हत्या आरोपमा पक्राउ परेका अजिब राजनीतिक दवावमा छुटे

चितवन, १५ पुस
गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्याको अभियोगमा मंसिर २१ गते भरतपुर–९, शरपुरबाट पक्राउ परेका अजिब भनिने परशुराम पौडेललाई १४ गते आईतबार साँझ छोडीएको छ । अजिबलाई कारवाही गराउनको लागि उनी बिरुद्ध प्रहरीले पर्याप्त प्रमाण नै जुटाएको थिएन, प्रहरीको अनुसन्धान प्रकृया फितलो हुनुमा चितवन प्रहरी प्रमुखलाई दवाव परेको भन्ने स्रोतले बताएको छ । नौ वर्ष अगाडि घटेको घटना भन्दै प्रहरीले घटनाको प्रमाणहरु नष्ट भइसकेको जनाएको थियो ।  
अजिब पौडेल 

पौडेललाई मंसिर २१
गते प्रहरीले पक्राउ गरेपछि उनलाई छुटाउनको लागि एनेकपा माओवादी र नेकपा–माओवादीले केन्द्रीय तहबाट नै दवाव दिँदै आएका थिए । पौडेललाई जिल्ला प्रहरी कार्यालय, चितवनले पक्राउ गरेपछि एनेकपा माओवादीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्रि डाक्टर बाबुराम भट्टराईले अजिबको पक्राउको बिरोध गर्दै सामाजिक सञ्जाल ट्विटर मार्फत् द्वन्द्वकालको समयमा भएका घटनाहरु क्रान्तिकारी जनपरिषद्को आदेशमा भएको र उक्त परिषद्को अध्यक्ष आफू भएको बताउँदै आफूलाई कारवाही गर्न सरकारलाई चुनौति दिएका थिए । 
कृष्णप्रसाद अधिकारी हत्या प्रकरण 
कृष्णप्रसाद अधिकारीको हत्या अभियोगमा पक्राउ परेका परशुरामको अनुसन्धान प्रकृया अगाडि नबढाउन र उनलाई रिहा गर्नको लागि एमाओवादीको केन्द्रीय तहबाट दवाव आएको समाचार स्रोतले बताएको छ । पौडेलको मुद्दा प्रकृयाको बारेमा चितवन प्रहरीले पत्रकारहरुलाई समेत जानकारी दिएको थिएन । पौडेललाई दोस्रो पटक म्याद थप गर्न लैजाने समयमा पुस तीन गते चितवन प्रहरीले जानकारी लुकाएको थियो । आइतबार पौडेलको बारेमा जानकारी लिँदा चितवन प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रद्युम्नकुमार कार्कीले पौडेललाई १५ गते आइतबार २५ दिनमा अदालतमा पेश गरिने जानकारी दिएका थिए । ‘१५ सोमबार सार्वजनिक विदा परेको छ मङ्गलबार अदालतमा पेश गछौँ अदालतले जे फैसला गर्छ सोहि अनुसार कारवाही गर्छौँ’ कार्कीले भने । 
कार्कीले पत्रकारहरुलाई झुट बोल्दै आइतबार सरकारी वकिललाई पत्र पठाएर राय लिएपछि आइतबार साँझ नै पौडेललाई छोडेको थियो । कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारवाहीको माग गर्दै उनका बुबा नन्दप्रसाद अधिकारी र आमा गंगामाया दोस्रो पटक आमरण अनसन बसेपछि प्रहरीले देखाउनकै लागि भए पनि पौडेललाई पक्राउ गरेको स्रोतले बतायो । पौडेल नारायणगढमा रहेको अर्किड जेभियर्स स्कुलका प्रिन्सपल तथा जग्गा व्यवसायि समेत हुन् । 
डा. बाबुराम भट्टराईले सामाजिक सञ्जाल ट्विटर मार्फत सरकारलाई दिएको चुनौती

पौडेललाई पक्राउ गरेपछि उनलाई भिआइपिलाई राखिने तरिकाले प्रहरी हिरासतमा राखिएको थियो । अन्य आरोपिहरुलाई हत्कडी लगाएर राखिने र हिरासत भन्दा बाहिर निस्कन नदिइने भए पनि पौडेललाई विना हत्कडि प्रहरीको सभाकक्षमा ल्याएर उनका शुभेच्छुकहरुसँग भेट्न दिइने गरेको नाम उल्लेख नगर्ने शर्तमा एक प्रहरी नायब निरीक्षकले जानकारी दिए । कृष्णप्रसाद अधिकारीको हत्या अभियोगमा पक्राउ परेका व्यक्तिलाई कारवाहीको माग गर्दै मानव अधिकारकर्मीहरुले चितवनका सुरक्षा निकायहरुसँग छलफल गरेको थियो ।
हत्या आरोपमा पक्राउ परेका पौडेल विरुद्ध पर्याप्त प्रमाणहरु नभएका भन्दै उनलाई सरकारी वकिलले हाजिरी जमानीमा छोड्न आदेश दिएका हुन् । अधिकारी हत्या अभियोगमा उनका दाजु नुरप्रसादले पौडेल लगायत ११ जनाको विवरण सहित किटानी जाहेरी दिएका थिए । फुजेल– ४, गोरखाका रामप्रसाद अधिकारीलाई यस अघि नै छोडिएको थियो । कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न रहेको अभियोगमा किटानी जाहेरी परेका अन्यमा फुजेल गाविस–६ का छविलाल पौडेल, मेघनाथ पौडेल, फुजेल– ७ का विष्णु तिवारी, शुभद्रा अधिकारी, सीता अधिकारी, हिमलाल अधिकारी, कालीप्रसाद अधिकारी, रामप्रसाद अधिकारी र भिमसेन पौडेल रहेका छन् । 
प्रहरीले अनुसन्धान सकेर पठाएको प्रतिवेदन अध्ययन गरि जिल्ला न्यायधिवक्ता एकनारायण शर्माले ‘मुद्दा नमर्ने गरी प्रतिवादीलाई हाजिरी जमानीमा छोड्नु’ भनि आदेश दिएपछि पौडेल छोडीएका हुन् भने यस अघि छुटेका अधिकारीलाई पनि सोहि अनुसार छोडिएको थियो । गोरखाको फुजेल गाविस– ७ का १७ वर्षीय कृष्णप्रसाद अधिकारीको तत्कालिन नेकपा (माओवादी)का कार्यकर्ताले २०६१ जेठ २४ गते अपहरण गरि हत्या गरेका थिए । एसएलसीको परीक्षा सकेर बसेका अधिकारी चितवनको रत्ननगर नगरपालिका– १, बकुलहरमा रहेका आफ्ना हजुरबुबा र हजुरआमालाई भेट्न जेठ २३ गते चितवन आएका थिए । 

No comments

@lonely_aananda. Powered by Blogger.