धान भनेको के हो भनेर सोध्छन् तरुनीहरु
बा ढोग गरेँ है !
आमालाई पनि ढोग छ, अनि बाइ बहिनीलाई लामो सम्झनाका साथ शुभाशिर्वाद । गाउँलेहरुलाई साइनो अनुसार नमस्कार सुनाइदिनु है ।
आमालाई पनि ढोग छ, अनि बाइ बहिनीलाई लामो सम्झनाका साथ शुभाशिर्वाद । गाउँलेहरुलाई साइनो अनुसार नमस्कार सुनाइदिनु है ।
म यहाँ आराम नै छु, आशा छ घरमा पनि सबै जना आराम नै होला ।
घरमा पत्र नलेखेको धेरै लामो समय भइसकेछ, छोरोले बिर्सियो कि भनेर आमाले गुनासो गर्दिहुन्, अनि गाउँलेले पनि माया मार्यो भनेका होलान् । के गर्नु बा, अरुको जगिर खाइएको छ भनेको बेलामा फुर्सद हुँदैन, न चिठी लेख्न पाउँछु न त घरमा आउन नै । हिजो तिम्रो पत्र पाएँ अनि सुत्ने समयलाई कटौती गर्दै यो पत्र लेखेको छु ।
पानी परेर मुख्य सडक नारायणगढमा जमेको पानी |
खास कुरा के भने नि बा, अब त बर्खा लागि सक्यो । गाउँमा रोपाइँको चटारो सुरु हुने बेला भयो होला । गाउँमा त हिलो खेल्न खेतको गरामा नै जानु पथ्र्यो हगी बा । तर यो सहराँ त बाटो र बाटाका गल्ली गल्लीमा रोपाइँ गर्न मिल्ने गरि पानी जमेका हुन्छन् । कहिले काहिँ त लाग्छ नगरपालिकासँग कुरा गरेरै यो बाटोमा धान रोपीदिउँ ।
हो बा तिमीहरु सोच्दै हौला खेतमा धान रोप्ने बेलामा पनि छोरो घरमा आएन भनेर । तर यहाँ पनि म खाली बसेको छैन, सायद फुर्सद हुँदो हो त किन आउँथिन र रोपाइँमा ? अनि रोपाइँमा नआएको पनि धेरै वर्ष बितिसकेछ । हो बा, यस पाली समय मिल्यो भने असार १५ मा घर आउनेछु । दही र चिउरा खाँदै रमाइलो गरेर माथ्लो खेतमा धान रोपौँला । अनि असार १५ मा नै धान मैजारो गर्ने होला नि है बा ?
बा मलाई अजै पनि याद छ, धान रोपाइँका बेलाका ति रमाइला क्षणहरु । तिमी र म खेतमा बाउसो लिएर जाने अनि हली दाइले गोरु खेद्दै हो हो तारे गायको दिन र खेतालीहरुले असार गीत घन्काएका ति दिन । के आज पनि त्यसरी नै धान रोपिन्छ र बा ? कि समयको परिवर्तनसँग सबै कुराहरुलाई चटक्के बिर्सिए गाम्लेहरुले ?
हो बा म यहाँ सहराँ बसेको छु, न असार गीत सुन्न पाएको छु न त बाठी लागाउन नै । मलाई पनि यो बिरानु सहराँ बस्ने रहर त कहाँ थियो र बा ? तर के गर्नु आफ्ना बाध्यताका कारण यता आउन गाम घर सम्झिदै बसेको छु । साँच्चै बा मलाई त यहाँका सहरिया भनौदाहरु देखेर पनि अचम्म लागेर आउँछ । किन थाहा छ ? धान भनेको के हो ? भनेर सोधि टोपलिएका थिए यहाँका तरुनीहरुले एकदिन ?
यहाँबस्ने मान्छेहरु त चामल रुखमा फल्छ अनि टिपेर लिएर आउने हो झैँ गर्दा रैछन् । तिनीहरुलाई के थाहा धान कसरी फलाइन्छ भनेर ? बा यि सहरका मान्छेले हामी गाउँलेलाई पाखे भन्थे नि तर यिनीहरु त लाखु जस्तै रैछन् केहि पनि थाहा नभएका । बाँदरको हातमा नरिवल भनेजस्तै । गाउँको केहि चिज हाताँ राख्दियो भने खान नजानेर भोकभोकै मर्छन् यि सहरिया पाखेहरु ।
बा यहाँ पनि झमझम पानी पर्न सुरु गरेको छ । धानको बिउ त राख्यौ हौला नि है ? अनि असार १५ मा त रोपाइँ हुन्छ नि ? अनि पल्ला घरे रामेको खबर के छ नि बा ? माथ्ला घरे श्यमदाइ, बेसीको रत्ने, हाम्रो रमेश कान्छो, अनि त्यो डाँडामा घर हुने काँइला बा को खबर के छ नि ? अनि सुन्तली, फूलमाया, सान्नानीहरुको खबर के छ नि बा तिनीहरुलाई पनि धान रोप्नको लागि खेताला बोलाउ है ? बरु म अलि लामो समय फुर्सद निकालेर आउँछु अनि पर्म तिर्न आफै जान्छु ।
बा यो असारमा असार लिएर आउँछु म, अनि पहिलेको जस्तै रमाइलो गरि खेतमा धान रोप्न पर्छ है ? आमा पनि बिरामी थिइन् क्यारे अहिले कस्तो छ अवस्था ? भाइको रिजल्ट त आको छैन होला, अनि बहिनीलाई त्यै नजिकैको राम्रो क्याम्पसमा भर्ना गरिदेउ है । अहिले सहरमा ल्याएर पढाउनु भन्दा उतै गाउँ घरको क्याम्पस पढ्छे उसले पनि । घरकै आटो पिठो खाएर बिहान बेलुकी आमालाई सघाउदै पढ्छे ।
अनि बा घर मुनीको आँधी खोला बढेको होला है । खेतमा त कुनै असर गरेको छैन नि त्यो खोलाले ? अनि त्यो घर माथिको पहिरो झर्न रोकियो कि नाइ बा ? मलाई त पानी परेको बेला जति बेला पनि घरकै याद मात्र आउँछ । कतै त्यो पहिरो फेरि पनि झर्ने हो कि भनेर ।
ल त बा चिठी लामो भइसकेछ । अबको एक हप्ता पछि त म आफै घरमा आइपुग्छु होला । बसेर सँगै काम गर्दै गफ गरौँला । अहिलेको लागि पत्रलाई बिट मारेँ ।
उही तिम्रो ठुल्छोरो,
Leave a Comment