यात्राको त्यो क्षण (कथा)

मोतीका दानाजस्ता टल्कने हेर्दैमा मन लोभ्याउने सेता दन्त लहरहरु फिँजाई अटल रुपमा रहेका अग्ला अग्ला चुचुराको काखमा हरियो वनजङ्गलले घेरिएका ठूल्ठूला पहाडबाट वहकिएको भेषमा सुईसुई सुसेली हाल्दै नदी बगिरहेकी थिइन् ।  कलकल झरनाले साथ दिई रहेको, ति हरिया डम्म पहाडको टुप्पोबाट कुहुकुहु आवाज निकाली रहेकी कोईली चरी कराउँदै थिइ । सिरीसिरीवतासको वेग सँगैको त्यो प्राकृतिको उपमा भित्र हरेक उकाली ओराली डाँडाँ काँडा भञ्ज्याङ चौतारी अनि हरेक घुम्तीमा पर्ने, समथर खेतका लहलह झुलेका धानको बाला झैँम (हामी) पनि रात्रि बसको यात्रामा मस्त झुमिरहेको थिएँ । 
हरियाली पहाडमा राज गरेको चिसो बताससँगै बढारिदै, सुसाउँदै बगेकी नदीसँग मितेरी लाउँदै हाम्रो यात्रा अगाडि बढी रहेको थियो। प्राकृतिक सुन्दरताले भरिपूर्ण हाम्रो देश यातयात सुविधाको लागि अग्ला अग्ला काला पहाड खोपेर त ठूल्ठूला खोँच पुरेर उकाली ओराली नदीको किनारै किनार अनि धानको बाला लहलह झुलीरहेको खेतको बिचबिचमा कालो पत्रे सडक हुँदै अगाडि बढिरहेको हाम्रो यात्रामा हरेक गाँउ बस्ती र शहरको पनि राम्रो अवलोकन गर्ने मौका मिलिरहेको थियो अनि सोही यात्रामा विभिन्न ठाँउका महिला, पुरुष, बालक, वृद्ध, सज्जन, दुर्जन, असहाय, गरीब, धनी, आदि आदि व्यक्तिहरुसँगको हातेमालोमा हाम्रो यात्रा अझ रोचक र रौनक बनेको थियो ।

आ–आफ्ना गन्तव्यको ध्यानमा लिन भएका यात्रीहरू मध्ये मेरो नजर आफू बसिरहेको सिट देखी दायाँतर्फ अगाडि बढिरहेको थियो, उनी युवती थिइन् उमेरको अन्दाज २० देखी २२ वर्षको बिचमा हुनुपर्ने मेरो आफ्नै भित्री जिकिर थियो, एक महिलामा हुनुपर्ने गुणमा पोख्त थिईन् उनी । लचकदार शरिर लामो कपालमा रातो लाछाली बाटेकी कपालको गाँठो पारिएको भन्दा केहि माथी मखमली फूल सिउरिएकी, हात भरि हरीया चुरा छन्किरहेका अनि हत्केलामा मेहन्दीबाट बनेको विभिन्न सजावटी आकृति हरेक औँलाको नङमा गुलाबी रङले पोतेकी, मखमली चोलो अनि पटुकी खुट्टामा पाउजु एउटा औँलामा त चाँदीका औँठी, म बिस्तारै अनुहारतिर घुम्न थालेँ ।
गोलो गहुँगोरो अनुहारमा आँखी भौँ मिलाएकी निधारमा रातो टिका कानमा माडुली नाकमा तीनपाते फुली झुन्डाएकी ओठमा लिपिस्टिक, स्याउ जस्तो गाला, गलामा नौगेडी माला म उनलाई हेरिरहँे, मात्र हेरिरहेँ । मेरो एकनासको हेराईले उनलाई अप्ठ्यारो लागेछ क्यार उनी यता उति फर्कि रहन्थिइन् । आजको एकाईसौँ शताब्दीमा आफ्नो परिवारदेखी लिएर गाँउ टोल बजार जताततै महिलाले लगाउने पोशाक भन्दा फरक पोशाकमा उनी थिईन् ।
