शिक्षकहरु बौद्धिक प्राणी कि राजनीतिक दास ?


       भन्ने गरिन्छ नि, शिक्षकहरु समाजका आँखा हुन् भनेर । खोइ त, ती आँखाहरु अहिले कता गए ? जति बेला स–साना बाबुनानीहरुलाई विद्यालयमा गएर पढाउनु पर्ने थियो, त्यति बेला उनीहरुले व्यक्तिगत स्वार्थपूर्ति गर्नका लागि माओवादीका अध्यक्ष पुष्पकमल दाहाल अर्थात् प्रचण्डको स्वागत गर्न चितवनका सम्पूर्ण विद्यालयहरु बन्द गराएर उनको पछि लाग्नलाई गए । के शिक्षकहरुले विद्यार्थीहरुप्रति गर्नुपर्ने व्यवहार यही हो त ? अनि चितवनका सम्पूर्ण विद्यालयहरु बन्द गरेर शिक्षकहरु यसरी कुुनै एउटा पार्टीका अध्यक्षको स्वागतमा जाँदा पनि कानमा तेल हालेर बसेका जिल्ला शिक्षा अधिकारीको हैसियत पनि निरीह रहेको कुरा हाम्रा सामु प्रस्ट भैसकेको छ ।
         अन्य शैक्षिक क्षेत्रसँग आबद्ध संघसंस्थाहरुबाट पनि यस्तो घृणित कार्यको विरूद्धमा आवाज उठाउनु पर्नेमा खोइ त कता हराए उनीहरु ? जिल्ला शिक्षा अधिकारीले पनि त यसरी विद्यालय बन्द गराउने विद्यालयलाई बन्द नगर्न कडा निर्देशन दिनुपर्ने हो । यदि नमानीकन विद्यालय बन्द गराएको भए विद्यालयलाई कारबाही गर्नुपर्ने हो । तर पनि शैक्षिक संस्था यसरी बन्द गरिँदा जिल्ला शिक्षा अधिकारी किन मौन बसेका हुन् ? किन कुनै पनि प्रतिक्रिया नै दिएनन् त उनले ? के उनको धर्म यही हो त ? कुनै पार्टीको अध्यक्ष आउँदा शिक्षकहरुद्वारा यसरी विद्यालय बन्द गराउँदै जाने हो भने भोलिका दिनमा यसले कस्तो समस्या निम्त्याउला ? अहिले नै सोच्नुुपर्ने अवस्था आएको छ ।
          हामीहरुलाई पढाउने बेलामा त गुरूहरुले भन्ने गरेका थिए– शिक्षा एउटा पवित्र मन्दिर हो, जहाँ राजनीतिलाई प्रश्रय दिनुहुँदैन भनेर । आज तिनै गुरूहरु यसरी माओवादी अध्यक्ष प्रचण्डको पछि लागेर गएको देख्दा म मात्रै होइन, आज सारा नेपाली आश्चर्यमा परेका छन् ! ती नैतिक शिक्षा दिने गुरूहरुमा पनि आज नैतिकताको खडेरी लागेजस्तो छ ।
        भन्ने गरिन्थ्यो नि, विद्यालयलाई शान्तिक्षेत्र बनाउनुपर्छ भनेर ! अनि यसरी गुरूहरुले नै विद्यालय बन्द गराउँदै गएपछि कसरी बन्छ विद्यालय शान्तिक्षेत्र ? अझै सोचनीय कुरा त के छ भने अहिले एमाओवादीका अध्यक्ष कमरेड आउँदा विद्यालय बन्द गरियो भने यही भदौ २९ गते एमाले चितवनको जिल्ला अधिवेशन छ, त्यहाँ पनि एमालेका अध्यक्ष कमरेड झलनाथ खनाल आउलान् नै । अनि के झलनाथ खनाल आउँदा पनि  विद्यालय गर्ने ? एमालेनिकटका शिक्षकहरुले त पक्कै पनि विद्यालय बन्द गर्नलाई दबाब देलान् अनि अरु शिक्षकहरुले पनि माओवादीका अध्यक्ष आउँदा झैँ त्यसमा सहमतिको मुन्टो हल्लाउलान् नै ? शिक्षकहरुले शिक्षण गर्ने हो कि राजनीति गर्ने हो, अब कुरा प्रष्ट हुनुपर्छ । उहिले त माओवादीनिकट शिक्षकहरुले पैँचोस्वरुप विद्यालय बन्द गराएका हुन् अनि त्यसको पैँचो तिर्नुपर्ने नै हुन्छ । एवं रितले कांग्रेसलगायत अन्य ठूला तथा साना दलका सभापति तथा अध्यक्षहरु जिल्लामा प्रवेश गर्दा सबै पार्टीका निकटतम शिक्षकहरुले यसरी विद्यालय बन्द गराउँदै जाने हो भने हाम्रा बालबालिकाहरुलाई शिक्षा दिनु बेकार छ । आखिर यस्तो प्रकारको शिक्षाले राजनीतिक दास जन्माउनुभन्दा अर्को के काम गर्ला र ? विद्यालय गएर विद्यार्थी भाइबहिनीहरुले किन पढ्ने ? यो त ‘साँढेको जुधाइ, बाच्छाको मिचाइ’ जस्तो पो भयो ! ठूला–ठूला लड्छन् यहाँ तर पीर र मर्काजति सबै सानालाई । एक त, निजी तथा आवासीय विद्यालयमा पढ्ने विद्यार्थीहरुले चर्को शुल्क तिरेर आफ्नो भविष्य बनाउने भन्दै विद्यालय धाउँछन् ।            विद्यालयले पढाइ नभएको समयको पनि किन शुल्क लिइरहेको छ ? शिक्षकहरुले आफूखुसी विद्यालय बन्द गर्दै हिँड्छन् तर कत्ति पनि लाजै नमानी यस्तो दिनको तलब पनि लिइरहेका छन् । शिक्षकहरु बौद्धिक प्राणी हुन् कि अरु नै केही ? शिक्षकहरुको नैतिकता कहाँ छ ? जबरजस्ती विद्यालय बन्द गर्ने अनि विद्यार्थीसँग चर्को शुल्क पनि उठाउने र लाजै नमानी तलब पनि बुझ्ने !
        विद्यार्थीहरु भविष्यका कर्णधार हुन् भनेर चर्का–चर्का शब्द बोल्नेहरुले खोइ त आज बुझेका विद्यार्थीको मनोभावना ? विद्यार्थीहरु भविष्यका कर्णधार मात्रै होइनन्, वर्तमानका संवाहक पनि हुन् । शैक्षिक क्षेत्रमा त शिक्षकहरुबाटै यसरी बेइमानी गरिन्छ भने अन्य क्षेत्रबाट विद्यार्थीहरुको हितमा काम हुन्छ भनेर कसरी अपेक्षा गर्न सकिन्छ ? 

No comments

@lonely_aananda. Powered by Blogger.