साना दल पनि कम छैनन् आचार संहिता उल्लङ्घन गर्न "एमाओवादी विरुद्ध एमालेको उजुरी"

चितवन, ८ कात्तिक
दलहरुले एकपछि अर्को गर्दै संविधानसभा सदस्य निर्वाचनको आचार संहिता उल्लङ्घन गर्दै गएका टीप्पणीहरु आइरहेका छन् । चितवनमा आचार संहिता उल्लङ्घन गर्नेमा साना भनिएका दलहरु पनि कम देखिएका छैनन् ।
निर्वाचन आचार संहिता विपरीत चितवनको एक हस्पिटलमा टाँसिएको अखण्ड नेपाल पार्टीको ब्यानर, नेपाल परीवार दलले गरेको माइकिङ र रेक्सामा नेपाली काँग्रेसको झण्डा प्रयोग गर्दै
साना दलले पनि गाडीमा झण्डा, ब्यानरसहित माइकिङ गर्दै चुनाव प्रचार गर्नुका साथै बजारका चोक चोकमा आफ्ना उम्मेदवारको पक्षमा भोट माग्दै ब्यानर झुण्ड्याएका छन् । संविधान सभा निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न भन्दै निर्वाचन आयोगले साउन ७ गतेबाट निर्वाचन आचार संहिता लागू गरेको छ ।
निर्वाचन अधिकृतको कार्यालयले पनि निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेमाथि निगरानी बढाएको छ । ‘निर्वाचन आचार संहिता विपरित मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक)ले पार्टीको चुनाव चिन्ह अङ्कित झण्डा बजारको सडक बत्तिको पोलहरुमा टाँगेको विहीबार मौखिक जानकारी आएपछि सोही दिन साँझमा हामीले कर्मचारी अनुगमनमा पठाएका थियौँ’ चितवनको निर्वाचन क्षेत्र नम्वर– ३ का सहायक निर्वाचन अधिकृत रामकुमार श्रेष्ठले भने ।
अनुगमन पछि आचार संहिता विपरित सडक बत्तिको पोलमा पार्टीको चुनाव चिन्ह अङ्कित झण्डा झुण्डाइएको पाएपछि तुरुन्त हटाउन निर्देशन दिएको उनले बताए । निर्वाचन अधिकृतको कार्यालयको निर्देशन पछि उक्त स्थानबाट शुक्रबार बिहानसम्म सबै झण्डाहरु हटाइएको श्रेष्ठले जानकारी दिए । 
निर्वाचन आचार संहिता उल्लङ्घन गर्नेमा नेपाल अखण्ड पार्टी पनि अग्रपङ्तिमा देखिएको छ । अखण्ड पार्टीले निर्वाचन क्षेत्र नम्वर–३ का प्रत्यक्ष उम्मेदवार र समानुपातिकका दुई जना उम्मेदवारको पक्षमा भोट माग्दै भरतपुरस्थित आशा अस्पतालको पर्खालमा र नारायणगढ बजारको मुख्य चोकमा ब्यानर टाँसेको छ ।
नेपाल परिवार दलले पनि निर्वाचन आचार संहिता विपरित माइकिङ गर्दै हिँडेको छ । नेपाल परिवार दलले क्षेत्र नम्वर– ३ का प्रत्यक्ष तर्फका उम्मेदवार त्रिभुवन पौडेलको पक्षमा भोट माग्दै माइकिङ गरेको छ ।
नेपाल परिवार दलका कार्यकर्ताले आफ्ना उम्मेदवारको पक्षमा भोट माग्दै माइकिङ गरिरहेको अवस्थामा मुख्य निर्वाचन अधिकृत सहितको टोलीले कुरिनटारमा फेला पारि माइक निकालिदिएको क्षेत्र नम्वर– ५ का निर्वाचन अधिकृत अनन्त डुम्रेले जानकारी दिए ।
