“लेखेको मात्र पाइन्छ, देखेको पाइँदैन”

फिल्म     ः थ्री लभर्स
ब्यानर    ः थ्री ब्रदर्श क्रियसन
निर्देशक    ः सुरेश दर्पण पोखरेल
सङ्गीत      ः राजन इसान र बाबु बोगटी
छायांकार    ः पुरूषोत्तम प्रधान
द्वन्द्व    ः हिमाल केसी
नृत्य    ः शंकर बिसी र कविराज गहतराज
कलाकार    ः प्रियंका कार्की
(दिया), नीरज बराल (आदित्य), देबु श्रेष्ठ (देव), धिरेन्द्रराज थापा, पूजा शर्मा, सुमन गैरे ।
चलचित्र - समीक्षा


नेपाली प्रचलन छ नि, “हुने हार दैव नटार” भन्ने । साँच्चै नै जे कुरा हुनु छ, त्यो भएर नै छोड्छ । त्यसलाई मानिसले परिवर्तन गर्न चाहेर पनि कुनै परिवर्तन गर्न
सक्दैन । यस्तै घटनालाई देखाउन खोजिएको छ, नेपाली चलचित्र ‘थ्री लभर्स’मा ।
यही मंसिर १ र २ गते इजरायलमा च्यारिटी शोमार्फत सुरूवात गरिएको चलचित्र ‘थ्री लभर्स’ नेपालमा भने मंसिर २२ गतेबाट मात्र प्रदर्शनमा आएको छ । अझ चितवनमा भने २३ गते मात्र प्रदर्शनमा ल्याइयो । सुरूवाती व्यापार राम्रै गरेको चलचित्रले हालसम्म मध्यम व्यापार गरेको र लगानी पनि लगभग असुल गरिसकेको भनाइ चलचित्रका निर्देशक सुरेश दर्पण पोखरेलले बताएका छन् ।
फेसन शोबाट चलचित्रको कथावस्तु सुरू गरिएकोे चलचित्रमा नायिका प्रियंका कार्की (दिया) एउटा चर्चित मोडलका रुपमा प्रस्तुत भएकी छन् । उनका हजारौँ फ्यानहरु हुन्छन् । त्यसैमा उनलाई चाहने देबु श्रेष्ठ (देव) पनि एक हुन्छ । उसको पृष्ठभूमि एउटा डनको भूमिकामा देखाइन्छ, जसले उद्योगपति तथा व्यापारीहरुसँग हप्ता–असुल गर्ने काम गर्दछ । उसले दियालाई असाध्यै मन पराएको हुन्छ र थाहा नपाउने तरिकाले फूलका बुकेहरु दियाको घरमा निरन्तर रुपमा पठाइरहन्छ । देवको यो हर्कतले दिया एकदम रिसाएकी हुन्छिन् । दियाको सुःख–दुखमा साथ दिनका लागि दियाको सानैदेखिकी साथी पूजा शर्मा (इशा) पनि साथमा हुन्छिन् ।
दियाको बुबा र आमा इशालाई सानै उमेरमा छोडेर बेल्जियम गएका हुन्छन् । कुनै पनि घटना घट्नुभन्दा अगाडि सपनामा घटनाका बारेमा थाहा पाउने शक्ति दियामा हुन्छ । सोही सपनाका कारण र ज्योतिषीको भनाइअनुसार उनका अभिभावक उनीसँग २२ वर्षको नहुने बेलासम्म छुट्टिन बाध्य हुन्छन् ।
दियाले सपनामा आफ्नो सपनाको राजकुमारलाई भेट्ने तर पहिचान गर्न नपाएको अवस्था पार गर्दै उनले एक रात आफ्नो सपनाको राजकुमारको मुहार हेर्न पाउँछिन् र यो कुरा साथी इशासँग भन्दै निकै खुसीका साथ आफ्नो काममा निस्किन्छिन् । नभन्दै उनको भेट एनआरएन नीरज बराल (आदित्य) सँग हुन्छ । दियाले त आदित्यलाई मन नपराउने कुरै भएन, उनको सपनाको राजकुमार नै हुन्
आदित्य । आदित्यको पनि बाजी परेको हुन्छ दियालाई आफ्नी प्रेमिका बनाउन तर आदित्यले पनि दियालाई साँचो माया गर्न पुग्छ । विभिन्न घटनाक्रमसँगै उनीहरुको प्रेम प्रगाढ बन्दै जान्छ । उनीहरुको विवाह हुने कुरा पक्का भइसकेको अवस्थामा अचानक दियाले एउटा भयानक सपना देख्छिन् । उनको सपना सधैँ साँचो भएको कारणबाट दिया एकदमै डराएकी हुन्छिन् । त्यो सपना के थियो ? र त्यसपछि चलचित्रले कस्तो मोड लियो भनेर थाहा पाउनका लागि तपाईंले चलचित्र ‘थ्री लभर्स’ हेर्नलाई सिनेमा हलसम्म धाउनै पर्ने हुन्छ ।
सबल पक्ष ः चलचित्रको निर्माणमा एकदमै होसियारी अपनाइएको छ । कथावस्तु समग्रमा राम्रो छ । निर्माण पक्ष, सङ्गीत तथा कोरियोग्राफी एकदमै राम्रो
छ । साथै, प्रियंका कार्कीले आफ्नो भूमिकालाई न्याय गरेकी छन् । त्यसो त, नवकलाकारहरु नीरज बराल र देबु श्रेष्ठले पनि नराम्रो गरे भन्न खोजेको होइन । यी कलाकारहरुले गरेको प्रदर्शन निकै राम्रो छ ।
कमजोर पक्ष ः चलचित्र निर्देशक सुरेश दर्पण पोखरेलबाट दर्शकले जुन किसिमको चलचित्रको अपेक्षा गरेका थिए, त्यो पूरा हुन नसकेको जस्तो लाग्छ । चलचित्रका केही दृश्यहरु एकदमै छिटो छायांकन गरिएकाले दर्शकलाई बुझ्न अलि कठिन परेको छ । चलचित्रको नाम र कथावस्तुमा फरक अनुभूति
हुन्छ । परम्परावादी सोचलाई चलचित्रमा प्रश्रय दिन खोजिएको
छ । चलचित्र नायक दिलीप रायमाझीलाई थोरै भूमिकामा देखाउनुको कारण के हो भनेर बुझ्न सकिएको छैन ।
सन्देश ः ‘लेखेको मात्र पाइन्छ, देखेको पाइँदैन’ भन्ने कुरा चलचित्रमा प्रस्ट रुपमा देख्न
पाइन्छ । तपाईंले कसैलाई उसको रुप र चर्चा हेरेर होइन कि भावना बुझेर माया गर्नुभयो भने त्यो सफल हुन्छ । अनि कुनै पनि सकारात्मक उद्देश्य राखेर काम गर्नुभएको छ भने त्यो अवश्य पनि पूरा हुन्छ ।
निष्कर्ष ः पैसा र दादागिरीको भरमा माया पाइँदैन, यसमा त दुई मुटुको मिलन हुनुपर्दछ ।

www.echitwanpost.net

No comments

@lonely_aananda. Powered by Blogger.