के विषयमा ब्लग लेखौँ ?

हिजो आज प्रायः आफूलाई बिजी राख्दै गएको छु ता कि उनको यादले मस्तिष्कमा कुनै नयाँ विषय नउब्जाओस् । बिहान उठेदेखि नै राति नसुत्नेबेलासम्म अति ब्यस्त भएको कारण कुनै सिर्जनात्मक कुराहरु लेख्ने मौकै मिलेन । अनि एकछिन फुर्सद मिल्यो र लेखौँ भनेर लाग्यो भने लेख्ने विषयवस्तु नै भेटाउँदिन । सायद भेटाउनु पनि कसरी ? एक छिन फुर्सद मिल्यो कि सामाजिक सञ्जालमा गफ लगाउन मन लाग्छ अनि ब्लग लेख्ने त नकुरा गरौँ भो ।
आज मेरो ब्लग चेक गरेको त तीज पछि कुनै पनि ब्लग लेखेको रैन्छु । आफैलाई कता कता अप्ठेरो पनि लाग्यो । आखिर किन लेखिन लेखिन ब्लग ? के मसँग फुर्सद थिएन र ? कि लेख्ने विषयवस्तु नभएर हो ? आफैले आफैलाई कैयन प्रश्नहरु गरेँ । मनबाट नै उत्तर आयो तँ अल्छी भएर हो कुनै पनि ब्लग नलेखेको । केहि लेखहरु त लेखेको थिएँ तर ति लेखहरु पनि ब्लगमा अपडेट भएका रैन्छन् । चुरे पर्वतको हाइकिङ लेखेर पनि ब्लगमा अपडेट गर्न नपाएको रैछु । 
आज धेरैजनाको ब्लग साइट हेरेँ, सबैजना अपडेटमा छन् । आफू भने चार महिनादेखि लापत्ता भएको रहेछु, के को चार महिना हुन्थ्यो र एक वर्ष नै भएछ । सन् २०१४ मा लेखेको थिएँ अब २०१५ मा बल्ल लेख्दैछु । अब थोरै भएपनि लेखौँ कि भनेर यता छिर्दैछु । के विषयमा लेखौँ कुनै विषय वस्तु नै चयन गर्न सकेको छैन । देशमा संविधान जारी गर्ने दिन पनि नजिकिदैछ, त्यसैको बारेमा लेखौँ भने मान्छेले आआफ्नै तरिकाले परिभाषित गर्देलान् । आफू त हिन्दू परियो । हिन्दू अधिराज्यको माग गर्दै लेखौँ भने हिन्दू अतिबादी भन्लान् भन्ने पीर । सङ्घीयताको बारेमा लेखौँ भने जति बुझ्यो उति अप्ठेरो विषय छ त्यो । 
सङ्घीयता चाहिन्छ भनेर लेख्न मन लाग्छ फेरी सङ्घीयताले देश टुक्राउँछ भनेर ब्याख्या गर्देलान् र मलाई विवादमा पार्छन् कि भन्ने डर पनि लाग्छ । देशमा माघ ८ मा संविधान जारी गर्छौँ भनेर सभासदहरुले गफ दिएका छन् त्यसको विषयमा लेखौँ कि झै लाग्छ फेरी ब्लग लेखेकै आरोपमा जेल हाल्ने हुन् कि भनेर पनि लेख्न मन लाग्दैन । कसैले माघ ८ मा संविधान आउँछ भन्छन् कसैले आउँदैन भन्छन् । मेरो विचारमा माघ ८ मा संविधान आएपनि अधुरो हुन्छ । पूरा संविधान हुँदैन । 
संविधानसभामा गएको ६ महिनामा संविधानको मस्यौदा जारी गर्छौ भन्ने राजनीतिक दलका नेताहरु अहिले एक वर्षसम्म पनि केहि गर्न सकेका छैनन् । संविधानको हालत ६८ साल जेठ २ गतेको भन्दा प्रगति भएको छैन । यसको विषयमा लेखौँ कि झैँ लाग्छ । फेरी सभासदहरुलाई त राम्रोसँग थाहा नभएको विषयमा मैले कसरी गहन रुपमा लेख्न सक्छु र ? आफूलाई थाहा भएको विषयमा लेखौँ भनेर लेख्न सुरु ग¥यो । जाँगर नै आउँदैन । 
