आरु चोर्दै मनकामना पुग्दा

मनकामना मन्दिर जीर्णोद्वारमा जुटेका स्थानीय ।
वातावरण सुनसान थियो । चारैतिर सन्नाटा छाएको भान हुन्थ्यो । हिँडडुल गर्ने मान्छे नै थिएनन् । जति थिए त त्यहीँका स्थानीय बासिन्दा मात्र थिए । मन एक्कासी उदास उदास भयो । चारै तिर आँखा लगाएँ निकै परिवर्तन देखेँ । विकासको परिवर्तन थिएन त्यो । त्यहाँ विनासको परिवर्तन देखिएको थियो । छ महिना अगाडि म त्यो ठाउँमा पुग्दा कति रमाइलो थियो । चारैतिर रमाइलो छाएको, सबैको मनमा हर्ष मिश्रण भएको थियो । तर अहिले समय फेरिएको छ, मुलुक नै विपत्तिमा फसेको छ । छ महिना अगाडिको दृश्य ठीक उल्टो भइदियो यति बेला म त्यो ठाउँमा पुग्दा ।
जब म असारको पहिलो हप्ता मनकामना पुगेँ त्यहाँको दृष्यले मलाई कारुणिक बनायो । मनमा पीडाका सुलहरु हिड्न थाले । त्यस्तो दृश्य अन्त पनि देखेदको थिएँ । तर अन्तको दृश्य भग्नावशेष भन्दा अगाडि नदेखेको कारण त्यति मर्माहत बनाएको थिएन । मनकामना क्षेत्रको दृश्य त मैले धेरै पटक अनुभव गरेको थिएँ, अहिले पनि अनुभव गरेँ । तर पहिले र अहिले निकै परिवर्तन देखेँ । 
त्यति सुन्दर बस्ती पुरै भग्नावशेषमा परिणत भएको देख्दा कसको मन थामिएला र ? म झुक्किएँ मनकामना पुग्दा, कतै गलत ठाउँमा त आइपुगिएन ? सबै खण्डहर भएका थिए, मलाई त्यो ठाउँलाई चिन्न नै मुस्किल प¥यो । एक जना स्थानीय बजैलाई सोधेँ, –‘बजै मनकामना यतै होइन र ?’ बजैले -'हो उ त्यहाँ निर मनकामना मन्दिर छ' भनेपछि म अलि विश्वस्त भएँ गलत ठाउँमा पुगेको रहेनछु भनेर । 
मनकामना क्षेत्रमा न तीर्थालुहरुको उपस्थिति थियो न त पर्यटकहरु नै देखिन्थे । त्यसैमाथि जीर्ण बनेको मन्दिरको जीर्णोद्वारको काम भइरहेको थियो । मन्दिरको नजिकै पुग्दा समेत मलाई विश्वास भइरहेको थिएन कि हामी मनकामना मन्दिरमा आयौँ । मन्दिर माथि रहेको जमुनाको रुखले यकिन दिलायो कि हामी मनकामना मन्दिरमा नै पुगेका रहेछौँ । त्यहाँको वस्तु स्थिति देख्दा कसैले पनि अनुमान लगाउन सक्दैनथ्यो कि त्यो मनकामना मन्दिर क्षेत्र नै हो । 
मन्दिरको वरिपरि भने सयौँ मान्छेहरु थिए । तिनीहरु मन्दिरको जीर्णोद्वारको लागि जुटेका स्थानीय, श्रमिक, प्रहरी तथा सेनाका कर्मचारी थिए । मन्दिर खोल्ने काम तीव्र रुपमा भइरहेको थियो । हातका औँलामा गन्न मिल्ने तीर्थालुहरुको उपस्थिति देखिन्थ्यो मन्दिरमा । मन्दिरको बाहिर स्थापना गरिएको प्रतिमालाई पुजेर श्रद्धालुहरु फर्किएको दृश्य देखिन्थे । मनकामना क्षेत्रका पसलहरु सबै जसो सुनसान थिए । ग्राहक आउने प्रतीक्षामा बस्दै थिए व्यापारीहरु । उनीहरुको कुरा सुनेर मनमा पीडाका सुलहरु मडारिन्थे । 
आँबु खैरेनीबाट मनकामनाको लागि प्रस्थान गर्दै ।
मनमा थोरै उमङ्ग, कौतुहलता अनि हिड्ने सौखका कारण केही दिन अगाडि , मदन, हेममिलन भएर मनकामनाको लागि यात्रा तयार गरेका थियौँ । हाम्रो करिब एक महिना अगाडिदेखिको योनजा अनुसार नै हामी मनकामनाको यात्राको लागि तयारी गरेका हौँ । सुरुमा धेरै जनाले जान्छु भनेर उचाले तर जब जाने दिन आयो तब सबैले कुकुरले पुच्छर लुकाए जसरी आफ्नो अनुहार लुकाएर बस्न थाले ।

