उदाउँदो सूर्यको पूजासँगै छठ विसर्जन गरिँदै

नारायणगढ, २२ कात्तिक 
तराईवासी हिन्दू धर्मावलम्बीहरुको महान् चाड छठ पर्व आज शनिबार उदाउँदो सूर्यलाई अर्घ दिएर समापन गरिँदै छ । कात्तिक शुक्ल पक्षको चतुर्थी तिथिबाट चार दिनसम्म मनाइने यस चाडमा छठी माईको पूजा गरिन्छ । 
भगवान सूर्यकी बहिनीलाई छठी मैयाँको नाममा कात्तिक शुक्लपक्षको चतुर्थीबाट सप्तमीसम्म चार दिन पूजा गरिने पर्व भएको हुनाले पनि यस पर्वलाई छठ
पर्व भनिएको तराई सामुदायिक सेवा समिति, चितवनका अध्यक्ष सुरेशकुमार गुप्ताले जानकारी दिए । 
नारायणी नदीको किनारमा शुक्रबार उदाउँदो सूर्यलाई अर्घ दिँदै ब्रतालुहरु ।

‘यो पर्वमा ब्रत बस्ने ब्रतालुहरु पहिलो दिन कात्तिक शुक्ल चतुर्थीमा घर आँगन सफा राखेर आफु पनि शुद्ध भई चोखो वस्त्र धारण गरि शुद्ध खाना खाने गर्छन्’ छठ पूजा उप समिति संयोजक राजकुमार गुप्ताले भने । 
छठ पूजाको दोस्रो दिन कात्तिक शुक्ल पञ्चमीको दिनमा ब्रतालुहरु दिनमा निराहार बसेर बेलुका सूर्यास्तपछि गहुँको रोटी, खीर, फलफूल प्रसादको रुपमा ग्रहण गर्ने गर्दछन् । जसलाई उनीहरु खरना भन्दछन् । 
षष्ठीको दिनमा पानी समेत नखाई ब्रतालुहरु ब्रत बस्ने र आफ्नो नजिकमा पर्ने खोला, नदी, पोखरी, तलाउमा गएर साँझ अस्ताउन लागेको सूर्यलाई पानीमा प्रवेश गरि अर्घ दिने गर्दछन् । साँझको सूर्यलाई अर्घ दिएपछि ब्रतालुहरु रातभरी भजन गाएर जाग्राम बस्ने छठ पूजा उप समितिका संयोजक गुप्ताले जानकारी दिए । 
छठ पूजाको चौंथो अर्थात अन्तिम दिन कात्तिक शुक्लपक्ष सप्तमीको दिनमा सम्पूर्ण ब्रतालुहरु नजिकैको नदी पोखरीमा गएर उदाउँदो सूर्यलाई अर्घ दिएर पूजाको बिसर्जन गर्ने गर्दछन् । ‘पञ्चमीको दिनमा खरना ग्रहण गरेपछि षष्ठीमा निराहार ब्रत बस्ने ब्रतालुहरुले सप्तमीमा उदाउँदो सूर्यलाई अर्घ दिएर पूजा गरेपछि मात्र चोखो खाना खाने गर्दछन्’ छठ पूजा उप समिति संयोजक गुप्ताले भने । सप्तमीको दिनमा उदाउँदो सूर्यलाई अर्घ दिएर बिधिवत रुपमा पूजा समापन गरेपछि ब्रतालुहरुले अदुवा सहितको मनतातो पानी पिउने संयोजक गुप्ताले बताए । 
छठ पूजा गर्नका लागि ‘शिर्सोता’ बनाइने र पूजा गर्न आउने श्रद्धालुहरुले दिनमा उक्त शिर्सोताको वरिपरी बसेर पूजा गर्ने पूजा उप समिति संयोजक गुप्ताले भने । श्रद्धालुहरुको उपस्थितिको अनुमान लगाएर शिर्सोताको सङ्ख्या बनाइने गुप्ताले बताए । एउटा शिर्सोतामा कम्तिमा पनि १० जना भन्दा बढी श्रद्धालुहरुले पूजा गर्ने गुप्ताले जानकारी दिए । छठी माइको पूजामा महिला, पुरुष दुबै सहभागी हुने गर्दछन् । 
