चलचित्र क्षेत्रलाई शोकमा डुबाउँदै रेग्मीको स्वर्गारोहरण

नारायणगढ, २४ मंसिर
‘मलाई यो जिन्दगीले चोट दियो गनि गनि, 
कहिले चोट दियो आफ्नो भनि कहिले चोट दियो पराइ बनि,
मलाई यो जिन्दगीले चोट दियो गनि गनि .............’
कुनै समय हरेक नेपालीको मुखमा झुण्डीएको गीत थियो यो । चर्चित चलचित्र निर्देशक मध्येबाट नाम लिइँदा लिइने नाम हो शिव रेग्मी उनै रेग्मीले निर्देशन गरेको चलचित्र ‘हामी तीन भाइ’मा समाहित गरिएको हो, ‘मलाई यो जिन्दगीले........ ।’ साँच्चै चलचित्र निर्देशन गरेर ठूलो चर्चा कमाउन सफल भएका थिए चलचित्र निर्देक शिव रेग्मी । 
बयोधा हस्पिटलमा उपचारका क्रममा रेग्मी

वि. सं. २०२१ सालको भदौमा चितवनको
नारायणगढमा जन्मीएका चलचित्र निर्देशक रेग्मीको पार्थीव शरिर अब हामी समु रहेन । रेग्मीले नेपाली चलचित्र क्षेत्रलाई माया गर्ने व्यक्ति लगायत, चितवनका वासिन्दाको आँखामा आँसु छोडेर सोमबार बिहान करिव ६ बजेतिर पार्थीब शरिर त्याग गरि ब्रह्ममा लिन भएका छन् । विगत १० महिनादेखि मृगौलाका बिरामी रेग्मीलाई एक्कासी निमोनिया देखिएपछि केहि दिन अगाडि मात्रै काठमाण्डौँ बल्खुमा रहेको बयोधा अस्पतालमा भर्ना गरिएको थियो । रेग्मीको उपचारकै क्रममा सोमबार बिहान हस्पिटलमा स्वर्गारोहण भएको पारिवारीक स्रोतले बताएको छ ।
रेग्मीले निर्देशन गरेका चलचित्रहरु मध्ये ‘सुख दुख’ र ‘हामी तीन भाइ’ले नेपाली चलचित्रको इतिहासमा नयाँ आयाम थप्दै सय दिन मनाउन सफल भएका थिए । रेग्मीको निर्देशनमा बनेको अर्को चर्चित चलचित्र हो ‘आफ्नो मान्छे’ जुन चलचित्रले काठमाण्डौँमा मात्रै ६८ लाख रुपैयाँको व्यापार गर्न सफल भएको थियो । ‘आफन्त’ चलचित्र निर्देशन गरेर रेग्मीले आफ्नो चलचित्र निर्देशनको यात्रा तयार गरेका थिए । रेग्मीले ‘ए मेरो हजुर’, ‘पाहुना’, ‘उपहार’, ‘हामी तीन भाइ’, ‘सुख दुख’, ‘आफ्नो मान्छे’, ‘हाँसी देउ एकफेर’, ‘पराई’, ‘मनले मन छुन्छ’ लगायत दुई दर्जन जति चलत्रि निर्देशन गरेका छन् । रेग्मीले निर्देशन गरेका चलचित्र मध्ये पछिल्ला ‘पराई’ र ‘मनले मन छुन्छ’ चलचित्र प्रदर्शनमा आउन बाँकी रहेको छ । 
रेग्मी चलचित्र निर्देशक मात्र नभएर उनले चलचित्रका कथा वस्तु समेत लेखेका छन् । ‘प्रेम पूजा’ चलचित्रको स्किृप्ट लेखनबाट चलचित्र लेखन यात्रामा हात हालेका रेग्मीले ‘मोहनी’, ‘अल्लारे’, ‘गोर्खाली’, ‘सो सिम्पल’ लगायत २० वटा जति चलचित्र लेखेका छन् । रेग्मीले लेखनमा बनेको पछिल्लो चलचित्र ‘सो सिम्पल’ हो व्यावसायिक हिसाबले यो चलचित्र पनि सफल चलचित्र नै मानिन्छ । चलचित्र ‘सो सिम्पल’बाट रेग्मीकी जेठी छोरी भावनाले नायीकाको रुपमा नेपाली चलचित्रबाट डेब्यू गरेकी छिन् । 
