएका युवायुवती सयकडा पाँच ब्याजमा ऋण लिएर खाडी मुलुकमा भाँडा माझ्न हिँडेका छन् । दुई ठूला दल संविधानसभाको निर्वाचन या पुनःस्थापनाको ललिपपमा करिब ६ महिना निकम्मा सरकारको शिकार भए र झुम्राको पुतली नै बने । अझै ६ महिना मुलुकमा निर्वाचन हुने संकेत देखिएको छैन । केन्द्रमा सत्ताको रन्कोमा रन्थनिएर ठूला भनिएका दलहरु एकीकृत माओवादी र नेकपा माओवादीका नेतासँग कुम हल्लाउँदै समय बर्बाद गरिरहेका छन् ।
काठमाडौँमा सरकारको दाबी गर्ने नेकपा–माओवादीका कार्यकर्ता जिल्लातिर चन्दा आतंकमा सरिक छन् । राष्ट्रियताका नाममा भारतीय सिनेमा, गीत र सवारीसाधनलाई रोक लगाएर बेमौसमी उपस्थिति जनाएका उनीहरुले अन्ततः त्यसलाई पनि पार्टीलाई सहयोग जुटाउने सूत्र सावित गरे । माउपार्टीसँग सम्पत्ति पाए अंशबन्डा, नपाए कब्जा गरेका माओवादीले यतिखेर जिल्लामा फेरि २०५२ सालकै झल्को दिने गरी जनसरकार, जनकारबाहीका नारा दिइरहेका छन् । फेरि भूमिगत राजनीति, बमबारी, रक्तपात, रगतको फाल्साको रवाफ दिँदै राष्ट्रियताका चर्का नारा उरालेका छन् । १६ वर्षसम्म पनि समर्पयतत् हुन नसकेको युद्धको रापमा फेरि नेपाली समाज सेकिनु पर्ने हो कि भनेर सर्वसाधारण आतंकित हुन सुरू भइसकेका छन् । 
युद्धका लागि कहाँबाट आउँछ बल, सहयोग ? कसले माओवादीलाई फेरि जंगल जाने मन्त्र फुकिरहेको छ र नागरिक सास्तीको कल्पनामा डुबेर अहिले नै ज्वरोको सिकार हुन थालिसकेका छन् । १४ जेठका भाकामा संविधानसभा अगाडि अनशन बस्ने र हल्ला गर्ने नागरिक समाज यतिखेर मौन छन् । यतिखेर नागरिक समाज हिजो लोकतान्त्रिक आन्दोलनमा एमाले, माओवादी र कांग्रेसलाई सघाएबापत पाएको नियुक्ति, सहयोगको ब्याज लगाएर बसेको झैँ देखिन्छन् । बिहान एउटा टिभी च्यानलमा निर्वाचन या पुनःस्थापना भनेर दुई धारको बहस गर्ने ठूला बुद्धिजीवीहरु बेलुका अनामनगरमा बाजेको सेकुवामा एउटै प्लेटमा एउटै सिन्काले सेकुवा घोचिरहेका हुन्छन् । मुलुकको यति टीठलाग्दो हालतमा सर्वसाधारणका कोही पनि छैनन् । गाउँका झोलेदेखि टोले गुन्डासम्म संरक्षणका लागि समाजमा जुन पार्टी बलियो छ, त्यसैको सदस्य र चन्दादाता भएका छन् । पार्टी कार्यालयमा हिजो त्याग र बलिदान दिनेहरु आज तिनै डोरीलाहुरेहरुको तलुवा हेरेर फर्कनु पर्ने अवस्था छ । नेतृत्वसम्म पुग्न तिनैले छेकेका छन् ।
