राहत, सेल्फी र मुस्कान : समकालिन नेपाल

गएको वैशाख १२ गते गोरखाको बारपाक क्षेत्रलाई केन्द्रवीन्दु बनाएर ७.९ रेक्टर स्केलको महाभूकम्प गयो । यस भूकम्पका कारण नेपालले ठूलो विपत्तीको सामना गर्नुपर्यो । भूकम्पका कारण मुलुकको विकासको गतिलाई अवन्नती तर्फ धकेलेको छ । मुलुकका विश्व सम्पदा सूचीमा परेका परेका धेरै सांस्कृतिक सम्पदाहरुमा क्षति पुगेको छ । राजधानीको शानको रुपमा लामो इतिहास बोकेको सुनधारामा रहेको भीसेन टावर (धरहरा) समेत ध्वस्त हुन पुग्यो । महा भूकम्पका कारण हजारौँ मानिसले ज्यान गुमाउन पुगे भने त्यसको दुई गुणा बढी घाइते भए । लाखौँ घरहरुमा क्षति पुगेको छ ।
विपत्तीको समयमा सहयोग गर्ने नेपालीको आदत नै हो । अझै भनौँ ‘जीउँदाको जन्ती मर्दाको मलामी’ भन्ने त नेपाली उखान नै छ । विपद्मा परेका नेपालीहरुलाई धेरै संघसंस्थाहरुले सहयोग गरेका छन् । यो भने राम्रो काम हो । तर काम भन्दा बढी प्रचार गर्ने व्यक्तिहरु पनि हाम्रो समुदायमा देखिए । जसले राहत वितरण भन्दै मुस्कान सहितको सेल्फी समेत सामाजिक सञ्जालहरुमा राख्ने गरेका छन् । मानिसहरु सेल्फी खिच्नकै लागि राहत वि तरणमा सरिक त भएका होइनन् कतै ? 

तस्विर मोह : राहत विरतणमा पुगेकाहरु तस्विर खिचाउनको लागि आग्रह गर्दै चितवनको कुरीनटारमा ।
मैले धेरै ठाउँमा देखेको छु सामान दिन्छन् २०/२५ हजारको तर उनीहरुलाई पब्लिसिटी चाहिन्छ । उनीहरु भन्छन् हाम्रो यो राहत वितरणले मिडियामा राम्रो कभरेज पाउनु पर्छ । अझै यो पनि भन्न पछि पर्दैनन्, मलाई अलि हाइलाइट गर्दिनु पर्छ । टिभीमा मैले राहत वितरण गरेको फुटेज राखिदिनुपर्छ । पत्रिकामा हो भने मैले राहत वितरण गरेको फोटो समाचार सँगै हालिदिनु पर्छ है भनेर भन्न समेत पछि पर्दैनन् । उनीहरुको व्यवहार देख्दा मलाई लाग्छ उनीहरुले पीडितको पीडामा मल्हम लगाउन होइन कि प्रचारको लागि राहत वितरण गर्दैछन् । 
भूकम्प गएको केही दिनपछि म राहतको सामग्री सहित विभिन्न जिल्लाका विभिन्न ठाउँहरुमा गएको छु । त्यहाँ मिडियाका साथीहरु पनि गएका हुन्छन् । हामी राहत वितरणमा जान्छौँ, हामीलाई त्यो प्रचारबाजी गर्नु छैन । तर त्यहाँ गएका केहि व्यक्ति राहत वितरणमा भन्दा पनि राम्रो फोटो खिचेर फेसबुक, इन्टाग्राम, हाम फाइभ, ट्वीटर लगायतका सामाजिक सञ्जालमा राख्नकै लागि गएको भान गराउँथे । राहत सामग्रीमा एक कार्टुन चाउचाउ हातमा लिँदै पीडितलाई दिन लागेको बेलामा मोडलिङ गर्थे । मुसुक्क मुस्काउँदै पीडितलाई भन्थे, –‘फोटो खिचाउनु पर्यो, क्यामेरा तिर हेरेर मुसुक्क हाँस्नुस् न ।’ 
विचरा पीडितहरुको दिलमा पीडाको भूमरी हुन्छ उनीहरु कसरी हाँस्न सक्थे र ? राहत दिन पुगेका मान्छेहरुले आहत दिएर फर्किन्थे । एक जनाले राहतको सामग्री दिन लागेको बेलामा फोटो खिच्नको लागि त्यहाँ भएका सबै जम्मा हुने । साँच्चै मान्छेहरु राहत सामग्री हातमा लिएर मुसुक्क मुस्काउँदै सेल्फी पनि खिच्न भ्याउँथे । अनि बेलुका सामाजिक सञ्जालमा लेख्थे, –‘फलानो ठाउँमा राहत वितरण गर्दै ।’ यो क्याप्सन भएको फोटोहरु राख्दा थाहा हुन्थ्यो उसले साँच्चै नै राहत वितरण गर्दै थियो वा फेसबुकमा लाइक र कमेन्ट खानको लागि राहत वितरणको ‘ढोङ’ गर्दै थियो भनेर । 
यस्तो पनि : धादिङ जिल्लाको सलाङ गाविसमा मोडलिङ गर्दै राहत वितरण टोली ।