उनी नेपाल संस्कृतिकै छोरी थिइन्, उनमा हाम्रो धर्म संस्कृति चालचलन रितिरिवाज झल्किरहेको थियो । यो जमानाको नारीहरुको लागि त उनी पक्कै पनि दुस्मन नै थिइन्, मलाई सबै कुरा मन प¥यो र उनीसँग केहि कुरा खोल्न मन लाग्यो । मैले परिचय दिन आग्रह गरेँ वास्तवमा कोईलीको स्वरमा आफ्नो परिचय दिइन् । परिचय सँगै उनको बारेमा अनि उनको परिवारको बारेमा सहित मेरो बारेमा र गफ सँगै उनले लगाएको पोशाकको बारेमा केहि बेर गफियौँ । तर मैले यो प्रश्न गरिनँ, ‘तिमी किन यो पोशाक लगाउँदै छ्यौ, आजका नारीहरूका पोशाकको तुलनामा ?’ मनमा नै राखेँ यि कुराहरूलाई ।
गफकै क्रममा उनले तुरुन्त प्रश्न गरिन्– ‘तपाईले किन यो टम्म मिलेको शरिरमा छात्रे टोपी, कानमा मुन्द्रा घाँटीमा सिक्री विभिन्न आकृतिमा कुदिएका शरिर, च्यातिएका पाईन्ट, लामालामा जुत्ता अनि टि–शर्ट माथि पनि टाई ....’ उनको प्रश्न सकिन नपाउँदै जवाफ दिन हतार भएँ म । ‘यो नै मेरो एकाईसौँ शताब्दीको माग अनुसारको ड्रेस हो ।’ यसको सट्टा मैले भदगाउँले टोपी, दौरा सुरुवाल, ईस्टकोट, कम्मरमा पटुकीभित्र खुकुरी एक सच्चा नेपाली गोर्खे ठिटो भनि चिनाउन मैले नचाहेको भने होईन । तर आजका नारी या पुरुष समाजमा सँस्कृति झल्किने पोशाक होईन आधी शरिर देखिने पारदर्शी कपडा मन पराउँछन् । सँस्कृति झल्किने पोशाकमा भएका व्यक्तिलाई त यहाँ पाखे गाउँले पुरानो मान्छे आदि आदि सुन्नुपर्छ । अनि मेरो यो उमेर साँच्चिकै उमेरकै हिसाबले पनि म हरेक यौवन उमेरकी नारीहरु प्रति आकर्षित हुनु र युवतीहरु म प्रति आकर्षित हुन् आदि आदि लाग्छ ।
जवानीका मस्त रङ्गहरू साटा–साटा गर्न जुन बेला हाम्रा पुर्खाहरु रोधी गाउँथे मेलापातमा माया पिरतीका भाका बोल्थे, तर हामी अहिले डान्स डिस्को चोक चोकमा खुलेआम माया सट्छौँ । पूराना कुरा र नयाँ कुराका राम्रा नराम्रा पक्षहरुमा गफिँदै हामीले यात्रा अघि बढाईरहेका थियौँ । गफगाफमा लिन भएका हामीले समय बितेको पत्तो पाएनछौँ, रातको करिब ११ बजिसकेको थियो । यात्रुहरु सबै निन्द्रा देवीको अँगालोमा जिन्दगीका सुनौला भविष्यहरूको काल्पनिक संसारमा मस्त थिए तर, उनी र म गफमा व्यस्त थियौँ ।
