यातायात बन्दको मार १ लाख ६३ हजार विद्यार्थीको पढाई प्रभावित

चितवन, २७ कात्तिक 
नेकपा–माओवादी लगायत ३३ दलिय मोर्चाले गरेको यातायात बन्दको मारमा विद्यार्थीहरु परेका छन् । मोर्चाले कात्तिक २६ गतेबाट मंसिर ४ गतेसम्म यातायात बन्दको आह्वान गरेको छ । विद्यालयलाई शान्ति क्षेत्रको रुपमा घोषणा गरिएको भए पनि विभिन्न सङ्गठनले गरेको बन्दको मारमा विद्यालय पर्ने गरेका छन् र यसको प्रत्यक्ष असर विद्यार्थीहरुलाई पर्ने गरेको छ । 
चितवनमा पाँच सय ५० वटा  विद्यालयहरु छन् । जसमध्ये सामुदायिक तीन सय ९२ वटा र नीजि तथा संस्थागत विद्यालयहरु
एक सय ५८ वटा रहेका जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले जानकारी दिए । विभिन्न बहानामा विद्यालय बन्द गराइँदा चितवनका लगभग एक लाख ६३ हजार विद्यार्थीहरु प्रभावित हुने जिल्ला शिक्षा कार्यालयले जनाएको छ । 
चितवनमा माध्यमिक तहसम्म पढाइ हुने ९१ वटा सामुदायिक विद्यालय र एक सय आठ वटा निजी तथा संस्थागत विद्यालयहरु सञ्चालनमा रहेका जिल्ला शिक्षा अधिकारी शर्माले जानकारी दिए । 
विद्यालयमा पढाइ नहुने भएपछि विद्यार्थीहरु समय विताउनको लागि नकारात्मक काममा लाग्न सक्ने अभिभावकहरुले गुनासो व्यक्त गरेका छन् भने विभिन्न बहानामा विद्यालय बन्द गरिँदा विद्यार्थीहरुको पढ्न पाउने अधिकार हनन् भएको विद्यार्थीहरुको भनाइ छ । 
सेन्ट्रल इङ्ग्लिस बोर्डिङ स्कुल, नारायणगढमा कक्षा १० मा अध्ययन गर्ने छात्रा सविना श्रेष्ठ भन्छिन्,– ‘विद्यालयमा दशैँपछि नियमित पढाइ हुन सकेको छैन, यसरी पढाइ नहुँदा कोर्ष सकिन गाह्रो हुन्छ र पछि सरहरुले एकै पटक धेरै च्याप्टर पढाउनुहुन्छ । त्यसो गर्दा हामीलाई बुझ्न पनि गाह्रो अनि परीक्षा राम्रो गर्न सकिदैन ।’ 
त्यस्तै, नारायणी नमुना उच्च माध्यमिक विद्यालय, भरतपुरमा कक्षा नौ मा अध्ययन गर्ने छात्र रमेश खड्का भन्छन्,– ‘बन्दको बहानामा विद्यालयहरु सञ्चालन नगरिँदा हाम्रो पढ्न पाउने अधिकार खोसिएको छ, यसतर्फ सम्बन्धित निकायले ध्यान पु¥याओस् ।’ 
विभिन्न बहाना बनाउँदै संस्थागत विद्यालयहरु बेला बखतमा बन्द भइरहने र विद्यालयमा पढाइ भइरहेको भन्दै विद्यालयले अभिभावकहरुसँग चर्को शुल्क असुल्ने काम भइरहेको छ । संस्थागत विद्यालय अभिभावक संघ, चितवनका अध्यक्ष राजेन्द्र न्यौपाने भन्छन्– ‘हामीले विद्यालयमा सम्पर्क राखेका थियौँ, छलफल भएको थियो अनि विद्यालय सञ्चालकहरुले विद्यालय सञ्चालन गर्नको लागि यातायातका साधन पठाउन सक्ने अवस्था छैन भने ।’ 
अहिलेको अवस्थाको बारेमा आफुहरु पनि जानकार भएको कारणले जोखिम नउठाउन भन्दै अहिले गरिएको विद्यालय बन्द वर्षे विदा अथवा हिउँदे विदामा कट्टा हुने गरि विद्यालय बन्द गर्न भनेका न्यौपानेले जानकारी दिए । ‘सरकारले चार दिन सार्वजनिक विदा दिएको छ, यसमा केहि बोल्न मिलेन तर अन्य विदामा कटाएर अहिले बन्द गर्न आग्रह गर्दा अहिलेको परिस्थिति अनुसार हुँदैन भन्न मिल्दैन’ न्यौपानेको तर्क छ । 