हामी जाने भनेपछि जाने । बोलेको कुरा पूरा गर्न खोज्ने आफ्नो त विशेषता नै हो, चाहे कठिन नै किन नहोस्, त्यसमा पनि थप तीन जनाको साथ मिल्यो मलाई । हाम्रो यात्रा सुरु भयो आँबु खैरेनीबाट, खाजा-साजा खाएर हामी मस्र्याङ्दी त¥यौँ । आँबु खैरेनीबाट करिब तीन घण्टाको पैदल यात्रापछि मनकामना मन्दिर पुगिन्छ भन्ने मलाई थाहा थियो । मेरो यो दोस्रो पैदल यात्रा थियो मनकामनाका लागि । 
साँच्चै मनकामना जाने पैदल मार्ग परिवर्तन भएछन् । म पाँच वर्ष अगाडि पनि त्यहि बाटो हाइकिङ गएको थिएँ । म भन्दा पनि हामी भनौँ क्यारे । जाडोको मौसम थियो, हामी करिब ५० जनाको टोली थियौँ त्यो बेलामा । बाटोमा सुन्तला चोर्दै खाँदै मनकामना पुगेका थियौँ । यात्रा निकै रमाइलो भएको थियो । हिँडाइको कष्ट बिर्सने गरी बाटामा रमाइला गफ गरिन्थ्यो । 
ठीक पाँच वर्ष अगाडिको हाइकिङलाई झझल्को ल्याउने गरी यस पटक हामी चार जना गएको थियौँ मनकामना । त्यो बेला धेरैसाथीहरु सँगै गएको भएपनि सबै झुण्ड झुण्डमा भएका थिए । हामी चार जना मात्रै तिथौँ त्यो बेलामा पनि । अहिले हामी चार जनाले यात्रा थालेका सँगै भयौँ यात्रा अवधी भरी । जब यात्रा सुरु गरियो बाटोले हामीलाई फनफनी घुमायो । मटरे बाटोले पैदल यात्री हिड्ने बाटो पूरै ध्वस्त बनाएको रहेछ । असारको चर्को घाम, तर पनि हामी साहस बोकेर हिड्दै छौँ । 
सबैको आफ्नै आफ्नै पोज । कोही फोटो खिच्ने तयारीमा छन् भने कोही फोटो खिचाउनको लागि कोण मिलाउँदैछन् । म भने तिनीहरुको पारा क्यामेरामा कैद गर्न तयारी अवस्थामा छु ।

