शंकास्पद १२ जना प्रहरी नियन्त्रणमा

चितवन, २७ कात्तिक
बम बिष्फोट, यात्रुबसमा आगजनी जस्ता चितवनमा भएका पछिल्ला अप्रिय घटनामा संलग्न रहेको आशङ्कामा चितवन प्रहरीले मङ्गलबार राती र बुधबार गरि विभिन्न स्थानबाट १२ जना युवाहरुलाई नियन्त्रणमा लिएको छ । रामपुर, रामनगर, भरतपुर, मुग्लिङ र भण्डाराबाट ती युवाहरुलाई पक्राउ गरिएको चितवन प्रहरीले जानकारी दिएको छ । 
प्रहरीले नियन्त्रणमा लिएका युवाहरु नेकपा–माओवादीका
कार्यकर्ता भएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सञ्जयबहादुर राउतले जानकारी दिए । केहि दिन अघि भण्डारामा बम पड्काइएको घटनामा संलग्न भएको आशङ्कामा मङ्गलबार राती चितवन प्रहरीले भण्डाराबाट नेकपा–माओवादीका दुई जना कार्यकर्ता पक्राउ गरेको प्रहरी नायव उपरीक्षक राउतले जानकारी दिए । प्रहरीले उनीहरुलाई बुधबार छोडेको छ । 
‘मङ्गलबार राती पक्राउ परेका दुई जना व्यक्ति भण्डाराको घटनामा संलग्न नरहेको देखिएर बुधबार दिउँसो छोडेका छौँ’ प्रहरी प्रवक्ता राउतले भने ।  
बुधबार नियन्त्रणमा लिइएका व्यक्तिहरुमाथि अनुसन्धान गर्दा दुई जना कुनै पनि घटनामा संलग्न रहेको नदेखिएकोले चितवन प्रहरीले उनीहरुलाई छोड्ने तयारी गरेको प्रहरी नायव उपरीक्षक राउतले जानकारी दिए । विगत केहि दिनदेखि चितवनमा अप्रिय घटनाहरु भइरहेका उल्लेख गर्दै प्रहरी नायव उपरीक्षक राउत भन्छन्,– ‘सोही घटनामा संलग्न रहेको आशङ्कामा हामीले केही युवाहरु पक्राउ गरेका थियौँ, जसमध्ये निर्दोष देखिएका दुई जनालाई छोडिसक्यौँ र अन्य दुई जनालाई पनि छोड्ने तयारीमा छौँ ।’ 
नियन्त्रणमा लिइएका व्यक्तिहरुमाथि चितवन प्रहरीले अनुसन्धान जारी राखेको प्रहरी नायव उपरीक्षक राउतले बताए । नियन्त्रणमा लिइएका ब्यक्तिहरु यात्रुबाहक बसमा आगजनी गरेको, चितवनमा बमको आतङ्क मच्चाएको लगायत विभिन्न अप्रिय घटनाहरुमा संलग्न रहेको चितवन प्रहरीको आशङ्का छ । 
चितवन प्रहरीले नियन्त्रणमा लिएका व्यक्तिहरु केहि चितवनका स्थानीय व्यक्तिहरु भएका र केहि काठमाडौँ तथा सप्तरी लगायतका बाहिरी जिल्लाबाट ल्याइएको अनुसन्धानबाट देखिएको प्रहरी नायव उपरीक्षक राउतले जानकारी दिए । 
चितवन प्रहरीले रामनगरबाट नियन्त्रणमा लिएका एक व्यक्ति काठमाडौँबाट आएका र उनको साथबाट पेट्रोल बम बनाउन प्रयोग हुने सूत्र भेटिएको जानकारी दिँदै प्रहरी नायव उपरीक्षक राउतले भने– ‘काठमाडौँबाट नेकपा–माओवादीले चितवनमा ल्याएको एक जना कार्यकर्ताको खोजतलास गर्दा पर्समा राखेको अवस्थामा पेट्रोल बम बनाउन प्रयोग गरिने सूत्र भेटियो र अन्यको पनि अनुसन्धान प्रकृया जारी छ ।’ 
नियन्त्रणमा लिइएका व्यक्तिहरुको अनुसन्धान कार्य भइरहेको र पूरै अनुसन्धान प्रक्रिया नसकिएसम्म आपराधिक क्रियाकलापमा संलग्न रहेका थिए वा थिएनन् भनेर भन्न नसकिने प्रहरी नायव उपरीक्षक राउतले बताए । ‘नियन्त्रणमा लिइएका व्यक्तिहरु आपराधिक क्रियाकतापमा संलग्न रहेको देखिएमा कानुन अनुसार कारवाही प्रकृया अगाडि बढाउने छौँ’ प्रहरी नायव उपरीक्षक राउतले भने । 
त्यस्तै, नेकपा–माओवादीले आह्वान गरेको देशव्यापी यातायात बन्दको प्रभाव चितवनमा न्यून हुँदै गएको छ । जनजीवन सामान्य बन्दै गइरहेको छ भने लामो दूरीका सवारीका साधनहरु चल्ने क्रम दिन प्रतिदिन बढ्दो क्रममा रहेको चितवन प्रहरीले जानकारी दिएको छ । मङ्गलबार चितवन प्रहरीले करिव दुई सय सवारीका साधनहरु स्कर्टिङ्ग गरेर गन्तव्यतर्फ पठाएकोमा बुधबार तीन सय ५० वटा भन्दा वढि सवारीका साधनहरुलाई चितवन प्रहरीले स्कर्टिङ गरेको चितवनका प्रहरी प्रवक्ता राउतले जानकारी दिए । 
‘यातायात बन्दको अवज्ञा हुँदै गएको छ, साथै हामीले पनि सुरक्षा व्यवस्था कडा पारेका छौँ’ राउतले भने । बन्दको क्रममा अप्रिय घटना हुन नदिन प्रहरी सचेत हुँदै उच्च मानवीय चाप हुने ठाउँमा सुरक्षा व्यवस्था मजबुत पारिएको राउतले जानकारी दिए । 

No comments

@lonely_aananda. Powered by Blogger.