अचानक गाडी रोकियो निन्द्राबाट उछुट्टिदै सबै जना हल्ला खल्ला गर्न थाले । हामी त घना जङ्गलको बिचमा रोकिएछौँ सबै यात्रुहरू किन र कसरी जस्ता प्रश्न उठाउँदै त्यो घना जङ्गल भित्र मध्य रातको समयमा आवाज उठाउन खोज्यौँ । त्यो पट्यार लाग्दो सुनसान घना जङ्गल को बिचमा आवाज सुनिदिने कोही थिएन । यदि दिउँसोको समय हुँदो हो त त्यो ठूलो घना जङ्गलमा चरीहरुको चिर्बिर आवाज, कोईलीको सुमधुर स्वर, ढकमक्क लालीगुराँसका फूल, कलकल झरनाको सुस्केरा, चिसो चिसो हावा अनि अटल अग्ला हिमालको दृश्यावलोकन हुन्थ्यो होला । प्राकृतिक छटाले भरिपूर्ण त्यो जङ्गल त्यस बखत एकदमै अन्धकार भित्र पनि मौन थियो निस्च्याम्म थियो । हामी जस्तै हजारौँ यात्रुहरु सडकमा अलपत्र भै होहल्लित थिए र पनि त्यो जङ्गल सुनसान थियो ।
तिनै प्राकृतिक छटाका सहयात्री हामी नेपाली दाजुभाई तिनैलाई लत्याउँदै थिए । ढकमक्क लालीगुराँस फूलको बगैँचामा रगतको झरना बगाईरहेका थिए । कुहुकुहु कोईलीको नाम निशाना मेटाई गोला, बन्दुक र बारुदको आवाज घनकाउँदै थिए । हरियो वन नेपालको धन तर गोला, बारुदबाट निस्किएको आगो सल्किदै थियो । रोधी बस्दै माया साट्दै दाउरा घाँस गोठाला गर्न गएका जोडीलाई परिवर्तनको अभियानमा जङ्गलबाट नै बेपत्ता बनाईँदै थिए । हरेक आमाको काख रित्ताउँदै थिए । सुन्दर भविष्यको रङ्गीन सपना बुनेर घरदेखि टाढिएका हाम्रा दाजु भाइका जीवन सङ्गीनीहरुको सिउँदो उजाडिदै थियो । हत्या, अपहरण, बम, गोली, बन्द, मार–पिट, बलात्कार, शोषण जस्ता जघन्य अपराध सामान्य र दैनिक कार्य जस्तो भैइरहेको थियो । तर आखिरी शिकार हामी जस्ता सोझा सिधा जनता थियौँ ।
त्यस दिन पनि अज्ञात समूहले एक यात्रु वाहक गाडीमा बम बिस्फोट गराएछन् । धेरै सोझा सिघा जनताले ज्यान गुमाएछन् । त्यसैको विरोधमा अगाडि बन्द थियो । बिस्तारै हजारौँ यात्रुहरुको लाईन लाग्यो, यात्रामा शितल हावा पस्किरहेको त्यो जङ्गल अचानक उकुस मुकुसको तातो र दुर्गन्धित हावा लिएर आयो । गर्मीले गर्दा सबै यात्रुहरु सडकमा उत्रीदै लाखापाखा भए । लामो समयसम्म गफमा व्यस्त युवती तातो हावाको कारण उकुस मुकुस त भइन् नै तर गाडीबाट निक्लने आँट गरिनन् । सबै जसो बाहिरिएका थिए । मैले उनलाई बहिर जाउँ भनेँ तर उनी मानिनन् उनले भनिन्ः– ‘उ त्यहाँ एक दाजु पनि हुनुहुन्छ । भैगो यही बसौँ ।’ 
जति मैले उनको प्रशंसा गरेको थिएँ र उनको हरेक कुराबाट प्रभावित थिएँ, तर उनले एक दाजु पनि हनुन्हुन्छ, म यहीँ बस्छु, तपाई जाने भए जानोस् भने पछि म अचानक परिवर्तन भएँ र उनी प्रति थोरै नकारात्मक सोचेँ । ‘म त जान्छु यो गर्मीमा गाडीमा बस्न सक्दिनँ’ म बाहिरिएँ, सडकमा नै रात बित्यो । बिहानीको मिर्मिरे आगमन हुन थाल्यो, सुनौला सूर्यका किरणले धर्तीमा आफ्नो राज बसाई सक्यो, बिस्तारै यात्रुहरूको भिड अनि हल्लाखल्ला छायो । यात्रुहरू नै जबर्जस्ती गाडी गुडाउन थाले, यात्रुहरुको त्यो किसिमको साहसले करिब ५ घण्टा पछि यात्रा अगाडि बढाउन सफल भयौँ ।
