जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिक सेवा समाज, नेपाल जिल्ला कार्य समिति चिवतनले चितवनका जेष्ठ नागरिकहरुलाई हिजो मङ्गलबार भरतपुर नगरपालिकाको कार्यालयमा एक कार्यक्रम गरेर  सम्मान गरेको छ । कार्यक्रममा आदर्श छोरा बुहारीलाई समेत अभिनन्दन गरिएको थियो । 
८२ वर्षिय ४१ सेमी अग्ला मास्टर नाउ

सम्मान कार्यक्रममा सिलौटिया गाविस वडा नम्बर ८, अडवलीया, रुपन्देहीका मास्टर नाउलाई समेत सम्मान गरिएको थियो । ८२ वर्षिया नाउ १५ दशमलव पाँच इन्च अर्थात् ४१ सेन्टिमिटर मात्र अग्ला छन् । नाउलाई गिनिज बुक अफ वल्र्ड रेकर्डको लागि मनोनयन समतेग गरिएको कार्याक्रममा जानकारी गराइयो । नाउको तौल जम्मा १८ किलो रहेको छ । 
भदौको अन्तिम सातामा बेस्ट नेपाल डेभलपमेन्ट ट्रष्ट, बुटवलले नाउलाई ह्विल चियर उपलब्ध गराएको समाचार प्रकाशित भएपछि नाउको चर्चा शुरु भएको खोज व्यक्ति तथा भाषा अनुवादक प्रख्यात बन्जाडेले जानकारी दिए । बन्जाडेका अनुसार असोजको दुई गते काठमाडौंको होटल महाराजामा गिनिज बुक अफ वल्र्डका प्रतिनिधिहरु आएर नाउको बारेमा जानकारीहरु लिएका थिए । ‘नाउको गिनिज बुकका प्रतिनिधिहरुबाट उचाइ तथा तौल लिने काम भएको थियो हिजो १४ गते उनी नोमिनेसनमा परेको जानकारी आयो’ बन्जाडेले भने । 
अपाङ्गता भएका व्यक्तिहरु मध्ये हिँडडुल गर्न नसक्ने समूहमा विश्वका सबैभन्दा होँचा व्यक्ति मास्टर नाउ रहेको बन्जाडेले बताए । हाल यो समूहको सबैभन्दा होचा व्यक्तिमा ताइवानी नागरिक रहेका छन् उनको उचाइ ६८ सेन्टिमिटर रहेको बन्जाडेले जानकारी दिए । 
‘१० दिनसम्ममा गिनिज बुक अफ वल्र्ड रेकर्डको कार्यालयमा सम्पूर्ण प्रकृया पूरा गरि उपस्थित हुनलाई कार्यालयले जानकारी दिएको छ’ बन्जाडेले भने । बन्जाडेका अनुसार नाउको फोटो तथा अन्य कागजपत्रहरु गिनिज बुक अफ वल्र्ड रेकर्डको कर्यालयमा पठाइ सकिएको छ । 
‘जेष्ठ नागरिकहरुको सम्मान नै हाम्रो भविश्यको आधार हो’ भन्ने मूल नाराको साथ मङ्गलबार २३ औँ अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस मनाइएको छ । जेष्ठ नागरिक सेवा समाज, नेपाल जिल्ला कार्य समिति, चितवनले यहि अवसर पारेर जिल्ला भित्र रहेका करिव १२ जनाभन्दा बढि जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । 
समाजले मास्टर नाउको प्रचार प्रसारमा लागि परेका प्रख्यात बन्जाडे र नाउकी भतिजी सिमा नाउलाई समेत सम्मान गरेको छ । कार्यक्रममा एक सय तीन वर्षिय चन्द्रकुमार प्रधान, एक सय एक वर्षिय पध्मा घले, ९६ वर्षिय सोना थापा मगर, ९७ वर्षकै मनकला अर्याल, कुफाकर अधिकारी, ९२ वर्षिया देउरुपा अधिकारी लगायतका जेष्ठ नागरिकलाई सम्मान गरियो । उक्त अवसरमा आदर्श छोरा बुहारीको रुपमा गोबिन्दबहादुर पंगेनी र ईश्वरी पंगेनीलाई समेत सम्मान गरिएको थियो । ११ वर्षदेखि दुबै आँखा बन्द भएकी आफ्नी आमाको राम्रोसँग स्याहार सुसार गरेको भन्दै समाजले पंगेनी दम्पतीलाई सम्मान गरेको आयोजकले बताएको छ । 
कार्यक्रम जेष्ठ नागरिक सेवा समाज, नेपाल जिल्ला कार्य समितिका अध्यक्ष मुक्तिनाथ अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष जमुनाप्रसाद घिमिरे, विशिष्ठ अतिथिको रुपमा केन्द्रीय उपाध्यक्ष हेमा अर्याल उपस्थित रहेका थिए । सरस्वति प्रधानले स्वागत मन्तव्य राखेको कार्यक्रममा संस्थाका चितवन जिल्ला सल्लाहकार सूर्यबहादुर मास्के, बाबुराम पाडे लगायतले मन्तव्य राखेका थिए । 

No comments

@lonely_aananda. Powered by Blogger.