तीन पटक रिपोर्टर्स क्लबमा भारतीय राजदूत जयन्तप्रसादले नेपालका शक्तिहरु भनेर प्रजातन्त्रवादी, राजावादी र माओवादीको उच्चारण गरे । यसर्थ मुलुकमा राजावादीलाई अझै पनि शक्तिमै देख्न चाहने भारतको नियतबारे प्रजातन्त्रवादी र माओवादी शक्तिले बुझ्नु जरूरी थियो । उसले अहिले पनि राजावादी शक्तिलाई उचाल्नुुको अर्थ के थियो ? पटकपटक भारतीय राजदूत पूर्वराजासँग भेटको समय मागिरहेको र बरू पूर्वराजाले नै यतिखेर आनाकानी गरेर बसेको विषय पनि गौण मान्छन् दलहरु । एउटा संरचनामा अटाएका राजनीतिक दलहरुको त यति भद्रगोल छ भने गाउँबाट बसभाडा तिरेर ल्याइएका भीडले मात्र शक्तिकेन्द्र स्थापित हुन सक्दैन र चेन अफ कमान्डको राजावादी राजनीतिक सन्तुलन छैन भन्ने कुरा सायद पूर्वराजाले बुझेका छन्, यद्यपि दलहरुको बेथिति हेरेर राजावादीहरु सक्रिय हुनु अन्यथा पनि होइन ।
राष्ट्रियताका चर्का कुरा गर्ने एकीकृत नेकपा माओवादी आज निर्लज्ज भएको छ । उसले हिजो कांग्रेस र एमालेलाई लगाएको धारे हातको बदला पाइसकेको छ । गाउँमा बेपत्ता र मारिएका परिवारको आँशु पनि पुछ्न नसकेको माओवादीले देशभक्त र राष्ट्रवादीहरु एक हुनुपर्छ भन्दा त्यसै हिजो राजावादीहरु हाँसेका रहेनछन् । भारतका अघि लम्पसार परेर उसले बनाएको जाली तमसुकमा दायाँबायाँ फड्के किनारामा ल्याप्चे लगाउने औकातबाहेक यो राष्ट्रवादी क्रान्तिकारी शक्तिको सत्ताले केही गर्न सकेन । बरू उसका हर्कतहरुले हिजो तर्सिएर राजावादीबाट लपक्कै माओवादी भएकाहरु आज फेरि राप्रपा नेपाल र कमल थापाकै धार ठीक भन्दै फर्किएका छन् । राष्ट्रियताका सवालमा हिजो २२ जिल्लाको तराई राज्य बनाउँछु भन्दा राजीनामा मागिएका शरदसिँह भण्डारीभन्दा दस गुणा बढी अपराध बाबुराम सरकारले गरेको छ । १४ जेठमा संविधान जारी भएको भए पनि यतिखेर मुलुकमा कति घरहरु जलाएर आगो ताप्ने काम हुन्थ्यो, त्यो अशान्त घडीबाट मुलुक केही महिनाका लागि जोगाएको भ्रम पालेर एकीकृत माओवादी बस्दा राष्ट्रियता झन् कमजोर विषय बनेको छ ।
आज एकीकृत माओवादीले भारतपरस्त भएर राष्ट्रियताको लालपुर्जा भारतलाई सुम्पियो भनेर जति चिन्ता भएको छ, उति नै नेताहरु भन्न थालेका छन्– मुलुक असफल राष्ट्र बन्दैछ । यसैको नतिजा हो, नेकपा माओवादीको सक्रियता पनि । विभाजन भए पनि निर्वाचन आयोगमा नियमअनुसार बहुमत नपुग्ने एउटा पार्टीले आज हल्ला गरेको भरमा नेपालमा अराजकता मच्चिएको छ । दसैँका बेला रुपन्देहीको भैरहवा नाकामा राष्ट्रियताका नारा घन्काउने काम हुुँदा नेपाली ट्रक भारत छिर्न पाएनन् । भारतमा ट्रक छिर्न नसकेको अवस्थामा कसरी लुम्बिनी भारतले दाबी गरेको खण्डन गर्न सक्छ एकीकृत नेकपा माओवादीले ? कसरी उसले राष्ट्रियताको बारे बोल्न सक्छ ? सीमाका एसएसबीले घर फर्केका नेपालीलाई लुट्ने र कुट्ने गर्दा चुइँक्क बोल्न नसक्ने सरकारले किन हिजो सुजाता कोइरालालाई भारतको पुच्छर