ठूला दलले नै मानेनन् आचार संहिता "चितवन क्षेत्र नं. ४ मा काँग्रेस बिरुद्ध एमाओवादीको लिखित उजुरी"

चितवन, ५ कात्तिक
संविधान सभा निर्वाचन २०७० को लागि निर्वाचन आयोगले बनाएको आचार संहिता चितवनका ठूला दलहरुले नै उल्लङ्घन गरेका छन् । संविधान सभा निर्वाचन सम्बन्धि आचार संहिता लागू भएपछि पार्टीको झण्डा, उम्मेदवारको फोटो तथा भोट मागिएको टिसर्ट, झोला जस्ता वस्तुहरु ठूला राजनीतिक पार्टीका प्रतिनिधि तथा भ्रातृ सङ्गठनका कार्यकर्ताहरुले सार्वजनिक स्थलमा नै  प्रयोग गर्ने गरेका छन् । 

संविधान सभा निर्वाचनको आचार संहिता लागू भएपछि पनि दलका कार्यकर्ताहरु आचार संहिता उल्लङ्घन गर्दै चिर्वाचन अधिकृतको कार्यालय, चितवनमा यसरी पुगेका थिए ।
चितवनको क्षेत्र नम्वर– ४ को गीतानगर बजारमा नेपाली काँग्रेसका कार्यकर्ताहरुले चुनाव प्रचारको लागि पार्टीको झण्डा, तुल, पताका लगायतका वस्तुहरु सडकमा दोहोरो रुपमा लगाएको भन्ने लिखित उजुरी निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार परेको छ । निर्वाचन अधिकृतको कार्यालयमा यसअघि मौखिक उजुरी परेको भएपनि लिखित रुपमा परेको उजुरी यो नै पहिलो हो । 
संविधान सभा निर्वाचन आचार संहिता उल्लङ्घन भएको घटनाको बारेमा सूचना लिन खोज्दा निर्वाचन क्षेत्र नम्वर– ४ का मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतले यसबारेमा सूचना दिन चाहेनन् । ‘यो सामान्य खालको घटना हो, हामीले उजुरी परेको ठाउँमा अनुगमन गरेर भोलि (बुधबार) सम्म ती प्रचार गरिएका सामाग्री हटाउन मौखिक निर्देशन दिएका छौँ’ मुख्य निर्वाचन अधिकृत विनोदमोहन आचार्यले भने । 
गीतानगरमा निर्वाचन आचार संहिता उल्लङ्घन भएको भन्ने लिखित उजुरी एमाओवादीका सुदर्शन पौडेलले हस्ताक्षर गरेर वाइसिएलका केन्द्रीय सदस्य प्रकाश सुवेदीले निर्वाचन अधिकृतको कार्यालयमा दर्ता गराएका थिए ।
मङ्गलबार मुख्य निर्वाचन अधिकृतको कार्यालयभित्रै पनि आचार संहिता विपरितका घटनाहरु देखिए । काँग्रेस र वाइसिएलका कार्यकर्ता आचार संहिता विपरित पार्टीको झण्डा अङ्कित झोला तथा पार्टीको चुनाव चिन्ह भएको टिसर्ट लगाएर चुनाव प्रचार प्रसारको लागि सवारी साधन दर्ता गराउन निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । निर्वाचन अधिकृतको कार्यालयमा नै पार्टीको चुनाव चिन्ह भएको टिसर्ट र झण्डा अङ्कित झोला बोकेर कार्यकर्ताहरु आएका बारे निर्वाचन क्षेत्र नम्बर– ४ का निर्वाचन अधिकृत हेमलाल बेलबासेले भने– ‘अबदेखि यस्ता कार्य नगर्न मौखिक रुपमा भनेका छौँ’ ।
चितवन क्षेत्र नम्वर–५ मा नेकपा एमालेका उम्मेदवार दानबहादुर तामाङको तस्वीर सहित उक्त पार्टीको चुनाव चिन्हमा मतदान गरौँ भन्ने नारा छापिएका टिसर्ट बितरण गरिएको छ । 
