९०औँ वर्षमा पनि साहित्यमा कलम चलाउँदै मदनमणि माड्साब

आनन्द पोखरेल
लेखन कार्यमा अग्रणी व्यक्ति तथा अक्षरशिरोमणि उपनामले समेत चिनिने स्रष्टा हुन्, मदनमणि दीक्षित । विभिन्न कार्यक्रमहरुमार्फत देशका विभिन्न ठाउँहरुमा अभिनन्दित साहित्यकार दीक्षित देशको एउटा गौरव हुन्, जसले बुढ्यौलीको कुनै पर्वाह नगरी आफ्नो साहित्यको यात्रालाई अनवरत रुपमा निरन्तरता दिँदै आएका छन् । हालसम्म ३३ वटा पुस्तक प्रकाशित गरिसकेका नेपाली साहित्यका धरोहर व्यक्तित्व दीक्षितले २०३९ सालमा “माधवी” नामको कृतिबाट ‘मदन पुरस्कार’ प्राप्त गरेका छन् भने ‘पद्मश्री साधना सम्मान’, ‘आदिकवि भानुभक्त पुरस्कार’ लगायत विभिन्न ६४ वटा पुरस्कार तथा सम्मानहरु पाएका छन् ।
फिचर
मदनमणी माड्साबसँग लक्षुमण सुबेदी
वि.सं. २०१२ सालदेखि पत्रकारितामार्फत कलम चलाउन सुरू गरेका मदनमणि माड्साबले पत्रकारिताको साथसाथै साहित्यमा पनि कलम चलाउन सुरू गरे । उनले सर्वप्रथम १८ सालमा ‘कसले जित्यो कसले हा¥यो’ भन्ने बुद्धिचालसम्बन्धी पुस्तक प्रकाशित गरेका थिए । यो पुस्तक लेख्नुको रमाइलो कारण सुनाउँदै उनले भन्छन्– “म सानो छँदा मेरो बाजेले मलाई जहिले पनि बुद्धिचाल खेल्न भन्ने र हराउने गर्नुहुन्थ्यो, यसैलाई आधार बनाएर मैले यो पुस्तक प्रकाशित गरेको हुँ ।”
यसरी जन्म्यो “माधवी”
पत्रकारितालाई आफ्नो पेसा बनाएर अगाडि बढ्ने क्रममा उनले वि.सं. २०१६ सालमा आफैँले एउटा “समीक्षा” भन्ने साप्ताहिक पत्रिका प्रकाशन गरे । उनले मदन पुरस्कार विजेता पुस्तक ‘माधवी’ जन्मनुको कारण उल्लेख गर्दै भने– ‘विभिन्न समयमा पत्रिका प्रकाशित हुने र बन्द हुनेक्रम जारी रह्यो, त्यस्तैमा २०३२ सालमा आएर “समीक्षा”लाई बन्द गरियो ।’
यसअघि पनि पत्रिका बन्द नभएको होइन, तर यसपटक लामै समयसम्म पत्रिका बन्द गरिएछ । विभिन्न निकायमा कुरा राख्दा पनि पत्रिका सञ्चालन गराउनको लागि कुनै कदम चालिएन । माड्साबकै शब्दमा “तत्कालीन प्रधानमन्त्री डा. तुलसी गिरीलाई भन्दा उनले राजालाई देखाउने र राजालाई भन्दा प्रधानमन्त्री गिरीलाई देखाउने यो क्रम तीन पटकसम्म चलिरह्यो, त्यसपछि मैले यो कुरा गर्न नै छोडिदिएँ । फेरि केही समयपछि सञ्चारमन्त्री भएर रवीन्द्रनाथ आए र उनीसँग पनि मैले यो कुुरा राखेँ, उनले भने– ‘राजालाई बिन्तीपत्र लेख्नुस् र त्यसमा मेरो पत्रिका सञ्चालनमा ल्याउनको लागि सञ्चारमन्त्री रवीन्द्रलाई पनि भनेँ र प्रधानमन्त्रीलाई पनि भनेँ, तर उनीहरुले केही पनि गरेनन् भन्नुस् ।’
मैले उनको चलाखी बुझिहालेँ, मेरो कलमबाट आफूलाई गाली गराएर दरबारसँग राम्रो हुन खोजेका हुन् उनी, म त्यस्तो किन गर्थें ? अनि मैले यो कुरा यत्तिकै थाती राखेर मंसिर २९ गते राति विचार गरेँ– यो दलविहीन प्रजातन्त्र यस्तै हुँदोरहेछ, अब मैले मेरो जीउमा पेट्रोल छर्केर आत्महत्या गरिदिन्छु, त्यो पनि दरबारको ढोकाअगाडि । अनि फेरि विचार गरेँ– रूमालले मुख छोपेर टेलिफोनमार्फत विदेशी पत्रकारहरुलाई दरबारअगाडि पुस १ गते दिउँसो ४ बजेको समयमा रमाइलो घटना घट्दैछ भनेर बोलाउनुपर्ला !