भनेर खिल्ली उडायो ? अनि माओवादीको समूहले राष्ट्रियताका नाममा सुरू गरेको आन्दोलनले अरु क–कसका स्वार्थ पूरा हुँदैछ नेपाली भूमिमा ? सर्वसाधारणले दिएको चन्दाका भरमा नेकपा माओवादीले जंगल पस्ने, युद्ध लड्ने र रगतको भेल बगाउने कुरा पक्कै गरेको छैन । उसले पस्ने भनेको जंगल, बगाउने भनेको रगतको भेल यति सहज छैन । हिजो राज्य आतंक र लाल आतंक थियो मुलुकमा, यही घानमा परेका थिए नेपाली । तर साँच्चै उसले यो रहर कसैको इशारामा पूरा गर्ने तयारी गरेको छ भने पक्कै पनि अरु विदेशी शक्तिहरुलाई नेपालमा चलखेलका लागि बोलाउनु हो । संविधानमा एउटा विदेशीको रहर, जातीय राजनीतिमा अर्को विदेशीको रूचि । लुम्बिनीमा भारतको चासो । विमानस्थलको साँचोमा उसको लामो हात । अनि नेकपा माओवादीलाई उचाल्नुमा अर्को शक्तिको उदय र यसपछि मुलुकमा विदेशी सेनाको आगमनका लागि औपचारिक रुपमा ढोका खुल्ला । त्यसपछि अफगानिस्तानमा विदेशी सेनाले लात हानेको दृश्यहरुको नेपाली संस्करण । के हामीले राष्ट्रियताका विषयमा साँच्चै मिहिन ढंगले केलाएर सोच्न भ्याएका छौँ ? हिजो जनमोर्चामा रहँदा देश फिजीकरण हुँदैछ भनेर कुर्लने अमिक शेरचनहरुले आज एकीकृतको छाप लाग्दैमा राष्ट्रियताका विषयमा यसरी आँखा चिम्लेर बस्न मिल्छ ?
गाउँमा युवा नै छैनन् । राजधानी काठमाडौँमा भएका पनि कुनै न कुनै बहानामा विदेशिने योजनामै छन् । यो अवस्थामा भएका युवालाई किन युद्धमा पठाउने ? किन फेरि भूमिगत राजनीतिको आवश्यकता प¥यो ? किन मुलुकमा रगतको भल बगाउने रहर बढ्यो र किन विदेशीहरु राष्ट्रियताकै चम्चा प्रयोग गरेर नेपाललाई असफल मुलुक बनाउने तयारीमा छन् ? राजनीतिक दलका नेताहरुले न बुझेका छन्, न बुझाउन सकेका
छन् । तालिवानीले अघि लागेका अमेरिकी सैनिकलाई पछाडिबाट गोली ठोके झैँ हामी सकौँला विदेशी सेना फिर्ता हो भनेर ? कसरी सकौँला, जब कि भारतबाट घर फर्केकाहरु सीमामा रोकिएका छन् र नेपाली ट्रक भारत छिराउने हुती छैन हामीसँग । अब युद्ध होइन, राष्ट्रियताका सवालमा किन हामी छलफल नगर्ने ? उजाडिएको राष्ट्रियता किन हाम्रो चिन्तनको विषय बनेन ? संविधानसभाको निर्वाचन तोक या संविधानसभा पुनःस्थापना गर । तर कम्तीमा मुलुक रहनुपर्छ र राष्ट्रियता जाग्नुपर्छ भनेर किन दलहरु सुझाउन सक्दैनन् नागरिकलाई ? राष्ट्रियता सत्तामा टिक्ने या सत्तामा पुग्ने साँचो त्यतिखेर सफल हुन्छ, जब मुलुक सबल
रहन्छ । विदेशीको रणभूमिमा हामी राष्ट्रियताका विषयमा कुर्लनु सिउँदो उजाडिएका अगाडि मिलन र मधुमासको गीत गाउनुजस्तै हुन्छ ।

No comments

@lonely_aananda. Powered by Blogger.