मुन्नीजस्तै बद्नाम हुन थालेको ‘तीज’
ले. आनन्द पोखरेल |
कुरा केही दिनअघिको मात्र हो, म सधैँ झैँ आफ्नो नियमित काम सकेर एकैछिन थकाइ मार्ने तर्खरमा मात्र के थिएँ, मेरो मोबाइलको घण्टी बज्न थाल्यो । यसो मोबाइल हेरेको त चिनेकै नम्बरबाट पो फोन आएको रहेछ, अनि फोन रिसिभ गरेँ मैले । फोन उठ्न नपाउँदै उताबाट आवाज आयो– भाइ, तिमीलाई आउँदो शनिबार दर खाने निम्तो छ । अनि मैले एकछिन यसो सोचेँ, त्यो शनिबार त मेरो त्यस्तो कुनै जरूरी काम छैन, तब सहमति जनाउँदै हुन्छ दिदी म आउँछु, भनेँ ।
शनिबार पनि आयो, म दर खानका लागि बोलाइएको ठाउँमा गएँ । स्थान थियो, नारायणगढको कुनै एउटा नाम चलेको अझै भनौँ प्रतिष्ठित होटेल । म त्यहाँ पुग्दा सबै जना उपस्थित भैसक्नुभएको रहेछ । होटलमा खूब तामझामका साथ तीज कार्यक्रम मनाउने तयारीमा हुनुहुन्थ्यो आमादिदीहरु । त्यो ठाउँमा पुग्दा यस्तो लाग्थ्यो कि कुनै नेपाली मौलिक पर्व मनाउनको लागि त्यहाँ उपस्थित भएको नभई, समाजमा रवाफ देखाउने कुनै नवधनाढ्य वर्गको पार्टीमा उपस्थित भइएको छ ।
सबैजना कोभन्दा को कमको तालमा कानमा ठूलाठूला झुम्का, गलामा छड्के गरेर लगाइएको पोतेमा ठूल्ठूला तिलहरी अनि के के हो के के ! नाम पनि नजानिने अरु थुप्रै गहना लगाएर सजिएका थिए भने खानाको लागि पनि सबै आधुनिक तरिका अपनाइएका खानेकुराहरु । कार्यक्रम सुरू भएपछि बोल्ने क्रममा अधिकांशले भनेका वाक्यहरुले मलाई सोचमग्न बनायो । भनिँदै थियो, हामी सबै नेपालीले तडकभडकरहितको तीज मनाउनुपर्छ भनेर ।
आखिर तडकभडक भनेको कुनचाहिँ जन्तुको नाम होला, खै ! मैले बुझ्नै सकिनँ । घाँटीमा सुनको हार, हातमा सुनको बाला, कम्मरमा छड्के तिलहरी, चुल्ठोमा चन्द्रमा लगाउने अनि पैसा उठाएर होटल र पार्टी प्यालेसमा दर खाने तर तडकभडकरहितको तीज रे, अलिकति लाज त लाग्नुपर्ने हो ! यो घटना त एउटा उदाहरण मात्रै हो । यस्तो घटना त सहरबजारमा धेरै देख्न पाइन्छ । सोच्न मन लाग्छ, तडकभडकसहितको तीज कस्तो हुन्छ होला ? महिला दिदीआमाहरुले यो कुरा भाषणमा मात्रै भन्ने हो कि व्यवहारमा पनि उतार्नु पर्ने हो ! आफैँ जान्नुहोला ।
तीज आउनुभन्दा करिब एक–डेढ महिनाअगाडिबाट नै ठूलाठूला होटलहरुमा दर खाने रे ! जहाँ हाम्रो मौलिक स्वरुपको दरको कुनै बास्ना नै हुँदैन । सोझो अर्थमा भन्ने हो भने दर खाने नाममा यहाँ हामीले विकृतिबाहेक केही पनि भित्र्याएका छैनौँ । वास्तवमा आज आएर तीजको मह¤व घट्दै गएको हो कि भन्ने भान पर्न थालेको छ । हुन त, सञ्चारले विश्वलाई यति साँघुरो घेरामा बाँध्न सफल भएको छ कि नेपालको त कुरै नगरौँ । सञ्चारका साधनले गर्दा पनि अहिले आफ्ना दिदीबहिनीलाई लिन गइराख्नु पर्दैन, फोनको भरमा बोलाउन सकिन्छ । सञ्चारका साधनले हामीलाई सुविधा पनि पु¥याएको छ भने अर्कातर्फ हामीहरुलाई अल्छी पनि बनाउँदै गएको छ ।
कुनै बेला यस्तो समय थियो, तीजको दर खुवाउनको लागि भन्दै दाजुभाइहरु दिदीबहिनी लिन जाने अनि आफ्ना दाजुभाइ गएपछि दुई–तीन दिनको छुट्टी निकालेर दिदीबहिनी पनि आफ्नो माइतीघरमा जाने
गर्दथे । त्यति बेला तीजको अघिल्लो दिन नाचगान तथा रमाइलो ग¥यो अनि राति दर खाएर भोलिपल्ट तीजको दिनमा भगवान् शिवजीको व्रत बस्ने चलन थियो । आज यो चलन हामीमाझ अवस्थित छ त ? के हामीले संस्कृतिलाई विकृतिमा परिणत हुन दिएका छैनौँ त ?
