प्रेम सबैका लागि सबै प्रेमका लागि
“प्रेम नै स्वर्गको बाटो हो, मनुष्यताको अर्को नाम हो । समस्त प्राणीप्रति प्रेम गर्नु नै साँचो मनुष्यता हो ।”– गौतम बुद्ध
“प्रेम आँखाले होइन, मनले देखिन्छ ।”– शेक्सपियर
“जो प्रेमले सुध्रन सक्दैन, ऊ कहिल्यै सुध्रन सक्दैन ।”– सुकरात
“प्रेमले कहिल्यै लिँदैन, सधैँ दिइरहन्छ अर्थात् त्याग प्रेमको स्वभाव हो । प्रेमले सहन्छ तर विरोध गर्दैन ।”– गान्धी
“प्रेम सूर्यजस्तै चम्किलो छ, जुन वस्तुलाई यसले छुन्छ, त्यसको जीवनमा चैतन्य भरिदिन्छ ।”– मार्डेन
“प्रेमले गरिबको छाप्रोलाई पनि स्वर्णमहल तुल्याउँछ ।”– होल्टो
प्रेमका सन्दर्भमा विभिन्न विश्वप्रसिद्ध विद्वानहरूले व्यक्त गरेका माथिका विचारहरू अत्यन्त मननीय छन् । प्रेमलाई अलौकिक र दिव्य–शक्तिको रूपमा ग्रहण गरी त्यसको प्रभाव र महत्वलाई अत्यन्त विशिष्ट ढङ्गबाट विश्वप्रसिद्ध विचारकहरूले ग्रहण गरेका छन् । महात्मा गान्धी प्रेमलाई मनुष्यता र स्वर्गको आधारभूमिका रूपमा स्वीकार गर्दछन् । जहाँ मनुष्यता छैन, त्यहाँ प्रेमको अभाव छ भन्ने बुद्धको आशय हो । स्वर्ग अर्थात् असीम शान्ति र आनन्दको अवस्थासम्म पुग्ने सोपानका रूपमा पनि प्रेमलाई बुद्धले ग्रहण गरेका छन् । यसरी प्रेम सम्पूर्ण आनन्द, खुसी र सन्तोष प्राप्तिको मानवीय विधि हो भन्ने कुरा स्पष्ट हुन्छ ।
यतिखेर प्रेमदिवसको सन्दर्भ छ । आम मानिस मोबाइल, टेलिफोन, इमेल, इन्टरनेट र चिठीपत्रहरूमार्फत आ–आफ्ना प्रेम–सन्देश आदानप्रदान गरी प्रेमदिवस मनाउने क्रमले यतिखेर व्यापकता पाउँदै छ । विशेषगरी, युवायुवतीहरू आपसमा भेटिएर आत्मीयता साटासाट गरी प्रेमदिवस मनाउन विभिन्न ठाउँमा भेला हुने, रमाइलो गर्ने अनि खानपानमा सहभागीसमेत हुने प्रवृत्ति यतिबेला प्रेमदिवस मनाउने आम तरिकाका रूपमा देखा परेको छ ।
तर भावनात्मक शैलीमा आत्मीयता साटासाट गरी सबैको खुसी र आनन्दको कामना गर्ने प्रवृत्तिको विकास गर्न भने हरेक वर्ष हामीले मनाउने ‘प्रेमदिवस’ कहिल्यै सफल हुन सकेन । यसपछाडिको कारण प्रेमलाई हामीले हार्दिक रूपमा अनुभूत गर्न सकेनौं । हामी बाहिरी साजसज्जा, रूपश्रृङ्गार र भावभङ्गिमामा नै धेरै केन्द्रित भयौं । सामूहिक वा जोडीका रूपमा कुनै ठाउँमा भेट भयो, खानपान ग¥यो र कामवासना पूर्ति गरेर प्रेमदिवस मनाउने शैली र संस्कारलाई हामीले स्थापित गर्ने प्रयत्न गर्दैछौं ।
जहाँ प्रेमको राज्य स्थापित हुन्छ– त्यहाँ कहिल्यै रोग, भोक, असन्तोष र अविश्वासले टाउको उठाउन पाउँदैनन् । किनभने प्रेमले कहिल्यै विभेद गर्दैन र कहिल्यै लिन चाहँदैन । महात्मा गान्धीले भनेझैँ प्रेमको दर्शन त्यागमा आधारित छ । प्रेम विरोध होइन, स्वीकृतिको नाम हो । धर्तीको विशालता र व्यापकता प्रेमका विशेषता हुन् । जसरी लाखौं–अरबौं मानिसले थुक्दा, कुल्चँदा र अपमानित तुल्याउँदा पनि धर्ती बिनाविरोध सहनशीलतापूर्वक शान्त र स्थिर रहन्छ, प्रेमलाई जीवनमा उतारेका मानिसहरू पनि त्यस्तै हुन्छन् । जहाँ लिन होइन दिन खोजिन्छ, त्यहाँ सदैव शान्ति र स्थिरताको साम्राज्य कायम हुन्छ । प्रेममा सबै सम्मानित हुन पाउँछन् । प्रेमको संसारमा कोही ठूलो र कोही सानोको असमानता रहँदैन । त्यसैले प्रेमको स्वभाव भएका मानिसको संसार हार्दिकतापूर्वक सुखमय हुन्छ ।