लामो बाटो, गर्मीको समय, पैदल हिँड्दा स्टामिना सकिन्छ हामीलाई थाहा थियो । त्यसैले आँबु खैरेनीमा मदनले केही बोतल पानी किन्यो अनि साथमा कुकिज पनि । त्यो किनेको मिनिरल वाटर भन्दा त  पहाडी पानी मिठो हुने भएकाले मैले धेरै पानी किन्न दिएको थिएन उसलाई । किनेका थियौँ त ब्याकअपको लागि मात्र । यात्रा सुरु गर्ने बित्तिकै बाटो झण्डै बिर्सेको हामीले । एक जना हली काकालाई सोधेर सिधा बाटो लाग्यौँ । हिड्यौँ २०/२५ मिनेट हिडेपछि हामी छहारीमा बस्न लालायित हुन्थ्यौँ । शितलमा बस्यो पानीले तिर्खा मा¥यो, ओभानो भएपनि यात्रा पुनः सुरु गर्यो । 
बाटोमा भेटिएको आरु टिप्दै मदनबमजन
करिब साढे एक घण्टाको यात्रापछि बाटोमा लटरम्म फलेका आरुको रुख भेटियो । गाउँको मान्छे म, उखान सुनेको थिएँ, बाटोमा हिड्दा फलफूल भेटियो भने यसै छोड्नु हुन्न । त्यसैले म नै रुखमा चढेँ आरु टिप्नको लागि । केटाहरुलाई चुप लाग्न भन्दै म रुखमा चढेर आरु टिप्न व्यस्त भएँ । करिब दुई किलो जति आरु टिपेर हामीले यात्रालाई अगाडि बढायौँ । भोक लागेको हुनाले अलि पर कुवा भेटाएको ठाउँमा आरु पखाल्दै खाने तयारीमा लाग्दा आरुमा दाग देखियो । मलाई शंका लाग्यो आरुमा गडबढी छ । हातले फुटाएर हेरेको भित्र त स्याउँ स्याउँ किरा देखियो । खान लागेको भाग खोसियो । अरु दुई चार वटा आरु पनि फुटायौँ हामीले एउटा पनि सद्दे नभेटाएपछि पूरै बाटोमा फालेर हिड्यौँ हामी । 
यस्तो आरु भेटिएपछि कसले छोड्ला र ?
फेरि अलि पर पुगेपछि राम्रो आरु भेटियो । अगाडि चेत पाएको कारण हामीले सुरुमा धेरै आरु टिपेनौँ । एक दुई वटा आरु टिपेर हेर्दा राम्रो पायौँ । त्यसपछि मदन र बमजन चढे रुखमा । टन्नै आरु टिपे केटाहरुले । त्यसपछि करिब १० मिनेटको यात्रा गरेर हामीले टन्नै आरु खायौँ । मेरो त दाँत नै कुडीयो । आरु भने निकै मिठा थिए, पहिले चोरेर खाएको सुन्तला जस्तै । चोरेको आरु खाँदै हामी दिउँसो १२ बजेतिर मन्दिर पुगेका थियौँ । बाटोमा फोटो सेसन पनि धेरै नै भए । केटाहरुले मलाई क्यामेरा मेन बनाए उनीहरुले सौखले क्यामेरा समातेर फोटो खिचेको जस्तो गरेपनि म आफू नै फोटो खिच्नमा व्यस्त हुनु प¥यो । 
हामी सबै केटा केटा मिलेर गएका थियौँ । उकाली ओराली गर्दै मन्दिर पुगेपछि पूजा सामग्री पाइने पसलमा केटी देखिहाले केटाहरुले । गफ हान्न गएछन् तर विचरीले सुरुमा नै औँरेजी बोल्न थाली क्यारे, केटाहरु पनि जङ्गिएर बोल्न थाले औँरेजी । त्यसपछि मलाई सम्हान नै गाह्रो भयो उनीहरुलाई । मन्दिरको दर्शन गर्न गएका केटाहरु केटीलाई गफ पेल्न थालेपछि । अनि भोक लाग्यो भन्ने बाहाना बनाएर सबैलाई लगेँ होटलमा । एकछिनको गफ गरुन्जेल फोन नम्बर पनि माग्न भ्याएछ मदनले । म त हेरेको हेरेइ भएँ उसको कला देखेर । 
जीर्ण बनेको मनकामना मन्दिर, जीर्णोद्वारको तयारीमा ।
मदन र मिलन भएर पूजा गर्न लागे । म भने त्यहाँको वस्तुस्थिति हेर्न सुरु गरेँ । भत्काइदै गरेको मन्दिरको दृश्यलाई क्यामेरामा कैद पनि गरेँ । भूकम्पले पारेको प्रभावको असरको बारेमा सोधखोज गरेँ । मन्दिरका जीर्णोद्वार समितिका अध्यक्षसँग पनि कुरा गरेँ । "मलमास" परेका कारण मन्दिरको जग पूजा गर्ने तिथि स¥यो भनेर भने बुढाले । करिब ३ बजेतिर हामी झर्ने तयारी ग¥यौँ । 
मनकामना क्षेत्रका विद्यालय पनि ध्वस्त भएर रातो स्टिकर टाँसोको भेटियो । बाटोमा रमाइला गफ गर्दै झर्ने क्रममा मेरो जुत्ता नै फाट्यो । कम्ता पीर परेन ज्यानलाई । रमाइलोको लागि जाँदा घाटो मात्र भयो । सुनेको थिएँ जसले गर्छ रहर उसको जान्छ बहर । यो म मा पनि लागू भयो । मदन र बमजन अगाडि हिड्ने टोपलिएका थिए । विचराहरु बाटोमा हराएछन् । सुरुमा हिँडेको बाटो पनि बिर्सिएका केटाहरुले मनकामनामा भेटिएको केटीको कुरा गर्दै हिड्दा बाटो बिर्सेका रहेछन् । 
जीर्णोद्वारको तयारीमा रहेको मनकामना मन्दिरको अगाडि सामुहिक तस्विर खिचाउँदै ।
विचराहरु १० मिनेटको बाटोमा अल्मलिएर करिब एक घण्टा यता उता डुल्न थाले । हामी छोटो बाटो तल झ¥यौँ । सुरुमा आरु चोरेको ठाउँमा पुगेर फुन गरेपछि थाहा पाएँ उनीहरुले बाटो बिराएछन् । अनि लोकेसन दिएँ । एक घण्टापछि हामी भेट भएर सँगै तल झ¥यौँ । साँच्चै यात्रा निकै रमाइलो भयो यात्रामा थोरै व्यक्ति भएपछि हाम्रो यात्रा अभूतपूर्व रह्यो । यो यात्रा अविस्मरणीय भयो । यात्रामा सहभागी सबैलाई धन्यवाद । सबैको जय होस् । फेरि भेटौँला कुनै माध्यमबाट  ........
सेल्फी मोह : सबै जनाको तस्विर खिच्नु पर्ने एक साथ । अनि बाटोमा कोही बटुवा नभेटाएपछि सेल्फी हान्दिएम् हाम्ले पनि । 


2 comments

Sunil Paudyal said...

आनन्द जि रमाइलो लाग्यो यात्रा विवरण !! मैले सोचेको थिए - मनकामनाको स्थितिको डिटेल पाइन्छ भनेर ! तर विशुद्ध यात्रा विवरण मात्र रहेछ ! धन्यवाद !!

आनन्द पोखरेल said...

मैले मनकामनाको बारेमा पनि लेखौँ कि जस्तो लागेको थियो सुनिलजी । तर ब्लग लामो हुने मानेर खासै लेखिन, आगामी अंकमा लेख्ने प्रयत्न गर्नेछु । सुझवको लागि धन्यवाद ।

@lonely_aananda. Powered by Blogger.