गाउँको आँगनबाट डिस्कोमा छिरेको तीज
केहि दिन अगाडि म चितवनको एउटा नाम चलेको होटलमा पुगेको थिएँ । दश÷बाह्र दिनदेखि काम विशेषले कुनै न कुनै होटलमा पुग्नु परेको छ । संयोग भनौँ वा दुर्भाग्य म जुन होटलमा पुग्ने गरेको छु, त्यहाँका हलहरु पूरै हाउस फूल भएको देखेको छु । म ती होटलहरुमा संघ संस्थाहरुबाट निमन्त्रणा आएका कारण त्यहाँ पुगेको हुन्छु, होटलमा पुग्दा त्यहाँको तामझाम देखेर टक्क अडिन्छु र एकछिन घोत्लिएर सोच्न थाल्दछु ।
भदौको सुरुआती दिनमा म यहाँको एउटा होटलमा पुगेँ । जहाँ सम्मान कार्यक्रम थियो । निमन्त्रणा गरिए अनुरुप निर्धारित समयमा नै म त्यहाँ पुगेँ । होटलको माहौल निकै रमाइलो देखिन्थ्यो । मानौैँ, कुनै हर्षोल्लासमा भव्य भोजको कार्यक्रम भइरहेको छ । मलाई लाग्यो, सम्मान कार्यक्रममा पनि कति तामझामका साथ युवतीहरु नाच्दै रहेछन् । सोचेँ ! साँच्चै कति मजाको रहेछ आज त, पूरै नृत्यमा झुमेका झन् नि ! उक्त कार्यक्रममा छोटा लुगा लगाएका देखि कुर्था सलवार र साडी ब्लाउजमा सजिएर हिन्दी आइटम गीत कमली कमली र उलाला उलाला.......... मा मदहोस पार्ने गरी नाच्दै थिए । मैले यसो यता उता हेरेँ मलाई निमन्त्रणा गर्ने व्यक्ति त्यहाँ देखिनँ ।
आफूले चिनेको मान्छे, अझै आफूलाई निमन्त्रणा पठाउने आयोजक मैले त्यो कार्यक्रममा देखिनँ । अनि टक्क अडिएँ । त्यो दृश्यले मलाई अवाक बनायो । सम्मान कार्यक्रम भनेर आएको तर यहाँ त कोहि पनि छैनन् नचिनेका मान्छे मात्रै देख्छु, कसरी गएर बस्ने ? सोच्न थालेँ । यतिकैमा मलाई कसैले बोलाएको महशुस भयो । म झस्केँ । पछाडि फर्केर हेर्दा आयोजक मध्येका एक व्यक्ति रहेछन् । म त्यसरी सुस्ताएको देखेर उनले भने, ‘हाम्रो कार्यक्रम त माथि हलमा हुँदैछ । उनको कुरा सकियो कि नाइँ मैले ख्याल नै नगरी प्वाक्क बोलेँ, ‘अनि यो चैँ... ?’ मेरो प्रश्न फुस्किन नपाउँदै उनको उत्तर आयो, ‘यो तीजको दर खाने कार्यक्रम हो सर ।’ ती मित्रको यस्तो उत्तर सुनेर मैले आफ्नो धैर्य गुमाएँ । मज्जाले अट्टहास तरीकाबाट हृदयदेखि नै हाँसोको फोहोरा छुट्यो ममा । तर मेरो हाँसो त्यो कोलाहलमा कसले सुनोस् र ? जसरी बाढी आएको बेला नदीमा ढुङ्गा फाल्दा यत्तिकै अलप हुन्छ मेरो हाँसो पनि त्यसरी नै बिलाउन पुग्यो ।
एकछिन फेरी सोचेँ । तीज, दर अनि तीजका गीत । हे भगवान ! कतै हामी संस्कृतिको नाममा हाम्रा चाड पर्वमा कतै विकृति त भित्राउँदै छैनौँ ? गाउँदेखि सहर पसेको तीज अनि मौलिक बाद्य बादन र मौलिकतामा गायिने गीत परिवर्तन भएर डिस्को सम्म पुगेको दृश्य मेरो आँखामा नाच्न थाल्यो । हामी स्कुल पढ्ने बेलामा स्कुलबाट फर्किँदा बाटोमा सुन्ने गरेका तीजको गीत याद आयो यो बेला मलाई । कति मौलिकपन थिए ती गीतमा अनि हाम्रो संस्कृतिमा गर्व गर्न मन लाग्थ्यो । तर आज हिन्दी र अङ्ग्रेजी गीत गाएर तीजमा नाच्नेको त के कुरा गर्नु नेपाली गीत पनि सुन्नको लागि लाजै लाग्ने खालका आएका छन् । रत्यौलीमा गाउने गरेको गीत जस्तै तीज गीत पनि आएछन् ‘नयाँ नेपालमा’ । ‘मेरो त पिठ्यूँमा बेस्सरी चिलायो कनाइ दे न बाइ..............’ यस्ता गीत छिरे हाम्रो तीजको मौलिक संस्कृतिलाई टक्कर दिँदै ।
