हाम्रो परम्परा, सांस्कृतिक पर्व तीज र यसको महत्व ।

लेखक ः आनन्द पोखरेल

नारीहरुले सौभाग्य र समृद्धिका लागि धार्मिक परम्पराअनुसार शिव–पार्वतीको उपासना र पूजा–आराधना गर्ने भाद्र शुक्ल तृतीयाको दिनलाई तीज वा हरितालिका भनिन्छ । तीज नारीका लागि आफैँमा सुखद पर्व हो । 
वर्षदिनसम्म आफूले भोगेका दुःख–सुख, हाँसो–खुसी र आँसुका समिश्रणहरुलाई शब्दको माध्यमबाट गीतको मालामा उनेर जब गीतको गुन्जायमान सुरू हुन्छ, अनि मारूनीजस्तै गरी छमछमपूर्ण नाचको मद्होसपूर्ण उत्तेजनाका कारणले सम्पूर्ण दुःखहरु उत्कर्षमा पुगेर जाऊन्, सुखबाहेक अरु केही नहून् भन्ने अभिप्रायबाट प्रेरित भई नेपाली समाजमा तीजको पर्व मनाउँदै आइएको पाइन्छ । तर यसको थालनी र सुरूवात कहिलेबाट भयोे भन्ने प्रमाणिक तथ्य भने भेट्टाउन सकिँदैन । 
तीज पर्वको आफ्नो ठाउँमा छुट्टै मह¤व र स्थान पनि छ । सामाजिक मूल्यमान्यताअनुसार जब नारीहरु विवाह–बन्धनको प्रणयसूत्रमा बाँधिएर पराई घर जान्छन्, त्यति नै बेलादेखि उनीहरुको आफ्नो जन्मथलो वा घर माइतीघर बन्न पुग्छ र पराईघर वास्तविक घर बन्न पुग्छ । पराईघरमा वर्षभरिमा भोगेका पीडादायी दुःखद क्षणहरुको स्मरण गर्दै माइतीघरतर्फ जम्मा भएका आफ्ना साथीसँगीहरुको बीचमा गीतको माध्यमबाट मनका वेदना पोख्दा मन हल्का र चंगा हुने मान्यता रहेको पाइन्छ । 
वर्षदिनको तीजमा नारीहरु निधारबीच खुबै सुहाउने बाटुलो रातो टिकिया, नयनमा गाजल, अनारदानाको ठीक बीचभागमा सुहाउँदो कुनै सुनैसुनको गहना, हातमा टम्म मिलेका राता चुरा, सलक्क परेको पोतेबीच सुहाउँदो नौगेडी तिलहरी अनि पाउमा छमछम पाउजुको झन्कार कुनै कसरसमेत नरहेको अनुभूति हुन्छ, तीज पर्वको रमाइलोभित्र नारीहरुको अधरमा । 
के गाउँ के सहर ! के को पहाड अनि के को मधेस ! सबै नेपाली समाज र भूभागहरुमा साँच्चै सुखद र स्वर्णिम आनन्दको अनुभूति सँगाल्न सकिन्छ । तर यो पर्व पहिले र अहिलेमा धेरै नै फरक भएको पाइन्छ । पहिले–पहिले नेपाली समाजमा यत्रतत्र, सर्वत्र तीज पर्व भित्रिनुअगावैदेखि रौनकता 
छाउँथ्यो । गाउँ, सहर र हरेक टोलटोलमा मादलुको घिन्ताङ आवाज र तीजका मुटु छुने खालका मर्मस्पर्शी गीतहरु बुलन्द हुने गर्थे तर आजकल यस्तो परम्परा लोप हुँदै गइरहेको पाइन्छ । सिडी तथा डिभिडी प्लेयरमार्फत गीतहरु बजाएर नाच्ने, जम्मा हुने प्रचलनले प्रश्रय पाइरहेको छ । त्यसैले हामीले हाम्रो संस्कृति र परम्परागत मूल्यमान्यतालाई यसरी कुल्चिएर अगाडि बढ्दै जाने हो भने सदाका लागि हराएर जान सक्छन्, हाम्रा मूल्यमान्यता र संस्कृतिहरु । यसलाई जोगाउने वा नजोगाउने, यसको संरक्षण र संवद्र्धनमा ध्यान दिने वा नदिने कुरामा एक पटक हाम्रा दिदीबहिनीहरुले घोत्लिएर सोच्ने बेला आएको छ । 
कतैकतै तीज पर्वका नाउँमा केही विसंगति र प्रतिस्पर्धाहरु पनि भित्रिएका छन् नेपाली समाजमा । तीजमा निराहार र निर्जला व्रत बसेर नारीहरुले आफ्नो पति एवं सम्पूर्ण घरपरिवारका सदस्यहरुको दीर्घायु र सुखद समृद्धिका लागि भगवान् शिव–पार्वतीको पूजाआजा र आराधना गर्ने गर्छन् । तर यसको अर्थ कोमल ओलीको यसपालिको तीजमा ‘पोइला जान पाम्’, ‘कान्छी बूढी नल्याऊन् मेरा बूढाले’ जस्तै अरु पनि अन्य बजारमा भित्रिएका गीतहरुमा ‘झन् माथि सा¥यो झन् तल झर्छ, हाय मेरो फरिया’, ‘साँझ परेसी भेट्न आऊ है कालु’ भन्नेजस्ता भावहरु पोखिनु र यस्ता विसंगतिपूर्ण गीतहरुले नेपाली समाजलाई गाँज्दै लानु अत्यन्त दुःखद र अतिरञ्जनापूर्ण भाव हो । त्यसैले गीतहरु लेखिँदा नारी असमानताका बारेमा, घरेलु हिंसा र देशले व्यहोर्नु परेको बेथितिलाई आधार बनाएर लेखियो भने मात्र ती गीतहरु शिक्षाप्रद र समाज परिवर्तनका लागि गतिलो कारक त¤व बन्न सक्छन् । सबै तह, सबै ठाउँ, सम्पूर्ण निकायहरुबाट जोडदार आग्रह गरौँ हाम्रा दिदीबहिनीहरुलाई । अब लेख्दा यस्तै गीतहरु लेख्न जुर्मुराऊन् ती हातहरु । 
अन्तमा, जेजस्तो भएता पनि आडम्बरले जकडेको समाजमा तीज पर्वका नाउँमा गहनाहरुको प्रतिस्पर्धा नबनोस् तीजको पर्व । फेसन र महँगा वस्त्रहरुको प्रदर्शनी नबनोस् तीजको पर्व । समग्रमा तीजमा कुनै किसिमका अप्रिय घटनाहरु सुन्न नपरोस् । सबैका लागि सधैँ तीज सुखद 
बनोस् । अहिले देश आफैँ अशान्त बनिरहेको अवस्थामा कुनै पनि चेलीलाई तीजले अशान्त नबनाओस् । कहीँ–कतैबाट कुनै पनि नारीको नदुखोस् कोमल भावना ।


No comments

@lonely_aananda. Powered by Blogger.