खै त कहाँ गए ती मौलिक भाकाहरु ? जहाँ आमा तथा दिदीबहिनीहरु बसेर दुःख अनि सुखका गीत गाउने गर्दथे । अहिले त होटलमा गयो, दुई–चार जना जम्मा भयो अनि सरकारी तथा गैर सरकारी पैसामा मोजमस्ती ग¥यो । अनि गीत हुन्छन् लोकगायिका कोमल वलीले हाम्रो परम्परालाई व्यङ्ग्य गरेर गाएको गीत ‘पोइला जान पाम्’ र ‘डिस्कोमा तीज’ भनेको जस्तो । यतिले मात्रै के मान्थ्यो र ! त्यहाँ त ‘मुन्नी बद्नाम हुई’ देखि लिएर ‘शिलाकी जवानी’ सम्म अनि ‘उलाला उलाला’ देखि लिएर अहिलेको ‘हल्कट जवानी’ सम्मका नाच हेर्न पाइन्छ । अंग्रेजी गीतसमेत बजेको सुन्न पाइनु त नेपाली तीजको महान् विशेषता भएको छ । अब हाम्रो तीज मुन्नीजस्तै बद्नाम भएर सिद्धिने त होइन ? भनेर खतराको घन्टी बज्न थालेको धेरै भैसकेको छ ।
वास्तवमा अहिले हामीले जानेर होस् वा नजानेर नै, हाम्रो संस्कृतिलाई लात मार्दै विदेशी संस्कृतिलाई अँगालिराखेका छौँ । चाडपर्व मनाउने नाममा विकृति अनि विसंगतिलाई प्रश्रय दिएका छौँ । के चाडपर्व मनाउने भन्दैमा एक–डेढ महिनाअघिदेखि होहल्ला मच्चाएर होटलमा गएर दर खाँदैमा हाम्रो संस्कृतिको संरक्षण हुृन्छ त ?
केही वर्षअघिसम्म तीजको भाका तीज सुरू हुने बेलामा अर्थात् एक–दुई हप्ताअगाडिबाट गाउँका चोकचोकमा सुन्न पाइन्थ्यो । त्यो पनि आफ्नै मौलिकताभित्र रहेर गाइएका गीतहरु हुन्थे, जहाँ चेलीका वेदनाहरु गाइन्थ्यो । वर्षदिनमा एक पटक चेलीहरुले वेदनाको पोको पस्कने गरेको पाइन्थ्यो । वर्षभरिका आफ्ना दुःख–कष्ट बिर्सेर आफ्नो साथीसँगीहरुसँग मिलेर गीतमार्फत दुःखका भारी बिसाउने गरिन्थ्यो । खै त, अहिले कता गए ती
भाकाहरु !
हाम्रो संस्कृतिबाट विदेशीहरु आकर्षित भएर अध्ययन तथा अनुसन्धान गर्न लागिरहेको बेलामा हामी भने किन मौलिकता छोड्दै गएका छौँ ? आज जसरी हाम्रा पूर्वजहरुले हामीलाई आफ्नो मौलिक पर्व, संस्कृति दिएर गएका छन्– त्यसलाई नासोको रुपमा स्वीकारेर हामीले हाम्रा भावी पुस्ताहरुलाई जस्ताको तस्तै हस्तान्तरण गर्न सक्नुपर्छ । कहीँ यस्तो नहोस् कि अबको एक–दुई दशकपछि हाम्रा सन्ततिहरुले हाम्रा मौलिक चाडपर्वहरुका बारेमा जान्नको लागि विदेशी विश्वविद्यालय तथा पुस्तकालय धाउन परोस् ! हाम्रो संस्कृति जगेर्ना गर्ने नाममा जसरी हामीले मौलिकतालाई बिर्संदै गएका छौँ, यसमा सुधार नगर्ने हो भने यो दिन नआउला भन्न सकिँदैन । मुन्नीजस्तै बद्नाम हुँदै गएको तीजका बारेमा अब पनि नसोच्ने हो भने पछि निकै ढिलो हुनसक्छ ।
Leave a Comment