साउन, हरियो चुरा, हाम्रो संस्कृति र भित्रिएको विक्रिति

जब साउन महिना लाग्छ तब महिलाहरूले हातलाई हरियो चुरा र मेहन्दीले सजाउन थाल्दछन् । एकातिर साउने सोमबारमा ब्रत बस्न महिलाहरू अग्रसर भईरहेका हुन्छन् भने अर्को तिर उनीहरू बिदेशी सँस्कृतिको नक्कल गर्न तर्फ लालाइत हुँदैछन् । साउन लाग्न नपाउँदै उनीहरू रंगी बिरंगी हुनको लागि बजार तथा ग्रमीण क्षेत्रका चोक चोकमा रहेको चुरा पसल र श्रृंगार पसलमा चाहार्न थाल्दछन् ।
साउनमा ब्रत बस्ने कुरा त एक हिसाबले राम्रो कुरा पनि हो । विज्ञानले पनि पुष्टि गरेको छ कि एक स्वस्थ्य मानिस हप्तामा एक दिन ब्रत बस्दा आफ्नो स्वास्थ्यलाई फाईदा नै गर्दछ । तर असक्त तथा बिरामी पनि सोमबार भन्दै सकि नसकि ब्रत बसेको देख्दा कता कता काउकुती लागेर आउँछ अनि सहानुभुती पनि हुन्छ उनीहरूप्रति । आँफू अस्वस्थ्य छ भने आखिर ब्रत के का लागि ? यो कुरा तपाईँ तमाम आमाहरू तथा दिदी बहिनीहरूप्रति तेर्साउँदछु ।
साउनमा हातमा मेहन्दि र हरियो चुराले सजिँदै

फलानी त ब्रत बसी म किन नबस्ने ? पल्लाघरे सुन्तली त ब्रत बसेकी छे सानी तँ बस्दिनस् ? यस्तो वाक्य सुन्ने गरिन्छ हाम्रो समाजमा । ब्रत त स्वेच्छिक रूपमा बस्ने हो न कि अर्काको करकापमा । अनि फेरि शरिरले नसकी नसकी ब्रत बसेर के फल प्राप्त गर्न सकिन्छ ? उल्टै आफ्नो आत्माले श्राप गर्न थाल्दछ । किनकी बिरामी अवस्थामा त सन्तुलीत आहार विहार तथा उचित आराम आवश्यकता पर्दछ ।

आखिर किन लागाउँछन् त महिलाहरूले आफ्ना हातमा साउनमा हरियो चुरा अनि थरि थरिका मेहन्दीहरू ? भन्ने गर्छन् यो हाम्रो संस्कृति हो, साउनमा हरियो चुरा अनि मेहन्दी लगाउँदा आफ्नो घरमा राम्रो हुन्छ, सर्प दंशबाट जोगिइन्छ आदि आदि । तर न त यो हाम्रो पूर्विय संस्कृतिको उपज हो, न त माथि भनिए जस्तै हरियो चुरा र मेहन्दी लगाउँदा घर परिवारमा कुनै अनिष्ट हुनबाट बचाउँछ । वास्तबमा यो हामी नेपालीहरूको अर्काको नक्कल चोर्ने परिपाटि हो ।
खै, कुन दर्शन अथवा कुन धर्मको धार्मिक ग्रन्थ वा दर्शनशास्त्रमा भनेको छ साउन महिनामा हरियो चुरा अनि मेहन्दी लगाउनु पर्छ भनेर ? कि मैले कुनै त्यस्तो धार्मिक ग्रन्थ र दर्शनशास्त्र पढ्न नपाएको हुनुपर्छ या त यो सबै अवाफा कपोल कल्पित र देखासिकी गर्ने प्रचलन हो हामी नेपालीहरूको । मैले महिलाहरूले प्रयोग गर्ने सामानहरूको बिरोध गरेको होईन । मैले त एउटा बिसंगती र बिकृतिको बारेमा सानो कुरा उठान गर्न मात्र चाहेको हुँ । हो ! चुरा तथा मेहन्दी महिलाहरूको श्रृंगारका बस्तु हुन् । यो उनीहरूको गहना हो तर के श्रृंगारको बस्तु भन्दैमा कपोलकल्पित कुराहरूको पछाडि लाग्नु राम्रो हो त ? अनि यसैलाई आफ्नो संस्कृति तथा प्रचलन हो भन्दै अन्धो भक्त भएर अनुशरण गर्नु के उचित हुन्छ र ?
यस्तरी रंगाउँछन् आफ्ना हातहरू

