घट्दै डेंगु ज्वरोका बिरामी

डेंगु सार्ने पोथी लामखुट्टे ।

चितवनमा डेंगु ज्वरोका विरामी घट्दै गएका जिल्ला जनस्वास्थ्य कार्यालय, चितवनले जनाएको छ । चितवनमा आर्थिक वर्ष २०६७/०६८ मा डेंगु ज्वरो महामारीको रुपमा देखिएको थियो । 
जनस्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार आव २०६७/०६८ मा चितवनका अस्पतालहरुबाट सङ्कलित तथ्याङ्क अनुसार सात सय ३९ जनामा डेंगुको लक्षण देखिएको थियो । त्यस बेला तीन हजार दुई सय ९८ जनामा डेंगु परीक्षण गरिएको थियो । 
आव ०६७/६८ पछि डेंगु ज्वरो नियन्त्रणका लागि जिल्ला जनस्वास्थ्य कार्यालय, चितवनले विभिन्न कार्यक्रम आयोजना गरेको कार्यालयका भेक्टर कन्ट्रोल ईन्चार्ज रामकुमार केसीले जानकारी दिए । कार्यक्रम प्रभावकारी भएको कारण डेंगुका विरामीहरु घट्दै गएका केसीले जानकारी दिए । 
कार्यालयले दिएको जानकारी अनुसार आव २०६८/०६९ मा शंकास्पद एक हजार एक सय ७४ व्यक्तिहरुमा गरिएको परीक्षणमा ६८ जनामा डेंगुको लक्षण भेटिएको केसीले जानकारी दिए । साथै आव २०६९/०७० मा नौ सय ४६ जनामा डेंगु परीक्षण गरिएकोमा ५२ जनामा यसको लक्षण देखिएको थियो ।
डेंगु विषाणुद्वारा संक्रमित भएको ‘एडिस एजिप्टाई’ नामक पोथी लामखुट्टेको टोकाइबाट डेंगु ज्वरो सर्ने गर्दछ । जिल्ला जनस्वास्थ्य कार्यालय, चितवनले दिएको जानकारी अनुसार आव ०६७/६८ मा डेंगु रोग महामारीको रुपमा देखिएपछि ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको छ । यस कार्यक्रमलाई वार्षिक रुपमा वर्षको दुई पटक जेठ/असार र असोज महिनामा सञ्चालन गरिने पनि केसीले जानकारी दिए । 
वैशाखदेखि असोज महिनासम्म डेंगुको प्रकोप देखिने भएकोले यो समयमा विषेश सतर्कता अपनाउनुपर्ने केसीले जानकारी दिए । डेंगु नियन्त्रण प्रभावकारी हुनुमा स्थानीय समुदायमा जनचेतना अभिवृद्धि हुनु, खोज र नष्ट गर अभियान, जन समुदायको सक्रिय सहभागिता र स्वास्थ्यकर्मीहरुलाई डेंगु सम्बन्धी अभिमुखिकरण तालिम दिइनु लगाएतका कारण भएको जिल्ला जनस्वास्थ्य कार्यालय, चितवनले जानकारी दिएको छ । 
गएको साउन महिनामा दुई सय ५३ जनामा डेंगु परीक्षण गरिएकोमा सात जनामा यसको लक्षण भेटिएको भेक्टर कन्ट्रोल ईन्चार्ज केसीले जानकारी दिए । डेंगु लाग्ने कारणको बारेमा जानकारी दिँदै केसीले भने– वर्षातको पानी जम्ने टीनका डब्बाहरु, पुराना गाडीका टायर, फूलका गमलाहरुमा एडिस एजिप्टाई नामको पोथी लामखुट्टेले फुल पार्छ र तिनै ठाउँबाट यसको वृद्धि विकास हुन्छ । 
टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, शरीरमा विमिरा आउने जस्ता लक्षण देखिएमा डाक्टरको सल्लाह अनुसार औषधी प्रयोग गर्न पनि केसीको सुझाव छ । जिल्ला जनस्वास्थ्य कार्यालय, चितवनले भरतपुर अस्पताल र चितवन मेडिकल कलेजमा डेंगुको निशुल्क परीक्षणको व्यवस्था मिलाएको छ ।

No comments

@lonely_aananda. Powered by Blogger.