फिस्लिङ दुर्घटनामा हराएकाहरुको खोजी हुँदै

भरतपुर, १ कात्तिक
दसैँको टिकाको दिन पृथ्वी राजमार्गको फिस्लिङबाट त्रिशुली नदीमा माइक्रो बस खस्दा हराएकाहरु मध्ये १२ जनाको अवस्था शुक्रबार साँझसम्म पत्ता लाग्न सकेको छैन । नारायणगढबाट काठमाडौँ जाँदै गरेको बा २ ख २५९८ नम्बरको माइक्रोबस बाटो चिप्लो भएको कारण अनियन्त्रित भइ पृथ्वी राजमार्गबाट झण्डै ७५ मिटर तल त्रिशुली नदीमा खसेको इलाका प्रहरी कार्यालय मुग्लिङले जनाएको छ । 
त्रिशुली नदीमा बाढी आएर पानीको मात्रा धेरै भएको कारण उद्दार कार्यमा कठिनाइ भएको विपत व्यवस्थापन तालिम केन्द्र कुरिनटारका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रामप्रकाश श्रेष्ठले बताए । दुर्घटना भएको ठाउँ वरिपरी त्रिशुली नदीमा क्रेनको सहायताले माइक्रो बसको खोजी गरिएको श्रेष्ठले जानकारी दिएका छन् । 

माइक्रो बस दुर्घटनामा हराएका व्यक्ति तथा माइक्रोको खोजी कार्यमा एसएसपी श्रेष्ठकै कमाण्डमा सशस्त्र प्रहरीका १८ जना परिचालन भइरहेका विपत व्यवस्थापन तालिम केन्द्र, कुरिनटारले जनाएको छ । 
बस दुर्घटना भएको स्थानमा बढी खाल्डो रहेको तथा उक्त स्थानमा पानीको बहाव बढि भएको कारण खोजी कार्यमा कठिनाइ भएको एसएसपी श्रेष्ठले बताए ।  ‘हामीले क्रेनका  साथै सानो अङ्कुस लगाएर नदीमा खोजी कार्य तिब्र पारेका छौँ’ श्रेष्ठले भने । दुर्घटनास्थल फिस्लिङदेखि कुरिनघाटसम्मको क्षेत्रमा विपत व्यवस्थापन तालिम केन्द्रका सशस्त्र प्रहरीले तीनवटा ¥याफ्टिङ बोट सहित खोजी कार्य तिब्र बनाएका श्रेष्ठले बताए ।  

हराइरहेका यात्रुहरु 
१. पार्वती तिवारी (३२)– राइनास–३ गोरखा
२. लोक बानिया (४८)– बेनीघाट–८, धादिङ
३. अप्सरा बानिया (१७)– बेनीघाट–८, धादिङ   
४. चन्दा बानिया (१९)– बेनीघाट–८, धादिङ 
५. झलकप्रसाद ढकाल (३९)– भनपा–६, चितवन
६. झलकप्रसादका छोरा निमेष ढकाल (५)– भनपा–६, चितवन 
७. झलकप्रसादकी छोरी यसस्वी ढकाल (१०)– भनपा–६, चितवन
८. रेश्मा पौडेल (१२)– मङ्गलपुर–४, चितवन
९. सम्झना खनाल (२५)– ललितपुर, भैंसेपाटी
१०. रिना अधिकारी (३५)– धापासी–४, काठमाडौँ
११. रिनाका छोरा विपिन अधिकारी (१२)– धापासी–४, काठमाडौँ
१२. माइक्रोका चालक माइला परियार (ठेगाना र उमेर नखुलेको) 

दुर्घटनामा परी घाइते भएका नौ जनाको तत्काल उद्दार गरि भरतपुर मेडिकल कलेजमा उपचारको लागि भर्ना गरिएकोमा भरतपुर–६ की ३५ वर्षिया सुनिता ढकाल सामान्य उपचार पछि घर फर्किसकेकी छिन् । 
अष्ट्रेलियन नागरिक ३३ वर्षिया मुच्निक मारिया र ललितपुर भैंसेपाटीकी २२ वर्षिया निशा पौडेलको शव घटनास्थलमा भेटिएको इलाका प्रहरी कार्यालय, मुग्लिङले जानकारी दिएको छ । उक्त दुर्घटना परी बेपत्ता भएकी चितवनको मङ्गलपुर–४ की ३२ वर्षिया सविना पौडेलको शव मङ्गलपुर–५ स्थित नारायणी नदीको खरखरे घाटमा नेपाल प्रहरीले बुधबार साँझ फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सञ्जय बहादुर राउतले जानकारी दिए । 
दुर्घटनामा परेको माइक्रो बसमा लगभग २४ जना यात्रु सवार रहेका इलाका प्रहरी कार्यालय, मुग्लिङका प्रहरी निरीक्षक लोकबहादुर गुरुङले बताएका छन् । बसमा टिकट नकाटी यात्रुहरु चढाइएको कारण पनि कति जना यात्रुहरु थिए भन्ने यकिन गर्न नसकिएको उनले बताए । 
‘वेपत्ता भएका व्यक्तिका परिवार तथा आफन्तहरुबाट आफ्नो मान्छे हराएको जानकारी आएको आधारमा १२ जना यात्रु अझै हराइरहेका छन्’ गुरुङले भने । त्रिशुलीमा हराइरहेको माइक्रो बस तथा बेपत्ता यात्रुको खोजी कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरीको विपत व्यवस्थापन तालिम केन्द्र, कुरिनटार र नेपाली सेनाको संयुक्त टोली परिचालन भइरहेको छ । 
हराइरहेका यात्रुहरु मध्ये चितवन र धादिङका एकै परिवारका तीन÷तीन जना परेका छन् । निमेष र यसस्वी झलकप्रसाद ढकालका छोराछोरी हुन् भने लोक, अप्सरा र चन्दा बानिया पनि एकै परिवारका हुन् । त्यस्तै, उक्त दुर्घटनामा छोरी रेश्मा सँगै त्रिशुलीमा हराएकी ३२ वर्षीया सविना पौडेलको शव बुधबार प्रहरीले फेला पारेको छ ।  

No comments

@lonely_aananda. Powered by Blogger.