चितवनका पाँचवटै निर्वाचन क्षेत्रका स्वतन्त्र र राजनीतिक दलका कुनै पनि उम्मेदवारहरुले आफ्नो दस्तखतको नमुना अझैसम्म निर्वाचन अधिकृतको कार्यालयमा नबुझाएको मुख्य निर्वाचन अधिकृत आचार्यले बताएका छन् । राजनीतिक दलले निर्वाचन प्रतिनिधि नियुक्तिको लागि मङ्गलबारसम्म पनि सम्पर्क नराखेका आचार्यले जानकारी दिए । 
संविधान सभा निर्वाचनको लागि चुनाव प्रचार प्रसार गर्न दलहरुले सवारी साधन दर्ता गरेर चलाउनु पर्ने आचार संहितामा उल्लेख छ । निर्वाचन प्रयोजनको लागि मङ्गलबार सवारी साधन  दर्ता गर्ने अन्तिम मिति रहेको थियो । मङ्लबार साँझसम्म चितवनका नौ वटा राजनीतिक दल र एक जना स्वतन्त्र उम्मेदवारले मात्र निर्वाचन प्रयोजनको लागि सवारी साधन दर्ता गरेका छन् । 
निर्वाचन प्रयोजनको लागि चितवनमा २२ वटा सवारी साधन दर्ता गरिएका छन् । चितवनको क्षेत्र नम्बर–१ मा संयुक्त राष्ट्रवादी मोर्चा नेपालले निर्वाचन प्रयोजनको लागि एउटा, क्षेत्र नम्वर–२ मा  नेकपा (एमाले)ले दुई वटा र सङ्घिय समाजवादी पार्टी नेपालले दुईवटा सवारी साधन दर्ता गराएका छन् । त्यस्तै निर्वाचन क्षेत्र नम्बर–३ मा नेकपा एमाओवादीले दुईवटा, नेपाली काँग्रेसले दुई वटा, नेकपा (एमाले)ले दुई वटा, अखण्ड नेपाल पार्टीले दुईवटा, नेपाल कम्युनिष्ट पार्टीले दुईवटा र स्वतन्त्र उम्मेदवारले एउटा सवारी साधन निर्वाचनको लागि दर्ता गरेका छन् । 
चितवनको निर्वाचन क्षेत्र नम्वर–४ मा नेपाली काँग्रेसले दुईवटा, मधेशी जनधिकार फोरम लोकतान्त्रिकले एउटा र अखण्ड नेपाल पार्टीले एउटा सवारी साधन दर्ता गराएका छन् । त्यस्तै निर्वाचन क्षेत्र नम्वर– ५ मा नेपाली काँग्रेसले मात्र सवारी साधन दर्ता गरेको छ । काँग्रेसले यो क्षेत्रमा दुईवटा सवारी साधन निर्वाचन प्रयोगको लागि दर्ता गरेको छ । 
चितवनमा ३२ वटा राजनीतिक दलका र स्वतन्त्र उम्मेदवार सहित एक सय १५ जना उम्मेदवार रहेका छन् । तर नौ वटा राजनीतिक दलका उम्मेदवार र एक जना स्वतन्त्र उम्मेदवारले मात्रै निर्वाचन प्रयोजनको लागि सवारी साधन दर्ता गरेका छन् । निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन प्रयोजनको लागि सवारी साधन दर्ता गर्न दिएको अन्तिम दिनसम्म जम्मा २२ वटा मात्र सवारी दर्ता भएका छन् । 
निर्वाचन प्रयोजनको लागि दर्ता भएका भन्दा अन्य सवारी साधन प्रयोग भएको पाइएमा त्यस्ता सवारी साधनलाई कारवाही गर्नुहुन्छ त ? भन्ने सञ्चारपत्र दैनिकको प्रश्नमा मुख्य निर्वाचन अधिकृत अचार्यले भने,– ‘कारवाही नै गर्नुपर्ने खालका जघन्य अपराध त उनीहरुले गरेका हुँदैनन्, पहिला हामीले सम्झाउने छौँ ।’ 
मङ्गलबारसम्म सवारी साधन दर्ता गर्न नसकिएको प्रमाण सहित सवारी साधन दर्ता गराउन आएमा उम्मेदवारलाई कुनै कारवाही नहुने आचार्यले बताए । निर्वाचन प्रयोजनको लागि दर्ता नगरी सवारी चलाएमा कस्तो प्रकारको कारवाही गरिने भन्ने बारेमा चाँडै नै छलफल गरिने आचार्यले जानकारी दिए । 

No comments

@lonely_aananda. Powered by Blogger.