चितवनको अस्मिता जोगाऔँ

चितवन धार्मिक, साँस्कृतिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण जिल्ला हो । नेपालमा आन्तरिक र वाह्य पर्यटक भित्र्याउन महत्वपूर्ण भूमिका खेल्ने चितवन राष्ट्रिय निकुञ्ज समेत यहाँ रहेको छ । त्यसैगरी पवित्र नारायणी पनि चितवन भएर बग्ने गरेको छ । तीर्थ स्थलको कुरा गर्नुपर्दा देवघाट धाम, त्रिवेणी धाम, माडीको गोद्दक, विक्रमबाबा मेला लगायत धार्मिक स्थलहरु चितवनमा नै रहेको छ । 
देशमा आएको महाविपत्ति देशको राजधानी चितवनमा सार्ने जुन प्रपञ्च रचिदै छ, यो किमार्थ सहि निर्णय होइन । अहिलेको समय भनेको राजधानी सार्ने र सरकार परिवर्तनको समय नभएर पुनर्निर्माणको समय हो । भूकम्पले ध्वस्त बनाएका भौतिक संरचनाहरु पुनर्निर्माणमा जुट्नु पर्ने बेला हो यो, न कि देशको राजधानी फेर्ने । अहिले जसरी देशको राजधानी चितवनमा सार्ने विषयमा राष्ट्रिय राजनीतिमा चर्चा चलिरहेको छ । यो राजनीतिक हिसावले कति सहि हो, यो कुरा राजनीति विश्लेषकहरु नै बताउलान् । 

