गजुरीमा एक रात

वैशाख १२ नेपालमा विनाशकारी महाभूकम्प आयो । जसका कारण देश नै पीडामा छटपटिदैछ । हामीले आफ्नो ठाउँबाट सक्दो रुपमा मल्हम लगाउने प्रयत्न गर्दैछौँ । एउटा नेपालीलाई दुख पर्दा अर्को नेपालीले साथ दिएका छन् । यसै सिलसिलामा म विभिन्न जिल्लाहरुमा राहत सामग्री लिएर जाने क्रममा वैशाख २५ गते धादिङ पुगेँ केही साथीहरुको साथमा । 
हाम्रो टोलीमा करिब २० जना थियौँ । हामी गजुरीदेखि पारीको कुम्पुर गाउँमा राहत वितरणका लागि गएका थियौँ । दूरीगत हिसाबले गजुरीदेखि नजिकै रहेको उक्त कुम्पुर गाउँ भौगोलिक बिकटताले गाँजेको गाउँ थियो । गाउँसम्म पुग्नको लागि निकै नै कष्टकर यात्रा गर्नु पर्ने । हामी आफ्नै हातले पीडितलाई राहत वितरण गर्ने सोचका साथ धादिङमा पुगेका थियौँ । २५ गते हामी धादिङ पुग्दा केही अबेला भएको थियो । त्यो दिनमा राहत वितरण गर्न सम्भव भएन अर्को दिन पीडित भएको ठाउँमा राहत वितरण गर्ने सहमति गरी हामी २५ गते धादिङमा नै बास बस्ने अवस्थामा पुग्यौँ । 

