सानीको सम्झनामा भाग ५

म काठमाण्डौ पुगेकै दिनमा उसँग भेट भयो, मलाई भेट्न उ नयाँ बसपार्क आइपुगी । हामी रमाइला गफ गर्दै गोँगबुबाट ठमेल, न्यूरोड, बसन्तपुर, नागदह, बानेश्वर कालिमाटीका ठाउँहरु पैदलै डुल्यौँ । त्यो दिनमा मैले सन्तोष दाइ र प्रदिपभाइलाई पनि भेटेँ । काठमाण्डौ आउनुको बारे उनीहरुले सोध्दा तिनीहरुलाई पनि ढाँटे तर म यहाँ निर पक्रिएँ अनि बोलेरै टारेँ । शनिबारको दिनमा पनि सरकारी कार्यालयमा काम छ भनेर झुट बोल्दा म पक्रिएको थिएँ । उनीहरुले अलि अलि शंका गरेको भए पनि राम्ररी भेउ पाउन सकेनन् क्यारे । लक्ष्मीपूजाको भोलिपल्ट काठमाण्डौबाट सानी र म सँगै फर्कियौँ उसलाई धादिङ झर्नु थियो भने मलाई घरमा पुग्नु पर्ने थियो । यात्राको क्रममा अन्तरङ्ग कुराकानी गर्दै हिँडीएको थियो, कति खेर उ झर्ने ठाउँ आइपुगेछ पत्तै भएन, नारायणगढ तर्फ फर्कने बेलामा मलेखु कटेपछि उ झरी । त्यसपछि बसभरि मान्छे भए पनि म एक्लै भएँ । बीचबीचमा उसले फोन गरिरहन्थी । 