यात्रा अगाडि बढिरहेकै थियोे फेरि पनि करिब तीन घन्टा पश्चात गाडी रोकियो गाडी अगाडि बढ्न सकेन आ–आफ्नो गन्तव्यमा समयमा नै पुग्न नपाएको करण चिन्तित यात्रुहरु फेरि पनि आक्रोश पोख्न थाले, तर यात्रुहरू विफल भए, किनकी बेलुका अज्ञात व्यक्तिहरूबाट सडक बन्द गरिएको थियो भने त्यसबेला सरकार पक्षबाट बन्द थियो । अज्ञात व्यक्तिहरूको खोजीका लागि यातायात बन्द गरेको कुरा समाचारमा सुन्नमा आएको थियो । हरेक यात्रुहरु आ–आफ्नो काम लिएर हिँडेका हुन्छन्, सिमित समयको लागि, तर हाम्रो देशमा गुडीरहेको गाडी अचानक रोकिन्छ, अनि भनिन्छ दुई दिन, तीन दिन, चार दिन बन्द ! जनताको सेवामा खटिएका ति आर्मी प्रहरी पनि उल्टै बन्दबाट बिचल्लित सडकमा उत्रीएका यात्रुहरू माथि अन्धा धुन्ध मारपिट गरिरहेका थिए । तर पनि यात्रुहरु प्रहरीलाई दबाब दिई आफ्नो गन्तव्य तिर लाग्नको लागि हर प्रयास गरिरहेका थिए ।
हामी गाडीमा थियाँै तीन जना मात्र म, उनी र हिजो बेलुका जुन मान्छेलाई म शङ्का गरिरहेको थिएँ । वास्तवमा उ दृष्टिविहीन रहेछ । उसलाई जाडो, गर्मी, हल्ला–खल्ला थाहा छ तर के भैरहेको छ देख्न सक्दैन त्यसैले ऊ गाडीबाट जहाँ पायो त्यहीँ जान पनि सक्दैन अनि ती युवती पनि । सुरक्षाको नाउँमा कलङ्क छाएको हाम्रो देशमा नारीहरु एक आफैबाट शोषित र पीडित छन् । आधा शरिर पस्किएर हिड्ने जो कोही नारी देखेपछि ¥याल अवश्य काड्छ । अनि उस्को अस्मितामा कतिखेर दाग लगाउने भनेर बाटो कुरेर बस्छ । अनि ति नारी जसलाई थाहा छैन आफ्नो कारणले आफै शोषित र घृणित हुनुपर्छ भनेर । आफ्नो नारी अस्मिता जोगाउन कै निम्ति भए पनि उनी बाहिर ननिक्लिएको मैले बुझेँ ।
लगभग बिहानको खाना खाने समय पनि भयो । तर हामी शहर देखि केही दूरी टाढा थियौँ । सबै यात्रुहरू हिंडेर भए पनि खाना खानको लागि होटल तिर अगाडि बढिरहेका थिए । त्यसो त मलाई पनि भोक लागीरहेको थियो । होटल जाने तरखरमा थिएँ, मैले ती युवतीलाई सँगै खाना खान जान आग्रह गरेँ उनले केही छिन पछि जाउँला भनिन्, म भने भोक लागेको छ गएँ है भन्दै होटल तिर लागेँ । म पनि टाढा पुगिसकेको थिएँ एक पटक पछाडि फर्केँ । जसरी म फुरुक्क फुर्केर एक्लै आएको थिएँ तर ति महिला एक्लै आईनन् गाडीमा हामी सँगै यात्रा गर्ने ति दृष्टिबिहीन दाजुलाई पनि लिएर आईन् । गाडीबाट ओर्लदा होस् या होटलसम्म आईपुग्न होस् उनले धेरै सहयोग गर्दै ल्याईन् । एक हातले त्यो दाजुलाई डो¥याउँदै त एक हातले आफ्नो अनि उही दाजुको सामान झुन्डाउँदै होटलसम्म आई खाना खाँदा किन नहोस् उनले धेरै सहयोग गरिन् । सायद यस्तो माया, मोह र ममता आफ्नो परिवारमा मात्र सिमित हुन्छ । 