निर्देशक रेग्मीले करिब २० वटा जति नाटकको लेखन तथा निर्देशन गरेका छन् । रेग्मीद्वारा लेखन तथा निर्देशन गरिएको नाटकहरुमा ‘भानुभक्त र घाँसी’, ‘श्रीमतीको औषधी’, ‘क्रमशः’, ‘यो कस्तो ज्वाईँ’, ‘स्वदेश भित्र हराएको नागरिक’, ‘सहारा’, ‘भट्टेकाजीको सपना’, ‘माटो बोल्दैन’ लगायतका छन् । रेग्मीले लेखन तथा निर्देशन गरेको नाटक ‘स्वदेश भित्र हराएको नागरिक’ले विसं. २०५० सालमा प्रज्ञा प्रतिष्ठानको नाटक महोत्सवमा उत्कृष्ट लेखन लगाएत चार वटा विधामा पुरस्कार हात पारेको थियो । 
रेग्मीले गीती नाटक ‘यात्री’को निर्देशन गरेका छन् भने २०४६ सालमा निर्माण भएको भिडियो फिल्म ‘अठोट’ र ०४७ मा बनेको भिडियो फिल्म ‘देउकी’को निर्देशन गर्नुका साथै कलाकारको भूमिकामा पनि देखिएका छन् । रेग्मीको पार्थीव सरिरलाई सोमबार दिउसो दुई बजे श्रद्धाञ्जलिको लागि नारायणी कला मन्दिर नारायणगढमा राखिएको थियो । रेग्मीको पार्थीव सरिरमा श्रद्धाञ्जलि अर्पण गर्नको लागि काठमाण्डौबाट सङ्गीतकार सुरेश अधिकारी, कलाकार निर शाहा चितवनमा आएका थिए भने नायीका मौसमी मल्ला पनि श्रद्धाञ्जली सभामा उपस्थित थिइन् । 
सञ्चारपत्र दैनिकसँग छोटो प्रतिकृया दिँदै रेग्मीको निधनले नेपाली चलचित्रको क्षेत्रमा अपूर्णनिय क्षति भएको सङ्गीतकार अधिकारीले बताए । ‘उहाँ एक बहुआयामिक र मिलनसार व्यक्तित्व हुनुहुन्थ्यो, केहि समय सँगै काम पनि गरेका थियौँ’ अधिकारीले भने । त्यस्तै, रेग्मीको निधनले निकै मर्माहत भएको बताउँदै नायीका मौसमी मल्लले भनिन्, ‘हामीले सँगै काम गर्ने अवसर त पाएका थिएनौँ तर देशले एउटा प्रतिभाशाली र होनहार व्यक्तित्व गुमाएको छ ।’ आफुले रङ्गमञ्चमा काम गर्दा रेग्मी यो क्षेत्रमा आएका थिएनन् भन्दै मल्लले भनिन्,– ‘म रङ्गमञ्च छोडेर चलचित्रमा गएपछि उहाँ रङ्गमञ्चमा छिर्नुभयो, मैले चलचित्र छोडेर विदेश गएपछि उहाँ चलचित्र क्षेत्रमा प्रवेश गर्नु भयो त्यसैले सँगै काम गर्ने अवसर मिलेन ।’ रेग्मीसँग सँगै काम नगरेको भए पनि रेग्मीले हरेक क्षेत्रमा आफुलाई सहयोग गरेका मल्लले बताइन् । 
शिव रेग्मीको स्वर्गारोहणले आफुलाई टुहुरो बनाएको नारायणी कला मन्दिरका नाटक निर्देशक पुष्प आचार्यले बताए । ‘शिव दाइ नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेपछि कला मन्दिरमा उहाँको उत्तराधिकारीको रुपमा मैले काम गर्दै आएको छु, उहाँको निधले मेरो जिवनमा अपुर्णनिय क्षति भएको छ’ आचार्यले भने । रेग्मीसँग ४८ सालपछि मात्रै भेट भएको भए पनि आफु रङ्गमञ्चमा स्थापित हुन रेग्मीको ठूलो देन भएको आचार्यले बताए । लामो समयसम्म रेग्मी सँगै रहेर काम गरेका बताउँदै आचार्यले भने,– ‘दाइले नयाँ कुराको सिर्जना गर्ने बित्तिकै पहिले मलाई नै सुनाउनु हुन्थ्यो ।’ 
