सरस्वतीको पूजा गरेर श्रीपञ्चमी पर्व मनाइँदै

सरस्वती माया दृष्टी विणा, पुस्तक धारिणी ।।
हंश वहानं संयुक्त, विद्या दानं करो तुमे ।।
विद्याकी देवी सरस्वतीको पूजा आराधाना गर्दै आज चितवन लगायत देशभरि सरस्वतीका मन्दिर तथा अन्य देवीहरुको मन्दिरमा विद्यार्थी लगायत भक्तजनहरुको घुईँचो लागेको छ । आज माघ शुक्ल पञ्चमी भएको यस दिनलाई श्रीपञ्चमी पर्वको रुपमा पनि चिनिने गर्दछ ।
चन्द्रमा जस्तो गारो वर्ण भएकी तथा हातमा वीणाँ र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरुले भारती, सरस्वती, शारदा, हँसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बद्धिधात्री, ब्रह्माचारिणी, चन्द्रघण्टा र भुवनेश्वरी जस्ता १२ वटा नामले पुकारीन्छ । सरस्वती विद्या र सिर्जनाकी देवी भएकी कारण विशेष गरि साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थीहरुले आ–आफ्नो कला साधनाका वस्तुहरु कापी, कलम, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रुपमा पूजा आराधाना गर्ने गर्दछन् भने तान्त्रिकहरु तन्त्र सिद्धिका लागि तारादेवीका रुपमा आराधाना गर्ने गर्दछन् ।
सरस्वती पूजाको दिनदेखि सूर्य उत्तरतिर लाग्ने र दिन क्रमशः लामो हुँदै जाने हुनाले र आजैको दिनदेखि वसन्त ऋतुको प्रारम्भ हुने विश्वासका साथ यस दिनलाई ‘वसन्त पञ्चमी’ पनि भन्ने गरिन्छ । हिन्दू धर्मावलम्बिहरुको पवित्र धार्मिक ग्रन्थ ‘ऋग्वेद’मा वाग्देवीका नामले पसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धी र सद्वुद्धि प्राप्त हुने भएकाले सरस्वती पूजाको ठूलो महत्व रहेको छ । हिन्दु धर्मावलम्बीले सरस्वती मन्दिर तथा पुस्तकको पूजा गरेर आराधना गर्छन् । 
आजको दिनमा बालबालिकालाई अक्षर आरम्भ गराए शुभ हुने जन विश्वास रहँदै आएको छ । गन्धर्व पूराणमा पनि आजका दिन सरस्वतीको पूजा गरि विद्या आरम्भ गरेमा सर्व सिद्धी प्राप्त हुन्छ भन्ने उल्लेख गरिएको पुरोहितहरु बताउँछन् । आजको दिनमा विवाह, ब्रतबन्ध, गुफा राख्ने र बेलविवाह (ईही) जस्ता सामाजिक तथा धार्मिक कार्य गर्नको लागि साइत हेर्नु नपर्ने भन्ने जन विश्वास रहँदै आएको छ । आजको दिनमा बालबालिकाको नाक कान छेड्ने समेत गरिन्छ । 
आजको दिनमा जिल्लामा रहेका सरस्वतीका मन्दिरमा बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राहरुको घुइ“चो लागेको छ । सरस्वतीलाई चढाइएको सात गेडा अक्षता निलेमा विद्या र बुद्धि स्फुरण भई विद्यादेवीबाट चेतनाको ज्योती पाइन्छ भन्ने धार्मिक विश्वास रहँदै आएको छ । नेपाली समाजमा कसैसँग ऋण वा सापटी लिँदा श्रीपञ्चमीको भाखा राख्ने चलन ग्रामीण क्षेत्रमा अझै पनि रहँदै आएको छ । 
आफ्नो विद्या कुनै बाधा अवरोध बीना नै सम्पन्न होस् भन्ने कामनाका साथ अहिले सरस्वतीको मन्दिरहरुमा पूजा गर्न श्रद्धालु भक्तजनहरु भेला भएका छन् । आजै गैंडाकोटको मौलाकालिका मन्दिर, स्थानीय विद्यालयमा स्थापना गरिएका सरस्वतीको मन्दिर लगायत चितवनका विभिन्न स्थानहरुमा भक्तजनहरुको बाक्लो उपस्थिति रहेको छ । आजको दिनलाई शुभ दिन मानेर बाल बालिकाको कान तथा नाक समेत छेड्ने काम गरिन्छ ।  आज सरस्वती पूजाको दिन भएकाले विवाह गर्दा साइत हेरिरहनु नपर्ने धार्मिक मान्यता पनि रहँदै आएको छ । 

No comments

@lonely_aananda. Powered by Blogger.