अचानक यात्रा न हो उसलाई दिशा पिसाब लागेछ ती महिलालाई ठूलो सङ्कट प¥यो, यात्राकै क्रममा चिन्जान अनि गफ गाफ भएरै होला मलाई चर्पीसम्म लगिदिन अनुरोध गरिन् । वास्तवमा उनको अनुरोध भन्दा पहिले मैले सोँच्न पर्ने कुरा हो तर पनि म उनको आग्रह स्वीकार्दै उसलाई चर्पी लगेर ल्याईदिएँ । होटलदेखि गाडीसम्म आउन भने उनले नै सहयोग गरिन् । उनले उसलाई एक आमाले आफ्नो बच्चालाई गर्ने माया भन्दा कमीको माया दिईनन्, लामो पर्खाइपछि बेलुका ५ बजे गाडीहरु फटाफट छुट्न थाले, हामी पनि यात्रा आगाडि बढायौँ ।
करिब रातको नौ बजे तिर हामी ठूलो बिसौनीमा पुगेछौँ सबै यात्रुहरु झरे । म पनि त्यस ठाँउबाट अर्को गाडीमा यात्रा गर्नु पर्ने थियो । अनि ती महिला पनि त्यही बिसौनीमा ओर्लिन थालिन् केही बाँकी यात्रु र ति दृष्टिबिहीन दाजुको यात्रा भने सोही गाडीमा बाँकी थियो । उनी उसँग छुट्न गाह्रो मानिन् तै पनि छुटिन् । उसको गाडी गुड्यो, हामी भने अर्को गाडी नआउन्जेल एक होटलमा चियापान गर्न पस्यौँ । उनले आफूमा ठूलो चिन्ता भएको मलाई सुनाईन् । अझ त्यो मान्छेको यात्रा ६ घण्टा भन्दा बढी र त्यो समय भित्र उसलाई हरेक आपत विपत अनि फेरि हाम्रो देशको कानुन हरेक एक एक मिनेटमा बदलिरहन्छ, उ बन्द हट्तालको शिकार, यात्रामा खाना पानी दिशा पिसाब धेरै सोच्न थालिन् । मैले उनलाई सम्झाउँदै चिया पिउन तर्फ पस्यौँ, एक गाडी आउने बित्तिकै उनी छुट्न खोजिन् तर मलाई उनी अझ बसिदिए अनि गफ गाफ गरिदिए हुन्थ्यो जस्तो लाग्यो तर समय आफ्नो गतिमा छ म समयलाई न रोक्न सक्छु न छेक्न नै सक्छु, उनले बिदा लिईन् । 
उ सँग जति छुट्न गाह्रो भएको थियो त्यति नै म सँग सजिलै छुटिन् । उनी गएपछि मैले उनको बारेमा धेरै सोचेँ र नारी महानता गाउन थालेँ । साँच्चै नारी धर्तीमाता हुन्, नारी सहनशिल हुन्छिन्, अरूको लागि आफू सुम्पिन पनि तयार हुन्छिन् । त्यसैले मैले गाएँ नारी नारी हुन्, नारी आमा हुन्, नारी श्रृष्टीकर्ता हुन्, केही छिन पछि अर्को गाडीमा छुटेँ, बिहानीपख गन्तव्य स्थल आइपुग्यो, फटाफट आफ्नो काम तिर लागेँ ।

No comments

@lonely_aananda. Powered by Blogger.