विभिन्न दल तथा सङ्गठनहरुले बन्दको आयोजना गर्दा सोझै विद्यालयलाई निशाना बनाइने गरेको चितवन इङ्ग्लिस सेकेण्डरी स्कुल, क्षेत्रपुरका शिक्षक अभिभावक संघका सदस्य भरत खनालले दुखेसो पोखे । अहिले ३३ दलिय मोर्चाको यातायात बन्दको क्रममा विद्यालयले आफुहरुसँग छलफल नै नगरि एकतर्फि रुपमा विद्यालय बन्द गरेका भन्दै शिक्षक अभिभावक संघका सदस्य खनाल भन्छन्,– ‘हामीसँग छलफल नै नगरि विद्यालय बन्द गरिनु अस्वभाविक काम हो, यसमा विद्यार्थीहरुको भविष्यको कुरा छ । विद्यालयले अहिले गरेको बन्द कुनै सार्वजनिक या स्थानीय विदामा लगेर मिलान गर्नुपर्छ ।’ 
विद्यार्थीहरुले पढ्न पाउने अधिकार विभिन्न बहानामा विद्यालयले खोस्न नहुने धारण खनालको रहेको छ । ‘विद्यार्थीको शुल्क तिर्न तीन चार दिन ढिला भएमा जरिवाना लगाउँछन् तर विभिन्न संगठनले यातायात बन्द ग¥यो भन्दै विद्यालय नै बन्द गरिनु जायज काम होइन’ खनालले भने । 
स्मल हेभन स्कुल, आँपटारीमा आफ्ना छोराछोरी पढाइरहेका नारायणगढका कुमार क्षेत्री भन्छन्,– ‘विद्यालय बन्द गरिएको बारेमा मैले विद्यालय प्रशासनसँग जानकारी लिँदा विद्यार्थीहरु टाढा टाढाबाट ल्याउनुपर्छ यातायात बन्द छ, अनि कसरी विद्यालय सञ्चालन गर्न सक्छौँ भनेर जवाफ आयो ।’ 
स्थानीय प्रशासनले सुरक्षा दिन्छु भन्दा पनि विद्यालय बन्द गराउनुले विद्यार्थीको पढ्न पाउने अधिकार माथि नाङ्गो प्रहार भएको क्षेत्रीले टीप्पणी गरे । ‘लामो समयसम्म विद्यार्थीहरुले पढाइमा मन लगाउँदैनन्, अनि पढाइ कमजोर हुन्छ, यसरी विद्यालय बन्द गरिएपछि शनिबार पनि विद्यालय सञ्चालन गरेर पढाइनु पर्छ’ क्षेत्रीले भने । 
चुनाव वहिष्कारवादीहरुबाट यातायात बन्दको आह्वानले चितवनमा सम्पूर्ण विद्यालयको पठन पाठन ठप्प पारिएको छ । नीजी विद्यालयहरु बन्द गरिएको सम्बन्धमा नीजि तथा संस्थागत विद्यालयहरुको संगठन प्याब्सन, चितवनका अध्यक्ष बेलबहादुर गुरुङ भन्छन्,– ‘यातायात बन्दले गर्दा विद्यालय बन्द गरिएको छ, सक्ने विद्यालयले विद्यालय खोल्न भनेका छौँ, नसक्नेलाई बन्द गर्नुस् भनेका छौँ ।’ 
अहिले जति दिन विद्यालय बन्द गरिएको छ त्यति दिन बराबर स्थानीय विदा कट्टि गरेर विदा समायोजन गरिने बताउँदै गुरुङले भने,– ‘मङ्गलबार विद्यालय खोल्न नसकेर बन्द ग¥यौँ, बुधबार स्थानी विदा दिइएको छ, विहीबार र शुक्रबारको विदा स्थानीय बिदालाई समायोजन गरेर पढाइ गर्ने छौँ ।’ 
नीजि तथा संस्थागत विद्यालयहरुमा सवारी साधनले विद्यार्थी ओसार्न नपाएर विद्यालय बन्द गरिएको विद्यालय सञ्चालकहरुले जनाएका छन् । तर सामुदायिक विद्यालयहरु किन बन्द गरिए ? भनेर चितवनका जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्मासँग प्रश्न गर्दा शर्माले ‘सामुदायिक विद्यालय बन्द छन् र ?’ भनेर शर्माले प्रतिप्रश्न गरे । जिल्ला भरिका सामुदायिक विद्यालय भएका तपाईंले थाहा पाउनु भएको छैन भन्ने प्रश्नमा शर्माले भने– ‘विद्यालयलमा विद्यार्थी गएनन्, त्यही भएर विद्यालय बन्द गरिएको भन्ने जानकारी आएको छ ।’ आफुहरुले बन्दको समयमा पनि विद्यालय सञ्चालन गर्नको लागि प्रत्येक विद्यालयलाई पत्र पठाएको भन्दै उनले यदि विद्यालय बन्द गरिएको भए सामुदायिक विद्यालयहरुलाई कारवाही गर्ने बताए । 

No comments

@lonely_aananda. Powered by Blogger.