यसैबीच, एकीकृत नेकपा (माओवादी)ले आचार संहिता उल्लङ्घन गरेको भन्दै शुक्रबार नेकपा (एमाले)ले जिल्ला निर्वाचन अधिकृतको कार्यालय, चितवनमा लिखित उजुरी दर्ता गरेको छ । शुक्रबार दिउँसो वाइसिएलका कार्यकर्ताहरु निर्वाचन आचार संहिता उल्लङ्घन गर्दै एमाओवादीको चुनाव चिन्ह अङ्कित झण्डा प्रिण्ट गरिएको रातो ज्याकेट लगाएर निर्वाचन अधिकृतको कार्यालयमा समेत गएका र एमाओवादीका उम्मेदवारलाई जिताउन आग्रह गर्दै भरतपुरमा गाडिमा लाउडस्पिकर लगाएर माइकिङ गरिएको सम्बन्धमा एमालेका कार्यकर्ताबाट लिखित उजुरी परेको निर्वाचन क्षेत्र नम्वर–३ का सहायक निर्वाचन अधिकृत रामकुमार श्रेष्ठले जानकारी दिए ।
निर्वाचन सम्बन्धि आफ्नो पार्टीको पक्षमा तुल, ब्यानर टाँगिएको, उम्मेदवार सहभागि भएर भोज भतेर गरेको, भित्ते लेखन गरिएको सम्बन्धमा मौखिक उजुरीहरु आएका र सो सम्बन्धमा पनि अनुगमन भएको निर्वाचन क्षेत्र नम्वर–३ का सहायक निर्वाचन अधिकृत रामकुमार श्रेष्ठले जानकारी दिए ।
सार्वजनिक सवारीका साधनहरुमा पार्टीको चुनाव चिन्ह अङ्कित झण्डाहरु राख्न नपाउने आचार संहितामा उल्लेख छ । नारायणगढ क्षेत्रमा पार्किङ गरेर राखिने भाडामा चलाइने मिनि ट्रक, ट्रयाक्टर लगायतका सार्वजनिक सवारी साधनहरुमा टाढैबाट देखिने गरि एमाओवादीको चुनाव चिन्ह अङ्कित झण्डा राखिएको पाइएको छ ।
नारायणगढ बजार क्षेत्रमा चलाईने रिक्साहरुमा नेपाली काँग्रेसले चुनाव चिन्ह अङ्कित झण्डा राखेको छ । साथै एमाओवादी, काँग्रेस तथा एमालेका कार्यकर्ताहरुले मोटरसाइकलमा पार्टीका चुनाव चिन्ह अङ्कित झण्डा राखेर सार्वजनिक स्थानमा गुडाइरहेका छन् ।
आचार संहिता पालना भए नभएको सम्बन्धमा चितवनमा सम्बन्धित निकायले अनुगमन थालेका छन् । चितवनका प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्मा, मुख्य निर्वाचन अधिकृत विनोदमोहन आचार्य सहित पाँच वटै निर्वाचन क्षेत्रका निर्वाचन अधिकृतहरु, सुरक्षा निकायका प्रमुखहरुको टोली शुक्रबार जिल्लामा निर्वाचन आचारसंहिताको अनुगमनमा निस्किएको थियो । शुक्रबार निर्वाचन क्षेत्र नम्वर–३ को नारायणगढ देखि कुरिनटारसम्म अनुगमन गरिएको निर्वाचन क्षेत्र नम्वर– ५ का निर्वाचन अधिकृत अनन्त डुम्रेले जानकारी दिए ।
अनुगमनको क्रममा आचार संहिता उल्लङ्घनका सामान्य घटनाहरु देखिएको र त्यस्ता कार्यहरु बन्द गर्नको लागि सम्बन्धित दलका प्रतिनिधि तथा उम्मेदवारहरुलाई निर्देशन दिइसकिएको डुम्रेले बताए । उम्मेदवारहरुले प्रयोग गर्ने सवारी साधन, तुल, ब्यानर लगायतका बारेमा अनुगमन थालिएको डुम्रेले जानकारी दिएका छन् । साथै नगर क्षेत्रको अनुगमनको लागि निर्वाचन अनुगमन अधिकृत, जिल्ला निर्वाचन कार्यालयका प्रतिनिधि र सुरक्षा निकायका व्यक्तिहरु सहित मोवाईल टोली परिचान गरिएको डुम्रेले बताए ।

No comments

@lonely_aananda. Powered by Blogger.