फैसला कसको पक्षमा

एक मनले भन्छ होस् अब त केहि पनि लेख्दिनँ । यसैबीच अर्को मन फेरी सल्बलाउन थाल्छ, किन नलेख्ने ? लेख्दैमा के बिग्रन्छ ? कसको कारण नलेख्ने ? जाबो एकजनाको विछोडलाई लिएर तँ आफ्नो सिर्जनशीलता नै गुमाउन चाहान्छस् ? 
दुई मनबीचको अन्तरद्वन्द्वले मलाई अवचेतन अवस्थामा पु¥याउँदै छ भनेर मेरो मस्तिष्कले सोच्दैछ । आखिर यि दुई मनबीचको द्वन्द्वले ठूलो कलह उत्पन्न गरायो र मुद्दा पनि प¥यो । मुद्दा पर्यो दिलको अदालतमा अनि न्यायधिस थियो मस्तिष्क । विचरा मस्तिष्क आफैमा पीडाले भरीएको एक विरामी थियो । तर पनि उसको सामु न्याय दिनुपर्ने जिम्मेवारी तेर्सियो । 

चेतन मन अन र अवचेतन मनको कलहको यो बिघ्न मनमुटावमा यी दुई मनलाई एक आपसमा मिलाउनु नै मस्तिष्क रुपी न्यायधिसको काम थियो । फैसला कसरी गर्ने भन्ने बारेमा मस्तिष्कलाई ठूलो समस्या पर्यो । दुबै पक्षबीचमा पैरबी सुरु भयो । दुै मनले आआफ्नो तर्कहरुलाई बलियो रुपमा प्रस्तुत गर्न थाल्यो । अवचेतन मनले जसलाई सम्झेर लेख्दैछस् उसैले धोका दिएपछि लेखन कार्य छोड भन्छ भने चेतन मनले कसैले धोका दिँदैमा आफ्नो यात्र रोक्न नहुने तर्क प्रस्तुत गर्न थाल्यो । 
दुबै मनबीचका पैरबीहरु दमदार थिए । दुबैले आफ्ना तर्कलाई बलियो रुपमा प्रस्तुत गर्दै थियो । बहसकै क्रममा चेतन मनले भन्यो, ‘म उनको साथमा नहुँदा पनि आफ्नो लेखन कार्यलाई अगाडि बढाउँदै थिएँ, अनि उनले छोडेर जाँदैमा किन लेख्न छोडुँ ?’ कसैको लेखन कार्यमा भाँजो हाल्ने अधिकारी सायदै होला । म पहिले पनि लेख्थेँ, अहिले पनि लेख्दैछु र भविश्यमा लेख्नेछु । चेतन मनको कडा प्रतिक्रिया आयो । 
एक आपसका द्वन्द्वका क्रममा अचेतन मनले पनि आफ्नो तर्कलाई कडा रुपमा नै प्रस्तुत गर्दै थियो । ‘तँलाई उनले नलेख्न आग्रह गरेपछि किन लेख्छस् ? आखिर तैँले उनलाई माया गर्छु भन्छस् भने उनको आग्रह पनि स्विकार गर्नु पर्यो नि ।’ आखिर तैले उनलाई खुसी देख्न चाहान्छु भनेको होइन र ? अनि उनको खुसीको लागि लेख्न छोड्दे । उनैले तँलाई पनि त भनेकी थिइन्, ‘म तपाईँलाई बिर्सनको लागि तपाइँदेखि टाढिदैछु, प्लिज मेरो बारेमा केही पनि नलेख्नुहोला ।’ 
चेतन मनले भन्छ, हो मैले उनलाई माया गरेँ, गर्छु र गरिरहनेछु । तर उनले मायाको जालो बिच्छाएर किन मलाई घात गरीन् ? यो प्रश्नको जवाफ मैले कता खोज्ने ? कसले दिन्छ मलाई यो प्रश्नको उत्तर ? म पनि अबुझ त थिएन नि आखिर उनले मलाई सम्झाउने प्रयत्न किन गरिनन् ? उनले मलाई चित्त बुझ्दो जवाफ दिएको भए म हाँसी हाँसी उनको खुसीको लागि उनीबाट त के जीवनबाट नै टाढा जा भने पनि राजी थिएँ । म अबुझ होइन जसले जे भन्यो त्यसैको पछि लाग्ने । 
चेतन मनको कुरा काट्दै अतनले भन्न थाल्यो । अबुझ नभए के त ? जाबो यौटी केटीले म तपाइँलाई माया गर्छु भन्दैमा उसको कुरामा विश्वास गरेर दौडनेले म अबुझ होइन भन्न मिल्छ ? तैले सोच्नु पर्थेन उनले तँलाई साँच्चै माया गरेकी थिइ वा आफ्नो स्वार्थ पूर्तिको लागि प्रयोग गर्दै थिइ भनेर ? त्यो बेलामा कुनै पनि कुराको ख्याल नगरी उनले भनेको कुराहरुको पछाडि लागिस् अब ऐले चैँ नानाथरी कुरा गर्न पछि पर्दैनस् । हेर भनेको मान्छस् भने उसले भनेको जस्तै तैले पनि आफ्नो लेखन कार्यलाई हत्या गर्दे अनि शान्त भएर बस् । 
पुनः म किन आफ्नो लेखन कार्यलाई हत्या गर्नु भन्दै चेतन मन जङ्गिन थाल्यो । मैले त लेख्नु पर्छ, कोही कसैको भावनामाथि किन खेल्ने प्रयत्न गर्छ यसको बारेमा अध्ययन हुनुपर्छ । आफूले धोका पाउँदा असैह्य हुने मान्छेले सोच्नु पर्छ कि पर्दैन अरुलाई धोका दिँदा उसको हालत के होला भनेर ? मेरो पक्षमा फैसला भएन भने म अन्य न्यायालय पनि धाउँछु किनकी मैले लेख्न पाउनुपर्छ र यथार्थ कुरा बाहिर ल्याउनु पर्छ अन्यथा मलाई समाजले देवदासको पगरी लगाउन पनि पछि पर्ने छैन । 
दुबैबीचमा भएको पैरबीपछि अब न्यायालयले फैसला गर्ने पालो आउँछ । कठघरामा चेतन मन र अचेतन मन उभिएका छन् भने । फैसला गर्ने जिम्मा मस्तिष्कले पाएको छ । उसले आफ्नो पूर्ण विवेक लगाएर सत्यकोपक्षमा फैसला गर्नु पर्ने चुनौति आफ्नो अगाडि देख्दैछ । फैसला हुने समय आयो अब कसरी कसको पक्षमा फैसला गर्दा उचित होला मस्तिष्क अवाक भयो । 


यसको फैसला तपाईँ आफैले गर्दिनुहोला है । 

No comments

@lonely_aananda. Powered by Blogger.