यस समयमा आएर हामीले तीजलाई बिकृतिको पर्व बनाउँदै गइरहेका छौँ कि ? कहाँ छ तीजको मौलिकता ? हामी कति सौखिन हुन पुगेका छौँ, चाडपर्व मनाउने नाममा । संस्कृति माथि नै धावा बोल्दै विकृति भित्राउँदै छौँ हामीले । सहर बजारमा त तीजको कुनै पनि मौलिकता देखिनँ मैले । तीज कतै बँचेको होला त हाम्रा गाउँघरतिर थोरै मात्र । तर गाउँमा पनि आधुनिकताको नाममा तीजमा विकृति फैलाउन होडबाजी नै चलेको जस्तो देखिँदैछ केहि वर्ष अगाडिदेखि । अन्यथा सहरको त कुरै नगरौँ । तीजको नाममा पूरै विकृति छिरेको छ अहिले । तीजको दर खाने भन्दै महिना दिन अगाडिदेखि दर खाइन्छ । त्यो पनि घरमा होइन, ‘हाइफाई’ तरीकाले होटल वा पार्टी प्यालेसमा पुगेर ।
दरको नाममा आधुनिक तरीकाका खाना खाइन्छ । मौलिक खानामा दर भनेको के हो ? सायद आधुनिक मान्छेलाई थाहा छैन होला । अहिलेको पुस्तालाई दर के हो भनेर सोध्ने हो भने माछा, मासु, पुलाउ........... आदि खाद्यान्नको नाम लिन्छ । र, यस्तै पनि भैरहेको छ अहिलेको दरमा । दर खान बोलाउँछन् माछा, मासु, पुलाउ लगायतका खाना अगाडि सार्छन् । अझै सम्भ्रान्त परिवारमा त दरको नाममा मासुको साथमा ‘दारु’को चुस्की समेत पर्ने गरेको छ । दरको गलत व्याख्या गरिँदैछ । अझै आफू अनुकुल बनाइँदैछ दरलाई । के यहि हो त दर ? तीजमा खाइने दर यस्तै हुन्छ ? अचेल मलाई यी र यस्तै अनेक प्रश्नले लखेटिरहेको हुन्छ । यी कुनै पनि प्रश्नको उत्तरमा मैले ‘हो’ भनेर उत्तर दिन सक्दिनँ । तर होइन भनेर कसैलाई बुझाउन पनि त सक्दिनँ ।
खासमा दर के हो त ? यस प्रश्नले तपाईंको मनमा खुल्दुली मच्चायो होला । मेरी हजुरआमा भन्ने गर्नुहुन्थ्यो ‘तीजको दिनमा ब्रत बस्ने महिलाहरुले तीजको दिन भन्दा अघिल्लो रातमा खाने खानेकुरा नै दर हो ।’ अझै यसरी बुझाउनु हुन्थ्यो भोलि तीज छ भने आज बेलुकी दिदी बहिनी माइतीको आँगनीमा जम्मा भएर खाइने मिठो चोखो वस्तु नै दर हो । हजुरआमाले अझै बुझाउँदै भन्नुहुन्थ्यो, ‘घरमा झिनुवाको चामलमा घ्यू राखेर पकाएको खाना, खिर अनि दूध, दही लगायतका शुद्ध शाकाहारी खाना नै दर हो नाती ।’ म यतिबेला मेरी स्वर्गीय हजुरआमालाई सम्झिरहेको छु । अनि उहाँले भन्नुभएको दरको परिभाषालाई । दाँज्ने गरेको छु हजुरआमाले भन्नुभएको दर र अहिलेको दरलाई । मैले कुनै पनि वस्तुमा समानता भेट्टाउन सकिन, त्यो (गाउँ घरको) दर अनि यो (अहिलेको बजारको) दरमा । उहाँ भन्नुहुन्थ्यो, तीजमा गाउँका दिदी बहिनी जम्मा भएर आफ्ना दुःख सुखलाई गीत मार्फत सबैलाई सुनाउने अनि पीडालाई थोरै भएपनि हलुका महशुस गर्ने नै तीज गीत हो ।