रेग्मी सरल स्वभावका व्यक्तित्व भएका चलचित्रकर्मी रिद्धिचरण श्रेष्ठले बताए । रेग्मीले जति पनि चलचित्र निर्देशन गरे प्रयः सबै चलचित्र सफल भएका बताउँदै श्रेष्ठले भने,– ‘उहाँ पर्दा पछाडी धेरै मिहेनत गर्ने मान्छे हुनुहुन्थ्यो, नेपालीले पाएका दुखहरुलाई बुनेर कथा बनाए पछि चलचित्र निर्देशन गर्नुहुन्थ्यो ।’ श्रेष्ठ चलचित्रकर्मी मात्र नभएर रेग्मीका गुरु समेत हुन् । श्रेष्ठले रेग्मीलाई कक्षा ५ सम्म पढाएको बताउँदै श्रेष्ठले भने,– ‘पढाउँदा उहाँको गुरु म भएँ तर फिल्मी क्षेत्रमा प्रवेश गरेपछि मैले उहाँलाई सँधै नमस्कार गरेर मात्रै सेटमा जान्थेँ ।’ आफुले नमस्कार गर्दा रेग्मीले अप्ठेरो मान्ने गरेको बताउँदै श्रेष्ठले भने,– ‘चलचित्र क्षेत्रमा मैले तपाईबाट धेरै कुराहरु सिक्नुपर्छ, त्यसैले नमस्कार गरेको हुँ अप्ठेरो नमान्नुस् ।’ 
चलचित्र ‘सुख दुख’बाट नेपाली चलचित्रमा प्रवेश गरेका श्रेष्ठ रेग्मीले लेखेका ‘प्रेम पूजा’ र ‘मोहीनी’ लगायतका चलचित्रमा अभिनय गरेका छन् । रेग्मीसँग पछिल्लो पटक कात्तिकमा भेटेको बताउँदै श्रेष्ठले भने,– ‘उहाँले सञ्चो भए पछि ओस्कारको लागि छनौट हुने चलचित्र निर्देशन गर्ने सोचमा हुनुभएको बताउनु भएको थियो ।’ ‘नेपाली चलचित्रको बजार खस्कदै गएको प्रति चिन्ता मान्दै रेग्मीले नयाँ धारको चलचित्र निर्माण गर्ने तर त्यसमा अस्लिलता छिर्न नदिएने भन्नु भएको थियो’ रेग्मीले भने । पछिल्लो भेटमा रेग्मीले भनेका कुरा स्मरण गर्दै श्रेष्ठले भाव विह्वल हुँदै भने,– ‘सरको रोलको बारेमा मैले सोचिरहेको छु, तपाईँलाई पुनः चलचित्र खेलाउनु छु भन्नु भएको थियो तर उहाँ अब यो संसारमा रहनुभएन ।’ 
रेग्मीका छ जना दाजुभाइ मध्ये शिव रेग्मी जेठा दाजु हुन् । उनको श्रीमतीका साथमा तीन छोरी र एक छोरा छन् । रेग्मीकी जेठी छोरी सम्झना धर्म पुत्री भए पनि भावना र पल्लवी भने रेग्मीका आफ्नै सन्तान हुन् । सम्झना विवाह भैसकेको छ भने बाँकी तीन जना छोरीछोरीले चिकित्सा शास्त्रको अध्ययन गर्दै छन् । रेग्मीको पार्थीव सरिरलाई नारायणी कला मन्दिरमा राखेपछि कला मन्दिरका अध्यक्ष विज्ञानराज श्रेष्ठले शोक मन्तव्य राखेका थिए साथै एक मिनेट मौन धारण गरि रेग्मी प्रति श्रद्धाञ्जलि ब्यक्त गरिएको थियो । रेग्मीको पार्थीव सरिरलाई सोमबार नै देवघाटमा लगेर अन्तिम संस्कार गरिएको छ । 

Comments

सल्लाह, सुझाव

Name

Email *

Message *

Followers