बिधिपूर्वक छठ पूजा गर्नाले ब्रतालुहरुको मनोकामना पूर्ण हुने जन विश्वास रहेको तराई सेवा समितिका कोषाध्यक्ष जयकिशोर पाण्डेले बताए । ‘छठी मैयाँको पूजा गर्दा सूर्यको प्रतापले जस्तोसुकै चर्मरोगहरु पनि निको हुन्छ’ पूजा उपसमिति संयोजक गुप्ताले भने । 
पूजा बिसर्जन भएपछि ब्रतालुहरुले आफु भन्दा ठूला व्यक्तिहरुबाट आशिर्वाद लिने गर्दछन् । पहिले तराईबासी हिन्दु धर्मावलम्बीहरुले मात्र यो पर्व मनाउने गरेका भएपनि हाल आएर पहाडी समुदायले पनि छठ पर्व मनाउन थालेका गुप्ताको भनाइ छ ।
व्यक्तिगत रुपमा छठ पूजा पहिले देखि नै गर्दै आइएको भएपनि चितवनमा २०४७ सालमा तराई सामुदायिक सेवा समितिको बिधिवत स्थापना पश्चात् सामुहिक रुपमा छठ पूजा गर्न थालिएको सेवा समितिका कोषाध्यक्ष जयकिशोर पाण्डेले बताए । छठ पूजा गर्नको लागि मौसम अनुसारको फलफूलहरु लिएर ब्रतालुहरु नदी, पोखरी, खोला, तलाउको किनारमा उपस्थित हुने पाण्डेले बताए । छठ पूजा गर्नको लागि घरमा उत्पादन हुने अदुवा, बेसार लगायतका चोखा वस्तुहरु चाहिने पाण्डेले बताए । 
छठ पूजा गर्न उपस्थित हुने भक्तालुहरुको चापलाई मध्यनजर गर्दै चितवनका विभिन्न पाँचवटा स्थानमा छठ पूजा गर्ने व्यवस्था मिलाईएको तराई सामुदायिक सेवा समिति, चितवनका अध्यक्ष सुरेशकुमार गुप्ताले जानकारी दिए । चितवनमा मुख्य रुपमा नारायणगढको नारायणी नदी किनारमा छठ पूजा गर्ने व्यवस्था मिलाईएको छ । नारायणगढको अलवा पदमपुरमा खगेरी खोलाको पुल मुनी, टाँडीमा रत्ननगर उद्योग वाणिज्य संघ पछाडि रहेको लौरी खोला, पर्सा बजारमा पुरानो पर्सा र नयाँ पर्सा जोड्ने पुलका साथै माडीका विभिन्न स्थानमा छठी माइको पूजा गर्ने व्यवस्था मिलाईएको छठ पूजा उप समिति संयोजक राजकुमार गुप्ताले जानकारी दिए । 
छठ पूजा गर्ने ठाउँमा शान्ति सुरक्षाको उचित प्रबन्ध मिलाईएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सञ्जय बहादुर राउतले जानकारी दिए । ‘छठ पूजा हुने स्थानहरुमा कुनै अप्रिय घटना नहोस् भनेर हामीले पायक पर्ने प्रहरी चौकीबाट बर्दी सहितका र सादा पोशाकका प्रहारी परिचालन गरेका छौँ’ प्रहरी नायव उपरीक्षक राउतले भने । शुक्रबार साँझ शान्तिपूर्ण रुपमा पूजा सम्पन्न भएको र शनिबार बिहानको लागि पनि सुरक्षाको प्रवन्ध मिलाईएको राउतले बताए । 

No comments

@lonely_aananda. Powered by Blogger.