शास्त्रमा भनेको छ, –‘दान गर्नु तर दान गरेको कुरा बाहिर सार्वजनिक नगर्नु ।’ तर अहिले मान्छेहरु शास्त्रलाई कहाँ मान्छन् र ? मान्छेहरु दुई पैसाको दान गर्छन् तर दुई रुपैयाँको हल्ला गर्छन् । यसरी सेल्फी मोह हुनेमा सर्वसाधारण मात्र होइनन् सभासद् समेत छन् । सभासद्ले फोटो खिच्नकै लागि एक जना लिएर जाने गरेका छन् राहत वितरण कार्यमा । भूकम्प पीडितलाई सहयोग गर्ने भए दुर्गममा जानुपर्ने तर मान्छेहरु हिड्न दुख मान्छन्, दियौँ भन्ने पनि पर्ने फोटो खिचेर सामाजिक सञ्जालमा पनि राख्न पाइने भएकाले आफूलाई पायक पर्ने सुगम ठाउँमा जान्छन् । अनि हल्ला ज्यादा गर्छन् राहत वितरण भन्दा । 
राहत वितरणमा भन्दा पनि पब्लिसिटीका लागि राहत विरतण गर्नेहरुको विरुद्धमा मैले फेसबुकमा एउटा स्टाटस लेखेको थिएँ, –‘मान्छेहरु साँच्चै भूकम्प पीडितको दुखमा साथ दिन राहत प्रदान गर्दैछन् वा पब्लिसिटीको लागि ? यदि दुखमा साथ दिन भए त ठीकै छ तर अनावश्यक प्रचारबाजीको लागि भए इतिहासले धिक्कार्नेछ तिनीहरुलाई ।’ मेरो यो स्टाटसमा कमेन्टको खेती गर्दै मलाई गाली गर्ने पनि भेटिए अनि यसका विरुद्धमा आफ्नो टाइमलाईनमा स्टाटस लेख्ने पनि भेटेँ । मसँग कमेन्टमा कुरा गर्न नसक्नेहरुले आफ्नो एकाउण्टबाट मेरो विचारको प्रतिकार गर्दै थिए । तिनीहरु प्रचारबाजी गर्ने व्यक्तिहरु थिए जसले मेरोमा कमेन्ट गर्न वैचारिक रुपमा नसकेपछि आफ्नो टाइमलाइनमा म विरुद्ध जुट्दै थिए । तर मेरो फेसबुक स्टाटस मन पराउने मान्छेहरु पनि थिए, तिनीहरुभन्दा बढी जसले प्रचारबाजीको लागि फोटो राख्थे फेसबुकमा । 
एक थरीले भन्ने गरेका थिए आफूले गरेको काम त देखाउन पाइयो नि । गरेको कामलाई गरेँ भनेर भन्न पनि नपाइने ? उनीहरुलाई मेरो जवाफ हुन्थ्यो, –‘हो आफूले गरेको काम गरेँ भनेर भन्न पाइन्छ, तर कतिसम्म भन्ने कस्ता फोटो खिचाउने भन्ने पनि त ख्याल गर्न प¥यो नि ।’ राहत वितरण भनेको छ पीडितको सामु बिस्कुटको पोको दिएर खिस्स हाँसेको फोटोले कस्तो म्यासेज जान्छ ? यो विषयमा पनि सोच्ने कि एकफेर ? अनि काम भन्दा बढी प्रचार बाजी गरेर के फाइदा ? तपाईँ स्वच्छ मनले काम गर्नुस्, तपाईँले प्रचार गर्नै पर्दैन । तपाईँको प्रचारको लागि पीडित नै लागि पर्छन् । प्रचार भावले मुस्कान सहितको सेल्फी (तस्विर) खिच्न भन्दा पनि निस्वार्थ भावले सेवा गरौँ । पीडितको पीडामा थोरै भएपनि मल्हम लगाऔँ । जय होस्

No comments

@lonely_aananda. Powered by Blogger.