शिक्षकलाई विद्यालय बन्दको नशा

विद्यार्थीको पढाई बन्धकी नराख : अभिभावक संघ
आनन्द पोखरेल
भरतपुर, ९ माघ


शिक्षकद्वारा निजी विद्यालय बन्दको श्रृङ्खला
पहिलो बन्दः भदौ १८, ईष्टु नेपाल
दोस्रो बन्दः भदौ २१, नेपाल ईष्टु
तेस्रो बन्दः मङ्सिर २७, ईष्टु नेपाल
चौँथो बन्दः पुस १९, नेपाल ईष्टु
पाँचौँ बन्दः माघ ९, नेपाल ईष्टु

नेपाल ईष्टुद्वारा बिहीबार चितवनका निजी विद्यालयहरु बन्द
गरेपछि सुनसान बालमिकी शिक्षा सदन ।

निजी तथा आवासीय विद्यालयका शिक्षकहरुलाई विद्यालय बन्दको नशा नै चढेजस्तो भएको छ । जाडो बिदाअघि आफ्ना माग पुरा गराउन परीक्षा दिइरहेका विद्यार्थीको उत्तर पुस्तिका खोसेर विद्यालय बन्द गराएका निजी विद्यालयका शिक्षकहरुले बिद्यालय खुलेको दुई दिनपछि बिहीबार फेरि अकस्मात विद्यालय बन्द गराएका छन् । 
संस्थागत विद्यालयमा पढाउने शिक्षकहरुको दुई छुट्टाछुट्टै संगठन नेपाल ईष्टु र ईष्टु नेपालले चालु शैक्षिक सत्रमा पाँच पटक विद्यालय बन्द गराइसकेका छन् । बिहीबार नेपाल संस्थागत विद्यालय शिक्षक युनियन (नेपाल ईष्टु) मा आवद्ध शिक्षकहरुले पुनः विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिएका छन् । 

नेपाल ईष्टुका अध्यक्ष विष्णुबहादुर भुजेलले निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन), चितवनले आफूहरुले राखेको माग पूरा नगरेका कारण अनिश्चितकालिन विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिएको बताए । चालु आर्थिक वर्षबाट नेपाल सरकारले सामुदायिक (सरकारी) विद्यालयका शिक्षकहरुको तलव सुविधामा गरेको वृद्धि सरह निजी विद्यालयका शिक्षकहरुको पनि तलव र अन्य सुविधामा वृद्धि हुनुपर्ने माग राख्दै पटक पटक विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिँदै आएका छन् । 
निजी विद्यालयका शिक्षक संगठनहरुले गएको भदौ १८ गतेदेखि विद्यालय बन्दको श्रृङ्खला शुरु गरेका थिए । उनीहरुले भदौ महिनामा दुई दिन विद्यालय बन्द गरे भने मङ्सिर २७, पुस १९ र माघ ९ गते विद्यालय बन्द गराइसकेका छन् ।  
भदौ १८ गते विद्यालय बन्द गर्ने क्रममा ईष्टु नेपालका शिक्षकहरुले भरतपुर– १३, कल्याणपुरस्थित स्मल हेभन स्कुलको विद्यार्थी लिन हिँडेको स्कुल बसलाई नियन्त्रणमा लिएका थिए । त्यस्तै, पुस १९ गते नेपाल ईष्टुले गरेको बन्दका क्रममा पनि शिक्षकहरुले तेस्रो त्रैमासिक परीक्षा दिइरहेका विद्यार्थीहरुको हातबाट उत्तर पुस्तिका खोसेका थिए । शिक्षकहरुले एउटै माग राखेर पटक पटक विद्यालय बन्द गरिरहँदा पनि विद्यालय सञ्चालनको लागि चितवनका जिल्ला शिक्षा अधिकारीले ठोस कदम नचालेका सरोकारवालाहरुको गुनासो छ ।  
अभिभावक संघ नाम मात्रको संस्था भएको आम अभिभावकहरुको गुनासो छ । तर संस्थागत विद्यालय अभिभावक संघ, चितवनका अध्यक्ष राजेन्द्र न्यौपाने अभिभावक संघको पहलले नै पटक पटकको विद्यालय बन्द खुलेको दावी गर्छन् । विद्यालय खोलिनु पर्ने र शिक्षकहरुको माग पूरा गर्नको लागि अभिभावक संघ समेत दत्तचित्त भएर लागिरहेको न्यौपानेले बताए । ‘विद्यार्थीहरुको पढाईलाई बन्धकी नराख्नुस् भनेर हामीले शिक्षकहरुलाई आग्रह गरेका छौँ’ न्यौपानेले भने । 
नेपाल ईष्टुका अध्यक्ष विष्णुबहादुर भुजेलले आफूहरुको मागलाई प्याब्सनले बेवास्ता गरेको कारण बाध्य भएर विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिनु परेको जिकिर गरे । ‘प्याब्सनको नयाँ कार्यसमिति चयन भएपछि हाम्रा मागका सम्बन्धमा छलफल गर्ने भनेर भनेकोमा अहिलेसम्म कुनै पनि प्रतिक्रिया नदिएका कारण विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिन बाध्य भएका हौँ’ भुजेलले भने । 
विद्यालय खोल्ने सम्बन्धमा प्याब्सन, अभिभावक संघ र नेपाल इष्टुबीच बिहीबार राति अबेरसम्म वार्ता भएपनि विद्यालय खोल्ने सहमति हुनसकेन । नेपाल इष्टुका अध्यक्ष भुजेलले भने– ‘हाम्रा मागको सम्बन्धमा प्याब्सनले सुनुवाई गरेन भने शुक्रबार पनि हामीले विद्यालय खोल्न दिने छैनौँ ।’ कक्षा १० को परीक्षा सञ्चालनमा भने कुनै अवरोध नपु¥याएको भुजेलले बताए । 
उता ईष्टु नेपालका अध्यक्ष विष्णुहरि थापाले आफूहरुको माग पूरा नभएको र दुई तीन दिनसम्म पनि पूरा नभएमा फरक खालको आन्दोलन गर्ने जानकारी दिएका छन् । ‘विद्यालय बन्द गरेर आन्दोलन गर्दा प्याब्सन, अभिभावकहरु सबै हामीसँग दुःखी हुनुभयो, अब फरक तरिकाको आन्दोलन गर्ने तयारीमा छौँ’ थापाले भने । ‘हामीले अब आन्दोलनको नाममा विद्यालय बन्द गर्दैनौँ, विद्यार्थीहरुका पढ्न पाउने अधिकारको हनन् गर्दैनौँ’ थापाले भने ।   
निजी विद्यालयका शिक्षकहरुलाई सरकारी शिक्षकहरुको सरह तलब, सुविधा उपलब्ध नगराएकाले बिद्यालय बन्द गरिएको नेपाल ईष्टुका अध्यक्ष विष्णुबहादुर भुजेलले बताए । चितवनका निजी विद्यालय बन्द भएपछि करिब ७० हजार विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । प्याब्सन अन्तर्गत चितवनमा एक सय ४५ वटा विद्यालय रहेका छन् । 

No comments

@lonely_aananda. Powered by Blogger.