फेरि तिहारको यो तीन दिन हाम्रो सम्बन्ध पातलियो । उ धादिङबाट काठमाण्डौँ फर्केपछि हाम्रो सम्बन्ध पहिलेकै जस्तरी बित्न थाल्यो । राति अबेरसम्म गफिने अनि बिहान जो चाँडै उठ्छ उले अर्कोलाई उठाउनु पर्ने । दिनहरु रमाइलोसँग बित्दै गइरहेको थिए, यतिकैमा देशमा संविधानसभा सदस्यको निर्वाचनको सारगर्मी पनि एकाएक बढ्दै थियो । आफ्नो पेशाको कारण चुनावमा निकै नै व्यस्त भइयो, न खाने समय मिल्थ्यो न त समयमा नै सुत्न पाइन्थ्यो । सानीसँग पनि फोनमा मात्र कुरा हुन थाल्यो, सामाजिक सञ्जालबाट टाढिनु परेको थियो । प्रविधि साथमा भए पनि समय थिएन साथमा । यस्तैमा मंसिर १ गते समय निकालेर म नेटमा बसेँ सुरुमा नै उसको अकाउण्ट खोल्ने प्रयास गरेको थिएँ उसले पासवर्ड परिवर्तन गरिसकेकी रहिछ, जसरी बसन्तमा रुखले पालुवा फेर्छ । उसको व्यक्तिगत मामिलामा भनेर मैले कुनै प्रतिकृया जनाइनँ । 
सायद सम्बन्धमा के भएर कहाँबाट दरार उत्पन्न भएछ क्यारे फोन गर्दा समेत रिसिभ गर्न झिँझो मान्न थालि । फोन उठ्दैनथ्यो, उठिहाल्यो भने पनि नचिनेको मान्छेसँग फोनमा कुरा गरेको जस्तो व्यवहार गर्न थाली । के भयो भनेर सयौँ पटक सोधेँ तर केहि पनि भएको छैन भन्दै टार्दै टाढीन थालि । चुनावी माहौल सकियो देशमा, अलि हलुका महसुस हुन थाल्यो । मोवाइलमा म्यासेज पठाउथेँ उत्तर आउँथेन, अनि आजित भएर भ्वाइस मेल पठाएँ । पाँच मिनेटको भ्वाइसमेलको जिस्ट थियो, ‘मेरो उपस्थितिबीना समय बिताउन अप्ठेरो हुन्छ भन्ने मान्छे अचेल किन यसरी टाढा हुँदैछ्यौ ? आखिर मैले के गल्ती गरेको छु र यसरी सजायँ पाउँदै छु ?’ यो म्यासेजले उसलाई छोएछ क्यारे बल्ल रिप्लाई गरि, ‘प्लीज तपाइँले मलाई फोन नगर्नुस्, अ बिचलित हुन्छु तपाइँको अवाज सुनेर, मैले तपाईँलाई मलमको रुपमा प्रयोग गर्न पुगेछु, सरी मलाई बिर्सीदिनु ।’ उसको रिप्लाईले म अतालिएँ, भक्कानिएँ, सायद आफ्नो कुनै अङ्गमा ठूलो बज्र प्रहार भएको जस्तो पीडा हुन थाल्यो । 
मेरो न कुनै गल्ती न कुनै दोष थियो, उसले मेरो मायामा कुठाराघात गरि । यदि उसले मसँग टाढिनुको चित्त बुझ्दो जवाफ दिँदी हो त म पनि अबुझ त कहाँ थिएँ र ? मलाई पनि थाहा छ मान्छेका बाध्यता र विवसता धेरै हुन्छन् । माया प्राप्ती मात्र होइन समर्पण पनि हो भन्ने कुरा मैले राम्ररी जानेको थिएँ । तर समर्पण के का लागि ? यो उत्तर त मैले पाउनु पर्यो नि । चित्त बुझ्दो जवाफ नै नपाएपछि ....... जीवन पीडा नै पीडाले ब्याप्त भयो । सामाजिक सञ्जालबाट पनि टाढिदै गएको थिएँ । त्यता गायो कि मन खिन्न हुन्थ्यो । यतिकैमा उसले मलाई ब्लक गर्न पुगिछ । म एकसुरे भएको थिएँ ट्वीट त गर्थेँ तर त्यसमा पीडा धेरै हुने रैछ, अनि कसैप्रति तिखो बाण तर कसैको नाममा पनि बाण हानिएको थिएन । 
उसलाई र मलाई चिन्नेहरुले मेरो बारेमा उसलाई चुक्ली लगाउँदा रहेछन् । उसले मोवाइलमा म्यासेज गर्दै मेरा ट्वीट प्रति आपत्ती जनाउन थालि तर मेरा ट्वीटमा उसको नाम कतै पनि उल्लेख गरिएको थिएन । उसलाई मैले एकफेर फोन गरेर सोधेँ ‘मलाई किन ब्लक गरेकी ?’ उसले भनि, ‘मैले तपाईँलाई ब्लक गरिनँ भने तपाइँलाई भुल्नै सक्दिनँ त्यसैले ब्लक गरेको हो ।’ त्यति धेरै मायाका आशा देखाउने मान्छे आज एकाएक टाढिदै गएपछि मुटुमा चोट त लाग्ने नै भयो । अनि मनमा पनि पीडाका बादलहरु मडारिन थाले, अलि कति ठाउँ पाए कि बादलरुपी मनबाट आँसु रुपी पानी बन्दै आँखाको सहायताले बरबर झर्न सुरु गर्दथे । यसपछि मन बिचलित भएर सामाजिक सञ्जाललाई नै निस्कृय बनाएर बसेँ । सामाजिक सञ्जालभन्दा टाढा बसेर उसलाई भुल्न झन् मुस्किल भएर पुनः यता आएँ । 
दिन जसो तसो काट्ने गरेको भए पनि रात काट्न गाह्रो हुने गरेको थियो । न निन्द्र पथ्र्यो झुक्केर निदाए पनि सपनामा आएर झस्काउने गर्दथी । आफूलाई रिकोभर गर्न निकै कसरत गर्न पर्यो । बल्ल सामान्य अवस्थामा फर्किएको छु तर अझै पनि कसैले उसको याद दिलाइदिन्छन् अनि मनमा पीडाका सुलहरु दौडीन थाल्छन् । एक्कासी मुटु फुलेर आउँछ । उसले दिएको पीडामा खाटो बसेको भए पनि चोट पूरै निको भने भएको छैन । सानो ठक्कर लाग्यो भने पनि चोट लागेको ठाउँ दुख्ने रहेछ । जसरी खाटो बसेको घाउमा लाग्दा रगत आउँछ त्यसैगरि पीडाले मन भरिन्छ । उ मनमा नै छे तर टाढिएकी छे, साथमै छे तर मेरो लागि मरिसकेकी छे । अथवा उसले मेरो लागि आफूलाई मारेकी छे । कसैको लागि आफूलाई समर्पपण गरेकी छे रे उसलाई जसले पहिला पीडा दिएको थियो । मलाई पीडा दिएर उसलाई पहिला पीडा दिने मान्छेको सामु लुपुक्क टाँसिदै छे भन्ने सुनेको छु । खुसी छे खुसी नै रहोस् जीवन भरि शुभकामनारुपी शब्दगुच्छाहरु तिम्रो लागि । 
अस्तु । । । । 

अघिल्ला श्रृङ्खलाहरु तलको लिंकमा क्लिक गरेर पढ्नु होला ।


No comments

@lonely_aananda. Powered by Blogger.