प्रेमले कहिल्यै प्रदर्शन गर्दैन । प्रेम त मौनताको नाम हो । प्रेमले सिद्धान्त होइन, व्यवहारमा जोड दिन्छ । प्राप्ति होइन, त्यागमा जोड दिन्छ । यतिखेर हामी जुन व्यक्तिको सम्झनामा प्रेमदिवस मनाइरहेका छौं, उनी अर्थात् सन्त भ्यालेन्टाइन त्यागका विशिष्ट प्रतिमूर्ति थिए । आफ्नी प्रेमिकाका लागि जीवन त्यागसम्मको चुनौती सहर्ष स्वीकार गर्न भ्यालेन्टाइन तत्पर रहे । तर के हामी प्रेमका नाममा सन्त भ्यालेन्टाइन बन्न सक्छौं ? के हामीमा प्रेमको दर्शनमा बाँचेर त्याग गर्नुपर्छ भन्ने विचार विकसित भएको छ ? एकछिन सोचौं ।
आज हामी प्रेमको यो महत्तम मूल्यलाई बिर्सिएर हाड, छाला र मासुमै रमाएका छौं । संसारमा थुप्रै मानिसहरू भोकभोकै मरिरहेका छन् । जीवन गुजाराका लागि अर्काका अगाडि हात पसारेर बाँच्ने हजारौं जीवनहरू छन् तर ती तमाम जीवनहरू निरीह र त्रासपूर्ण बाँच्न विवश छन् । हामी हरेक वर्ष भ्यालेन्टाइनको सम्झनामा प्रेमदिवस मनाइरहेका छौं तर संसारका लाखौं मानिस हाम्रो प्रेमको अभावमा घृणा पिएर बाँच्न विवश छन् ।
आज हामी जुन ‘लभ’ अर्थात् ‘प्रेम’को कुरा गर्छौं, त्यो शरीरमै समाप्त भएर गएको छ । आज हामीकहाँ प्रेमविवाह गर्नेहरू अधिकांश सम्बन्ध विच्छेद गरेर बस्ने देखिएका छन् । प्रेमको नाममा वा लभको बहानामा विवाहित बनेकाहरू पश्चातापपूर्ण जीवन बाँचेका थुप्रै उदाहरणहरू छन् । यो भन्दा ठूलो ‘प्रेम’को अपमान अर्को के हुन सक्छ ? यहाँभन्दा ठूलो ‘लभ’ को अवमूल्यन अर्को के हुन सक्छ ?
प्रेम कहिल्यै पनि समाप्त भएर जाँदैन । समाप्तिभन्दा पर दिव्यताको पवित्र महादेशमा प्रेमका दूतहरू निवास गर्छन् । हाम्रो शरीर, रूप, आकृति, हाड, छाला, सम्पत्ति सबै सांसारिक वस्तु हुन् । यी बदलिन्छन् बारम्बार र अन्ततः समाप्त भएर जान्छन् । तर प्रेम यी सबै वस्तुभन्दा पर हुन्छ । वस्तुहरूको अभावमा पनि प्रेम बाँचिरहन्छ । त्यसैले प्रेमलाई अलौकिक मानिएको हो । प्रेममा नै वास्तवमा सबै अटाउन सक्छन् । जसको मनमा एक जनाका लागिभन्दा अर्कोका लागि कुनै स्थान छैन, त्यो प्रेम भएको मन हुन सक्दैन । प्रेम सबैका लागि हो, सबै प्रेमका लागि हुन् ।
कुनै एउटी युवतीलाई प्रेम गर्ने कुनै एउटा युवक उसकी युवती–प्रेमिका कसैसँग बोल्दा दुःखी हुन्छ भने उसले त्यस युवतीलाई प्रेम ग¥यो कि गरेन ? यदि कुनै प्रेमिकाले आफ्नो प्रेमीको हात अरु कुनै युवतीले समाउँदा रिसाउँछिन् भने उनले आफ्नो प्रेमीलाई प्रेम गरिन् कि गरिनन् ? एक पटक सोचौं त !