चितवनलाई केन्द्रीय राजधानी बनाइयो बनाइयो भने त सुरुमा यहाँको पवित्र नदी नारायणी बागमती भन्दा कम हुँदैन । बागमती नदी पनि त पहिले त सफा थियो, अहिलेको अवस्था भन्दा कैयौँ पवित्र थियो नदी । हाल नारायणीलाई पवित्र तीर्थस्थलको रुपमा लिँदै स्वदेश तथा विदेशबाट समेत मान्छेहरु स्नान (नुहाउन)को लागि आउने गरेका छन् । चितवनलाई राजधानी बनायो भने, नारायणी नदीको अस्तित्व ‘सङ्कट’मा पर्छ । नदीमा हुने जलचरहरु लोप हुन सक्छन् । 
अहिले नारायणी जति पवित्र छ त्यो भन्दा कैयौँ गुणा प्रदुषित हुन्छ । अहिलेको बागमतीको भन्दा भयावह हुन सक्छ नारायणी नदीको जब चितवन राजधानी बन्छ । नारायणीमा रहेका माछा, गोही, डल्फिन जस्ता जलचर प्राणीहरु लोप हुन्छन् । नदी प्रदुषित भयो भने, माछा पाइदैन यसले गोहीको अस्तित्व संकटमा पर्छ । लोपोन्मुख घडियाल, मगर गोही, लोपोन्मुख डल्फिन पाइने नदी पछि फोहोर भन्दा अरु केही नपाइने हुन सक्छ । चितवनलाई राजधानी बनाइयो भने, यहाँको नदीनाला मात्र फोहोर हुँदैनन् । अन्य वातावरणीय असर समेत पर्ने गर्दछ । 
चितवनलाई अहिले पनि अन्न भण्डारको रुपमा लिने गरिन्छ । चितवनमा उब्जाइएको अन्नले आफ्नो जिल्लालाई धानेर अन्य जिल्लाहरुलाई समेत पाल्ने जुन क्षमता छ राजधानी भयो भने त्यो ह्रास हुन्छ । चितवनमा मान्छेहरुले भरिन्छन् । स्वच्छ हावा वहन पाउँदैन । अहिले भएका खुला जमिनहरु धरापमा पर्छन् । मान्छे मान्छेको सहर हुन्छ । नजिकै रहेको निकुञ्जलाई समेत खतरा हुन सक्छ । 
यहाँको उब्जाउ खेतीयोग्य जमिनहरु कंक्रिटले भरिन्छन् । कालान्तरमा भोकमरी नआउनला भन्न सकिदैन । अहिले चितवनको कुल क्षेत्रफलको लगभग आधा भाग जंगलले भरिएको छ, भोलि राजधानी भएमा वन विनाश हुन सक्छ । चितवनमा प्राकृतिक कुरुपता आउन सक्छ । अहिले जुन सुन्दरता छ चितवनको, भोलि राजधानी भएको अवस्थामा त्यो पक्कै पनि रहदैन । वन विनाशले पक्कै पनि चितवनको सुन्दरता नष्ट हुन्छ । 
अहिलेको काठमाडौँमा जसरी मान्छे मान्छे ओइरिएका छन्, चितवन राजधानी भयो भने त्यो भन्दा बढी जनसंख्या यहाँ पक्का हुन्छ । भौगोलिक सुगमताको फाइदा उठाउँदै चितवनमा जग्गा प्लटिङ गर्दै मुठ्ठी भरका धनाड्यको हातमा यहाँको व्यवसाय पुग्छ, अवश्य पनि ‘लुटतन्त्र’ हावी हुन्छ । चितवनले मुलुकको एक तीहाई जनसंख्यालाई पुग्ने खाद्यान्न उत्पादन गर्ने गरेको छ भने यो पूरै स्वाहा हुन्छ । चितवन विस्तारै पर निर्भर बन्दै जान्छ । खाद्या पदार्थमा परनिर्भरता बढ्दै जान्छ । 
चितवन राजधानी नहुँदै त यहाँ देश भरीका मान्छेहरु बसोबास गरेको तथ्य हाम्रो सामु छ । यदि राजधानी नै भयो भने त आफै सोच्नुस् यहाँ कस्तो भयावह हुन्छ होला ? निकुञ्जमा जुन जनावरहरु रहेका छन् तिनीहरुलाई समेत असर पुग्छ चितवन राजधानी भएको खण्डमा । सहरी बस्ती सँगै जोडिएको चितवन राष्ट्रिय निकुञ्ज । जहाँ विश्वकै दुर्लभ मानिने एक सिँगे गैँडा पाइन्छ । चितवन राजधानी बनाइयो भने पनि गैँडाको वासस्थान संकटमा पर्छ । गैंडा, बाघ, हात्ति, बँदेल, मृग लगयातका निकुञ्ज भित्र पाइने जनावरले पानी पिउने नदी हुन् राप्ती र नारायणी । 
यदि चितवनलाई राजधानी बनाइयो भने हामीले यी प्रकृतिले हामीलाई दिएको अमूल्य वस्तुहरु अवस्य पनि गुमाउनु पर्नेछ । चितवनलाई राजधानी बनाइयो भने स्वभावैले यहाँ मान्छेहरुको संख्या बढेर प्रदुषण बढ्छ । वायु प्रदुषण एउटा पाटो हो भने, ध्वनी प्रदुषण, जल प्रदुषण लगायत थुप्रै प्रदुषणहरु बढ्दै जान्छन् । त्यसैले चितवनलाई चितवन रहन दिउँ । न कि देशको राजधानी । राजधानी बनाएर यहाँ मान्छे थुपार्ने काम नगरौँ । यहाँको धार्मिक र सांस्कृतिक सम्पदाको रक्षा गरौँ । 
राजधानी बनाएपछि चितवन फोहोर भयो भनेर हल्ला गर्नु भन्दा अगाडि नै सचेत हुन् यहाँका राजनीतिक दलका कार्यकर्ताहरु । अहिले दुई टुक्रा जग्गा हातमा भयो भन्दैमा राजधानी बनाउन कस्सिएकाहरु भोलि नपछुताउलान् भन्न सकिदैन । बेलैमा बिचार गर्ने हो भने, पछि पछुताउनु पर्दैन । बरु काठमाडौँलाई नै चाँडो पुनर्निर्माण गरौँ । व्यवस्थित राजधानी बनाऔँ । नमूना राजधानी बनाउन तर्फ जोड दिउँ ।

जय नेपाल । 

No comments

@lonely_aananda. Powered by Blogger.