हामी तीन वटा गाडीमा त्यहाँ पुगेका थियौँ । ३ जना गुरुजी, अनि हामी १७ जना । रात बिताउनको लागि कोठा खोज्दै गजुरीका होटलहरुमा पुग्यौँ, त्यहाँ कसैले पनि होटलका कोठाहरु भाडामा दिने ‘दुष्शाहस’ गरेनन् । होटलका कोठाहरु पूरै चर्किएका थिए । हामी जस्तोमा भए पनि बस्छौँ भन्यौँ तर साहुजीहरु हामीलाई कोठा दिन अस्वीकार गर्दै थिए । हुन पनि उनीहरु समेत होटलमा नबसी बाहिर टेन्ट टाँगेर बसेका रहेछन्, त्रासको अवस्थामा हामीलाई कसरी बस्न दिउन् ? मैले सम्झेँ गजुरीमा मेरो एक जना साथी भएको । 
हामीले होटलमा कोठा नपाएपछि उसलाई सबै कुरा बताएँ फोन गरेर । साथी एकैछिनमा ट्राफिक प्रहरीको कार्यालय अगाडि आयो हामीलाई उसको घरमा लिएर गयो । साँझको ६ बजेको थियो त्यतिबेलासम्म । उसको घरमा गयौँ, अवस्था बिजोक देखेर मुटु छियाछिया भयो । भक्कानो फुटेर आयो । मुटुमा सुल चल्न थाल्यो, केही बेरपछि मन थामेँ । साथीले आफूहरु अस्थायी रुपमा बस्दै आएको क्याम्प पनि देखायो । जुन क्याम्प इलाका प्रहरी कार्यालय गजुरीको मुनी थियो । 
खाना पकाएर खाने तयारीमा हामी ।
हामी सबैजनालाई साथीले क्याम्पमा नै खाना बनाउन थाल्यो । गाउँमा लोकल कुखुरा पाउने भएकाले कुखुरा समेत ल्यायो, मेरो असहमतिका बाबजुत । त्यसपछि म र केही साथीहरु क्याम्प छोडेर बजार डुल्न निस्कियौँ । अजिकै क्षेत्र नम्बर २ को लागि राहत संकलन र वितरण गर्ने क्याम्प समेत थियो । एकछिन त्यो क्याम्पमा गएर हाम्रो राहतको गाडी समेत राखेर आयौँ । गजुरीको आदर्श उच्च माविमा क्याम्प खडा गरिएको रहेछ । क्याम्पको जिम्म नेपाल सरकारका सहसचिव को थियो भने रेखदेखको जिम्मा नेपाल प्रहरी र सशस्त्र प्रहरीको थियो जसको कमाण्ड दुवैका डीएसपी (प्रहरी नायब उपरीक्षक)ले गरेका थिए । 
एकछिन गफियौँ, दुई जना डीएसपी, म र तीन जना साथी सहित हामी पाँच जना नजिकैको होटलमा खाजा खान गयौँ करिब साँझको ७ बजेको समयमा । खाजा खाँदै गर्दा सोलमारी लगाउने कुरा भयो । साथमा डीएसपीहरुको पनि सहमति भयो । म के गरौँ अवक् भएको अवस्था थियो । दायाँ बायाँ सोचिन मलाई सोलमारी खान मन लागेन । भेज खाजा मगाएँ मेरो लागि अनि एउटा रेड बुल लिएँ साथमा । अरुले बफ आइटम र गोर्खा मगाए । मैले सोलमारी खान्थेँ वा खान्थिन, अथवा म भेजेटेरीयन हो वा ननभेट त्यो बारेमा गफ गरिनँ मैले यत्ति बुझौँ कि त्यो दिनमा मैले ननभेज र सोलमारी लगाइनँ । 
हामी होटलमा खाजाको प्रतीक्षामा बस्दै गर्दा एक जना केटी आई खाजा लिएर, त्यो केटीलाई देखेपछि म ट्वाल्ल पर्न थालेँ । काटीकुटी मेरी ‘सानी’ जस्तै थिई । मैले जे देख्दैछु कतै यो सपना त होइन भनेर मैले आफैले आफैलाई चिमोट्न पुगेँ । यो सपना नभएर यथार्थ भएको महसुस भएपछि म सामान्य अवस्थामा फर्किएँ । खाजा ल्याउने केटी नजिकै आएर खाजा दिइ । उ सानी थिइन अरु नै थिई तर मलाई सानीको झल्को दिएर गई । मनमा थोरै भएपछि चिसो पस्यो । त्यो होटलवाल्नी साहुनीकी छोरी रैछे । संसारमा मान्छेको अनुहार पनि कसरी मिल्न सकेको हो ? उनीहरुको घर पाल्पा तिर रहेछ, कसरी पूर्व र पश्चिमका मान्छेसँग मुहार मिल्न गयो म छक्क परेँ । मनलाई नियन्त्रणमा लिनको लागि सोलमारी टुच्च पारौँ कि सोचेँ तर त्यो काम मेरो नैतिकताले दिँदैनथ्यो । आफूलाई नियन्त्रणमा लिएर डीएसपीसँग बिदा भएर क्याम्पमा गएँ । जहाँ खाना पाकि सकेको रहेछ । साथीहरु हामीलाई खाना खान कुर्दै थिए । 
त्यहाँ पुगेपछि खाना खायौँ, सुत्नको लागि हामी पनि त्यहीँ पाल टाँगेर अस्थायी शिविर बनायौँ । एक रातको लागि शिविर न थियो । त्यहाँ अरु पाँच जना परीवारको पनि क्याम्प खडा भएको रहेछ । त्यस्ता क्याम्प गजुरी बजारमा टन्नै देखिन्थ्यो साँझ परेपछि । टेन्ट मुनि सुत्यौँ के को निन्द्रा लाग्यो र ? जति बेला पनि लामखुट्टेले माया गरेर जान्थ्यो अनि पूरा म्युकजिकका साथ नाच्दै आउँथ्यो । अलिअलि त रक्तदान पनि गरियो होला लामखुट्टेको लागि । असैह्य भएपछि रातिको ११ बजे अस्थायी शिविर छोडर म र गाडीको गुरुजी गाडीमा नै सुत्न गयौँ । केहीबेर सुत्यौँ पनि । 
साँधुरो सिट, गर्मी भएपछि के को निन्द्रा आउँथ्यो र ? यस्सो निदाउन नपाउँदै फेरि ब्यूँझिइन्थ्यो । यस्तै यस्तैमा मध्यरातको १ भन्दा माथी नै पुगेछ घडीको सुई । रातिको करिब २ बजेको थियो होला मलाई गाडीमा पनि सुत्न मन लागेन । सोचेँ अब विद्यालयको पेटीमा सुत्छु । ओड्ने र ओछ्याउने कपडाको कमी थिएन, राहतको सामग्रीमा कम्पल पनि लगेका थियौँ । गुरुलाई उठाएर सामान झिक्न लगाएँ गुरु पनि मसँगै गएर सुते । बल्ल केही निन्द्रा पर्दै थियो । मिठो सपना देख्दै थिएँ । सपना चैँ यता वर्णन गरिन मैले ब्लग लामो हुन सक्छ । यतिकैमा आदर्श उच्च माध्यमिक विद्यालयको वरिपरी मान्छेहरु हल्ला गर्न थाले कोलाहल सुरु भयो । म झल्यास्स ब्यूँझिएँ । मान्छेहरु भागाभाग गर्दै थिए । 
मसँग सँगै भएका गुरुजीले पनि मलाई उठाउँदै थिए । मैले भनेँ के भयो ? गुरुजीको उत्तर थियो, –भूकम्प आयो । यतिकैमा विद्यालयको माथिल्लो तलाबाट सशस्त्र प्रहरीको एक जना जवान हामफाले । म छक्क परेँ मान्छेहरु भूकम्पसँग किन यसरी डराएका होलान् ? भूगर्वविद्हरुले नेपालमा अब महाभूकम्प जाँदैन भनेका छन् । मान्छेहरु मर्नको लागि किन यसरी डराउँछन् हँ ? यहाँ पलपल मर्दै बाँच्नु पर्ने बाध्यता हुँदा त मलाई मर्नदेखि डर लाग्दैन सोच्दै थिएँ । 
टेन्टको बास ।
सबै भागे अनि गुरुजीले पनि मलाई भाग्न आग्रह गरेपछि म पनि उठेर यसो पाखा लागेँ । बिहानको ५ बजेको थियो । कोलाहाल केही साम्य भयो, म पनि राति सुतेको ठाउँबाट यसो पश्चिमतिर नजर लगाउन पुगेँ । त्यो दृश्य देखेपछि मेरो मनमा फेरि चिसो पस्यो । म सुतेको विद्यालय त पूरा पहरामा फलेको फर्सी जस्तै ठाउँमा रहेछ । यदी बिहान आएको भूकम्पले अलिकति तलमाथि भएको भए म सोझै त्रिशुलीमा पुग्ने रहेछु । यतिकैमा उज्यालो भयो.......... यस पछि धेरै परिघटनाहरु थिए मैले यहाँ लेखिन केवल यो एक रातको अनुभूति मात्र थियो, बिहानको यहाँ उल्लेख गर्नु असान्दर्भिक मानेँ । अस्तु, 

No comments

@lonely_aananda. Powered by Blogger.