पैसाको बलमा धर्म परिवर्तन गराइँदैछ भनेर लेखम् झैँ लाग्छ कहिलेकाँही तर त्यो विषयमा लेख्दा पनि अल्प सङ्ख्यक भनेर हेप्यो भन्ने हुन् कि जस्तो लाग्छ । वास्तवमा मैले अनुभव गरेको कुरा हो पैसा दिँदै धर्म परिवर्तन गराउँदै हिडेका छन् मान्छेहरु । डर, त्रास, धम्की देखाएरै भए पनि धर्म निरपेक्षताको फाइदा उठाएका छन् भनेर लेख्न मन थियो तर होस् भो लेखिअन फेरी कृश्चियनहरु रिसाउने होलान् । मुलुकमा ६०१ जना सभासदले केहि गर्न सकेनन् देशको ढुकुटी मात्र रित्याए भनेर लेख्दै राजा आउ भनौँ भने गणतन्त्रको विरोधी भयो भन्लान् । 
नेपालमा गणतन्त्र ल्याउने लडाइँमा म पनि सहभागी थिएँ त्यत्रो दिन पुलिसको अश्रु ग्यास खाँदै आन्दोलन गरेको निरर्थक भयो भन्न पनि नमिल्ने । त्यस्तो कुराहरु लेख्यो भने आफै असफल भएको जस्तो हुन्छ । गतिला नेताहरुलाई संविधानसभामा पठाउन सकेनौँ हामीले भनेर लेख्दा पनि त के हेरेर बसेको थिइस् ? भन्दिए भने बर्बादै हुन्छ । आखिर के विषयमा लेखौँ तनि मैले ब्लग ? लौ न कसैले भन्द्याओ । 
कसैले भन्लान् माया, प्रेमका मिलन विछोडका बारेमा लेखे भैहाल्यो नि भन्लान् । यि विषयहरुमा ब्लग नलेखौँ भनेर बस्याछु म । यस्ता विषयमा ब्लग लेख्दा सानीको याद झन् बढ्छ र फेरी आफैलाई सन्यासी बनाउनुको विकल्प पनि रहदैन जस्तो लागेर सांसारिक माया मोहको बारेमा लेख्नै मन लाग्दैन । देशको दुरावस्थाको बारेमा वर्णन गरेर सकिँदैन जति लेख्यो त्यति कम हुन्छ । महाभारतको ठेली जत्रै ब्लग हुन्छ, लेखेर पो के गर्ने त्यति धेरै पढ्ने जाँगर कसको ? 
सोच्दैछु छोटो अनि रमाइलो ब्लग के को हुन्छ होला ? जुन ब्लग एकै छिनको बसाईँमा पढेर सकियोस् अनि थोरै ज्ञानगुनका कुराहरु पनि दिन पाइयोस् । ए साँच्ची देशको वर्तमान अवस्थाको बारेमा लेखेँ भने त रातारात ‘हिट’ भइन्थो होला । त्यस्तो विषय पो लेख्ने । कुन विषय लेख्यो भने ठाउँको ठाउँ हिट भइन्छ भनेर सोच्दैछु । हिट हुने खालको विषय भेटाएँ भने एकै बसाईँमा लेखेर ब्लगिने तयारी गर्दैछु । अब एकछिन घोत्लिने समय आयोज कस्ता ब्लग लेखौँ जुन विषयवस्तु भिजिटरहरुलाई पनि मन परोस्, अनि आफूलाई दमदार लागोस् । 
कोहि छ त्यस्तो महावीर जसले भन्न सक्छ यो विषयमा ब्लग लेख्दा सुपर डुपर हिट हुन्छ भनेर ? ल भ्याकेन्सी अनाउन्स गरेँ है, उचित पुरस्कारको व्यवस्था छ । ए साँच्ची भ्याकेन्सी भन्दा एउटा विषयवस्तु याद आयो । नेपाली श्रम बजारमा बिक्री हुन नसकेर नेपाली युवाहरु विदेश पलायन भएका छन् । अब उनैको विषयमा ब्लग लेख्नु पर्छ क्यारे । जय देश जय प्रदेश !!!!!

No comments

@lonely_aananda. Powered by Blogger.