कुनै श्रीमान्–श्रीमतीहरू आजभोलि सम्बन्ध विच्छेद गरी स्वतन्त्र जीवनयापन गर्न उद्दत देखिन्छन् । आखिर किन ? जीवन रहेसम्म मान्छे एक्लै बाँच्न सक्दैन । उसलाई कहीँ, कतै सहयोग र साथको आवश्यकता पर्छ नै । अनि त्यसरी जीवनभर साथ र सहयोग चाहिने पति र पत्नीहरू पनि आफ्नो भएको सम्बन्धलाई बिगारेर एक्लै बाँच्ने निर्णय गर्न सक्नु पछाडिको कारण के हुन सक्छ ? निश्चय नै आपसी प्रेमको अभाव । प्रेममा सबै विषहरू पनि अमृत बन्छन् अनि स्वार्थ र अहङ्कारहरू पानी पानी । आफ्ना सबै प्रकारका निजी आग्रह, मूल्य, अभिमान र आक्रोशलाई तिलाञ्जली दिएर नै प्रेमको संसार निर्माण गर्न सकिन्छ, अन्यथा आवरणलाई प्रेमको आधार ठान्नेहरू त्यही आवरणको विनाशसँगै समाप्त भएर जान्छन् ।
शेक्सपियर प्रेम आँखाले नभएर मनले देख्न सकिने ठान्छन् । उनको आशय प्रेम अनुभूतिको परिणाम हो । आँखाद्वारा प्रेमको मूल्य मापन गर्न सकिँदैन । बाहिरी रूपसज्जा र आकर्षक शारीरिक बनावट त आँखाका लागि हुन् तर वास्तविक प्रेम आँखाबाट ओर्लेर हृदयसम्म आइपुग्छ । मनले देखेको प्रेम आँखाले देखेको जस्तो क्षणभङ्गुर र विनाशशील छैन । वास्तविक प्रेम त मान्छेले आफ्नो सुमधुर व्यवहार, विचार, शैली, आचरण आदिका माध्यमले अनुभूत गर्ने विषय हो ।
प्रेम जड वस्तु होइन, जडवत् मनुष्य पनि यदि प्रेमको जलद्वारा अभिसिञ्चित हुन पायो भने उसले चैतन्यको अनुभूति गर्दछ । मनका सारा अँध्याराहरूलाई नाश गरी आन्तरिक आनन्दको उज्यालो सिर्जना गर्ने सूर्यको समकक्षमा स्वेट मार्डेनले प्रेमलाई उभ्याएका छन् । प्रेम सुन्दरताको पर्याय हो । सुन्दर वस्तुको सम्पर्कले कुरूपहरूमा पनि आशाको सञ्चार हुन्छ । त्यसकारण प्रेम सुन्दरताको विकसित रूप हो । यदि प्रेम आन्तरिक अस्तित्व हो भने व्यक्तिका आन्तरिक प्रतिभा, आचरण, स्वभाव र त्यागवृत्ति नै सुन्दरताका साक्षात नमुना हुन् । सबैलाई स्वीकार गर्ने र सबैको अस्तित्वमा रमाउनेहरू नै सच्चा प्रेमी हुन् ।
आज हामीकहाँ प्रेमको सतही नाटक मञ्चन गर्नेहरूको भीड जताततै देखिन्छ । शरीर सुन्दर भएका र चिटिक्क परेर सजिएका मान्छेहरू प्रेमका लायक हुन्छन् भन्नेहरूको बिगबिगी बढ्दो छ । यस्तै रहेमा कुनै दिन जब शारीरिक सुन्दरता स्खलित हुँदै जान्छ अनि प्रेम पनि स्खलित हुँदै जान्छ । यो कस्तो प्रेम हो, जुन ओइलाउँदो शारीरिक सुन्दरता र चाउरी परेको छालासँगै ओइलाउँदै र हराउँदै जान्छ अनि ती कस्ता प्रेमी हुन्, जो बेला बेलामा प्रेमकै नाममा पात्र परिवर्तत गर्दै भौंतारिरहन्छन् ?