आहा ! त्यो दर । म सम्झिरहेछु मेरो घर । जहाँ म स्कुल पढ्ने बेलामा दर खाने दिनमा जागा बसेर दर नखाई सुत्दिनथेँ । कहिलेकाहिँ त त्यो दिन सम्झँदा मलाई ती सबै सपना त होइनन् जस्तो लाग्छ । एक दशकमै हामी कति धेरै परिमार्जित भएछौँ । अनि लाग्छ म कति अभागि मान्छे रहेछु । तीजको दरको नाममा होटल र पार्टी प्यालेसको अस्वस्थकर खाना खानु परेको छ । जहाँ थुप्रै मासु र मांशाहारी वस्तुहरुको परिकार राखिएको हुन्छ । त्यहाँ न दूध हुन्छ, न त दही र घ्यू नै । गाउँमा माली गाई र चम्री भैँसीको दूधबाट बनाएको दही घ्यू खाएको बानी, यो डेरीको दूधबाट बनाएको दही र घ्यूले जिब्रोलाई के स्वाद ? दर खाने ठाउँमा निम्ता आउँछ । सकेसम्म त म जान्न, बाध्य भएर जानु परेको अवस्थामा भाग मात्र बसेर उठ्नुपर्ने बाध्यता छ ।
तीजमा बिकृति भित्रियो, तडकभडक धेरै भयो भनेर आवाज नउठेका पनि होइनन् । यसरी आवाज उठाउने अधिकारवादीहरु नै पार्टी प्यालेस र होटलका दर खाने ठाउँमा अतिथि बनेर पुगेपछि सबै आवाज हराउँछ साँझमा देखिएको घाम जस्तै गरी । तीज मनाउने परिपाटी देखेर लाग्छ तडकभडकको परिभाषा फेरिएछ क्यारे । जहाँ तडकभडक नगर्नुहोला भनिएको हुन्छ, त्यस ठाउँको कार्यक्रममा कम्मरसम्म पुग्ने गरी एक मुठ्ठीको छड्के तिलहरी, अनि मंगलसुत्र, नौगेडी, शिरमा चन्द्रमा झुण्डाएर पुगेका हुन्छन् दिदीबहिनीहरु । यसरी नै गहनाहरु प्रदर्शन गरिनुलाई तडकभडक भनिँदैन क्यारे अहिलेको समयमा । जसले सामान्य तरीकाले तीज मनाउँछन् सायद त्यही नै होला तडकभडक । किनकी सामान्य रुपमा तीज मनाउन हामीले छोडिसकेका छौँ । मौलिक संस्कृतिको हामीले हत्या गरिसकेका छौँ ।
हो, मलाई याद छ मुलुकमा दोस्र्रो जनआन्दोलन हुनु भन्दा अगाडि गाउँ घर मात्र नभएर जताजतै मौलिक गीतहरु गाइन्थ्यो तीजको बेलामा । मुलुकमा बिस्तारै राजनीतिक परिवर्तन आयो । राजनीतिक परिवर्तनसँगै हामीले मनाउने संस्कृतिमा पनि परिवर्तन भयो । तर हामीले चाहेको साँस्कृतिक परिवर्तन यो थिएन । राजनीतिक परिवर्तनसँग साँस्कृतिक परिवर्तन पनि आवश्यक थियो तर परिवर्तन र साँस्कृतिक क्रान्तिको नाममा विदेशी सँस्कृति भित्र्याएर आधुनिकताको हवालत दिनु कत्तिको उपयुक्त हुन्छ ? हामीले सोच्न सकेनौँ ।
मुलुकमा राजनीतिक परिवर्तनपछि तीजमा गाउने गीतमा विस्तारै राजनीतिक विषयवस्तुले प्रवेश पाउन थाल्यो । दिदीबहिनीको पीडा व्यथा पोख्ने तीजका गीतले देशको राजनीतिक विकृतिको बारेमा व्यङ्ग्य गर्न खोज्यो । यसरी परिस्कृत हुँदै आएको तीजको गीत र दर खाने परम्पराले रत्यौलीमा गाउने गीतलाई तीजको गीतको नाममा प्रश्रय दिन थालेको छ भने दर एक महिना अगाडिदेखि स्टार होटल र पार्टी प्यालेसमा खुम्चिँदैछ । हामीले हाम्रो सँस्कृति भावी पुस्तालाई हस्तान्तरण गर्नु हाम्रो दायित्व होइन र ? हाम्रो असली सँस्कृतिको बारेमा हाम्रा भावी पुस्तालाई हामीले सुनाउँदा त्यो यथार्थलाई उनीहरुले दन्त्य कथा नभन्लान् भन्न सकिन्न । अझै पनि केहि बितेको छैन, आजैका दिनदेखि हामी आफ्नो ठाउँबाट जुट्यौँ भने हाम्रो मौलिक सँस्कृतिमा पलाएको ‘बनमारा’ झारलाई उखेलेर फाल्दै बिशुद्ध सँस्कृतिलाई अगाडि बढाउन सक्छौँ ।
Leave a Comment