यस्तैमा ममा केही प्रश्न उठ्यो– “समीक्षा” बन्द भयो, त्यो अपराध कसले गरेको ? “समीक्षा” बन्द गर्ने अपराध मैले गरेको हो ? या प्रधानमन्त्री ? अथवा सञ्चारमन्त्रीले ? पत्रिका तिनीहरुले बन्द गरेका हुन्, अपराधी तिनीहरु हुन्, मैले आफूलाई किन दण्ड दिने ? म आत्महत्या गर्दिनँ, तिमीले मेरो अखबार खोस्यौ तर मेरो कलम खोस्न सक्दैनौ भन्ने देखाउनलाई बरू नेपालमा अहिलेसम्म नलेखिएको वस्तुस्थिति लेखेर तयार पार्छु भन्ने सोचका साथ पुस १ गतेबाट लेखेको पुस्तकको नाम थियो, “माधवी” ।
तत्कालीन समयमा पत्रिका प्रकाशन गर्दा उनले धेरै दुःख–कष्ट पाएको कुरा यसरी व्यक्त गरे– “मैले पत्रिकालाई निरन्तरता दिने क्रममा पञ्चायती शासकहरुले धेरै दुःख दिएका दिए । समाचारमा उल्लेखित समाचारलाई लिएर ‘समीक्षा’ लाई ९ पटकसम्म बन्द गर्ने कुचेष्टा गरियो भने मैले २५ पटक अञ्चलाधीशकोमा र ५० पटक सिडिओ कार्यालयमा बयान दिन जानुप¥यो ।”
मदनमणि माड्साबले पत्रिकालाई वि.सं. २०५२ सालसम्म निरन्तरता दिन सकेका थिए । विकृति र विसंगतिको भण्डाफोर गर्ने पत्रिकाको प्रकाशकले ५२ सालसम्म आइपुग्दा झन्डै आफ्नो श्रीसम्पत्ति नै गुमाइसकेका थिए । पत्रिका सञ्चालनका लागि उनले आफ्नो तराईमा रहेका कयौँ बिगाहा जमिन बेचिसकेका थिए । पछि आएर उनले आफ्नो पत्रिकालाई विश्राम दिए ।
मदनमणि माड्साबले लेखेको अङ्ग्रेजी उपन्यास "Thousands Herosima" त मस्कोको अन्तर्राष्ट्रिय पुरस्कारका लागि समेत मनोनयनमा परेको थियो । अन्तिममा रहेको कार्टुनको कमजोरीका कारणबाट यो उपन्यासले पुरस्कार त पाएन, तर पनि अन्तर्राष्ट्रिय जगत्मा राम्रै चर्चा कमाउन सफल भयो । तर, दुर्भाग्य ! यो पुस्तक हालसम्म पनि नेपालीमा अनुवाद गरिएको छैन ।
वि.सं. २०२२ सालबाट उनले आफ्नो लेखन कार्यलाई निरन्तरता दिनको लागि सहयोगी राख्न थाले । उनका सहयोगी बनेर काम गरेकाहरुमध्ये कोही अहिले नेपाल सरकारको उच्च ओहोदामा बसेर काम गरिरहेका छन् भने कोहीले साहित्यमा नै आफूलाई समाहित गर्न लागिपरेका छन् । साहित्यकार जगदीश घिमिरे पनि कुनै बेलामा माड्साबको लेखन कार्यलाई सघाउने गर्दथे ।
नारीप्रधान उपन्यासहरु लेख्ने मदनमणि माड्साब अहिले पत्रकारितासम्बन्धी पुस्तकको पाण्डुलिपि तयारीमा नै व्यस्त छन् । अहिले उनलाई कलम चलाएर सहयोग गर्नेमा छन्, नवलपरासीका एक नवजवान लक्ष्मण सुवेदी । करिब २ वर्षअगाडिबाट उनीसँगै दिनको २÷३ घण्टा समय बिताउने गरेका छन्, यी युवाले । माड्साबले बोलेका कुराहरुलाई यिनले कापीको पानामा उतार्ने काम गरेर माड्साबलाई सहयोग गरिरहेका छन् । स्नातक अध्ययन गर्दै गरेका यी युवाले गरेको सहयोगले माड्साब निकै नै प्रशन्न छन् ।
जीवनको प्रारम्भमा कम्युनिस्ट आन्दोलनमा लागेका माड्साब राजनीतिमा हुने झूटको खेती र नेताहरुसँगको घृणाले राजनीति परित्याग गरेको बताउँछन् । देश यो अवस्थामा गुज्रनुको कारण अन्तरिम संविधानको कमजोरी हो भन्दै उनी अगाडि भन्छन्– “देशमा तीनथरी गुटबन्दी छ, राष्ट्रपतिमा सरकार हटाउने अधिकार नभएको कारण र प्रधानमन्त्री बाबुराम र एमाओवादीका अध्यक्ष प्रचण्डको “तँ कुटेको जस्तो गर, म रोएको जस्तो गर्छु” भन्ने खालको व्यवहारले गर्दा देश यो हालतमा गुज्रन पुगेको हो ।’
जीवनको अन्तिम घडीसम्म पनि साहित्यिक विधामा कलम चलाउन चाहने माड्साबको कलम निरन्तर रुपमा चलिरहोस्, यो शुभेच्छा उनका लागि ।
@lonely_aananda. Powered by Blogger.