प्रेमदिवसका सन्दर्भमा व्यक्त गरिने प्रेमका भावनाहरू पनि सतही हुन थाले । प्रेमको मूल्य र अस्तित्व फगत् यौनसुखमा बदलिएर गयो । यसको व्यापकतालाई अत्यन्तै सङ्कीर्ण र कमजोर बनाउँदै लगिएको छ । प्रेम त्यागको प्रतिफल हो । जसले पाउनका लागि प्रेम गर्दछ, त्यसले कहिल्यै प्रेमको अनुभूति गर्दैन । प्रेम त्यस्तो निर्बल र अल्पायुको हुँदैन, जो कसैको विनाश वा मृत्युसँगै समाप्त भएर जाओस् । प्रेम त अभावमा पनि उत्तिकै जीवन्त हुन्छ ।
जुन दिन प्रेमलाई हामीले हाम्रो आसक्ति, माया र शारीरिक सुन्दरताको दासताबाट मुक्त गर्नेछौं, सम्भवतः त्यतिखेर मात्रै प्रेमले आफ्नो सार्वभौम स्वरूप प्रकट गर्न सक्छ । अन्यथा, प्रेमलाई हतियार बनाएर क्षणिक वासनापूर्ति गर्ने र आफ्नो अहम् पुष्टि गर्नुबाहेक हामी केही गर्न सक्ने छैनौं । सच्चा प्रेमको उपासकले त्यसको शाश्वत् मूल्यलाई कहिल्यै बिर्सेको हुँदैन । उसले समग्र जगत्लाई आफ्नो ठानेको हुन्छ । सच्चा प्रेमीको हृदय समुद्रको जस्तै विशाल र गहिरो हुन्छ, जहाँ सबै नदीरूपी यात्रीहरूले स्थान पाउन सक्छन् । कुनै युवतीलाई मोटरसाइकलमा राखेर अरुलाई धक्का दिँदै हिँड्दैमा सही अर्थमा प्रेमदिवस मनाइएको मान्न सकिँदैन ।
सच्चा प्रेमी वा प्रेमिका आफ्नो प्रेमी वा प्रेमिकाको अभावमा पनि आत्तिँदैनन् । प्रेम जहिले पनि अपेक्षाहीन हुन्छ । आज प्रेमलाई पनि सापेक्षित बनाइएको छ । आज प्रेम यौनसुख प्राप्तिको एक मात्र विकल्पका रूपमा विकसित भएको देख्न चाहनेहरू बढ्दै गइरहेका छन् । प्रेमको यति सस्तो प्रयोग यसअघि कहिल्यै भएको थिएन ।
प्रेम आसक्ति होइन । सुन्दर वस्तु आफ्ना लागि मात्र हो भन्ने मान्यता प्रेमको मान्यता होइन । जस्तासुकै वियोग, विछोड, अभाव र अड्चनहरूमा पनि प्रेमको दियालो निरन्तर बलिरहेको हुन्छ । हरेक विपत्तिहरूमा पनि शान्त र सौम्य उभिनसक्नु प्रेमको विशेषता हो । प्रेममा विश्वास गर्नेहरू सम्पूर्ण सम्प्रदाय, जात, लिङ्ग, वर्ण र प्रतिष्ठाभन्दा माथि उठ्न सक्नुपर्दछ । नारीभन्दा माथि उठ्न नसक्ने पुरूष र पुरूषभन्दा माथि उठ्न नसक्ने नारीहरू सच्चा प्रेमी हुन सक्दैनन् । प्रेमको प्रशंसा सर्वत्र हुन्छ । कसैले कसैलाई गरेको प्रेमका कारण अन्य कसैमा जलन र ईष्र्या पैदा हुन्छ भने त्यो प्रेमको अवमूल्यनसिवाय दोस्रो केही हुन सक्दैन ।
होल्टो नाम गरेका विद्वान्ले भनेका छन्– प्रेमले छाप्रोलाई पनि स्वर्णमहल तुल्याउँछ । प्रेमले विभेद नगर्नु र हरेक अस्तित्वलाई समान मूल्य प्रदान गर्नुको परिणाम छाप्रो र महलको मूल्य बराबर हुनु हो । जसरी सूर्यको प्रकाश झारपात र वृक्षहरूमा एकै ढङ्गले छरिन्छ, साँचो प्रेम पनि सबैमा सबैतिर एकनाशले विस्तारित हुन्छ । तमाम दोषहरू प्रेमकै बलमा गुण बन्ने हैसियत राख्दछन् । दार्शनिक सुकरात भन्दछन्– जो प्रेमले सुध्रन सक्दैन, ऊ कहिल्यै सुध्रन सक्दैन । सुकरातका दृष्टिमा प्रेम सम्पूर्ण समस्याहरूको अन्तिम निकास हो ।
यसप्रकार सन्त भ्यालेन्टाइनको संस्मरणमा प्रेमदिवस मनाइरहँदा त्यसको सार्वभौम अस्तित्वलाई पनि स्मरण गरौं । शरीर, सम्पत्ति र वासनाको सीमाभन्दा माथि उठेर सबैलाई निष्काम प्रेम गरौं । यदि यसो गर्न सकियो भने हामीले प्रेमदिवस मनाइरहँदा प्रेमको याचना गर्दै बेखबर रोइरहेका आँखाहरूमा आशाको नवीन सूर्योदय हुनसक्छ ।
Leave a Comment