अझै आधुनिक दिदी बहिनीहरू जो समाजका शिक्षित वर्गमा पर्दछन् उनीहरूले पनि यसलाई आफ्नो संस्कृतिको रूपमा वकालत गर्नु कतिको न्यायोचित कुरा हो ? नबुझेकाहरूले त अनुशरण गरे ठिकै छ । तर एउटा शिक्षित मानिसले अन्धोभक्त हुनु, के उचित कुरा हो त ? यो बारेमा खै कहिले सोँच्ने हो ? बेलैमा बिचार पु¥याउन सकियो भने अनाहकमा करोडौँ रूपैयाँ बिदेशीने थिएन होला ।
सायद एउटा कुरा तपार्इँहरू कतिलाई थाहा होला भने धेरैलाई थाहा नहुन पनि सक्छ । जुन हाम्रा दिदी बहिनीहरूले लगाउने चुरा अनी मेहन्दी छ त्यो हाम्रो देशमा उत्पादन हुँदैन । सबै भारत तथा तेस्रो मुलुकबाट आयातीत वस्तुहरू हुन् । साउन महिनामा यसको बढी नै खपत हुने गरेको छ । यसबाट ठुलै रकम बिदेशीने क्रम जारी छ । अनि व्यापार घाटाको त कुरै नगरम् ।
जुन हरियो चुरा र मेहन्दी तपार्इँले लगाउनुहुन्छ त्यसको मूल्य कमसेकम पनि ५० रूपैयाँ भन्दा बढी नै हुन्छ । अनि कुरा एक जनाले मात्र लगाउनेको होइन यहाँ त महिलाहरूको जनसंख्या करिब १ करोड ३७ लाखको हाराहारी रहेको तथ्य नेपालको राष्ट्रिय जनगणना २०६८ को नतिजाले देखाएको छ । जसमध्ये थोरैमा पनि १ करोड महिलाहरूले मात्रै यो महिनामा हरियो चुरा र मेहन्दी लगाए भने पनि करिब करिब ५० करोड नेपाली रूपैयाँ बिदेशीने कुरा प्रष्ट हुन्छ ।
आफु सिंगारिनको लागि हातमा चुरा र मेहन्दी लगाएको हो भने आखिर साउन नै किन कुर्नु प¥यो र ? के सिंगारिने समय अरू छैन र ? फुर्सदको समय पनि त हुन्छ नि, जुनबेला कुनै पनि काम नभएको समय हुन्छ । यो त रोपाईँको चटारो हुने समय हो । उता रोपाई गर्न भ्याई नभ्याई हुने गर्दछ भने यता श्रृंगारको सामान खरिद गर्नको लागि महिलाहरूलाई फुर्सद नै हुँदैन ।
साउनमा फस्टाउने साउजीको व्यापार
अब यो हिलाम्य हुने समयमा कताको फुर्सद निकालेर हातमा हरियो चुरा र मेहन्दी लगाउन दगुर्ने होला नि ? बरु साउनको महिनामा लुटतो फाल्ने, खिर खाने आदि इत्यादी गरेर संस्कृतिको जगेर्ना तर्फ लाग्ने हो कि ? यसै त हामी नेपाली कला र संस्कृतिमा धनि छौँ यसमा विकृति भित्राएर दरिद्र बन्ने कुचेष्टा नगर्दा राम्रो हुने थियो होला ।

No comments

@lonely_aananda. Powered by Blogger.