रुसेकको सहयोगले बघौडाबासीको जीवनस्तर उकासिदै


आनन्द पोखरेल ।

माडी । लगाव दिएर गरे आखिर के नै असम्भव हुन्छ र ? यस कुराको उदाहरण बनेका छन् चितवन जिल्लाको अति विकट माडी क्षेत्रका किसानहरु । माडीको बगौैडा गा.वि.स. वडा नं. ८ ब्रह्मपुरीका किसानहरुले बाख्रा पालन मार्फत आफ्नो जिवन उकास्दै छन् । यस ठाउको जनतालाई सहयोग गरेकोछ गैर सरकारी संस्था रुसेक चितवनले ।
सरकारबाट आशा गरे अनुसारको सहयोग नपाएका माडीका जनतालाई रुसेकले हेफर ईन्टरनेशनलको सहकार्यमा समूह बनाएर सुरूमा ३२३ वटा बाख्रा र ६ वटा व्याडे बोका उपहार दिएको कुरा रुसेक चितवनका अध्यक्ष रविकिरण पौडेलले बताउनुभयो । हाल एउटा मूल समुह र त्यसको १८ वटा सहायक समूहमा काम भईरहेको कुरा त्यहाँका सामुदायिक सहजकर्ता तथा सामुदायिक पशु स्वास्थ्य कार्यकर्ता बालकृष्ण लामिछानेले बताउनुभयो ।
रुसेकले गरेको सहयोगबाट त्यहाँको महिलाहरुको सामाजिक सम्बन्ध पनि प्रगाढ बन्दै गएको छ । साथै खाने पानीको ईनार, स्वास्थ्य तथा सरसफाई सम्बन्धी कार्यक्रम मार्फत् गाउँलाई सफा र स्वच्छ राख्न रुसेकले ठूलै सहयोग गरेको छ ।
रुसेक चितवनले हेफर ईन्टरनेशनलसँगको साझेदारीमा सञ्चालन गरेको २ वर्ष ६ महिनाको परियोजना ‘बघौडा सामुदायिक विकास परियोजना’ समापनको अवसरमा माडी क्षेत्रमा रुसेकले खेलेको भुमीकाको स्थानिय वासिन्दाले खुलेरै प्रशंशा गरेका थिए । सो परियोजना समापनको अवसरमा महिलाहरुले १८ समूहलाई परिचालन गर्दै एउटा सहकारी गठन गरेको पनि बताएकाछन् । ‘दिगोपन सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड’ गठन गरेर स्थानिय महिलाहरुले गाउँको सानो पुँजीलाई एकत्रित गर्दै व्यवसाय, सामाजिक कार्यका साथै आकस्मिक आइ पर्ने कामको लागि व्याजमा ऋण दिँदै आएको कुरा सहकारीकी व्यवस्थापक शोभा भुषालले जानकारी दिनुभयो । उहाँले उगाडि भन्नुभयो, ‘अहिले हाम्रो सहकारीमा १४२ जना सेयर सदस्य ३ जना सल्लाहकार हुनुहुन्छ भने सहकारीले छ महिनाको अवधिमा ८ लाख ७३ हजार ३ सय रुपैयाँ आम्दानी गर्न सफल भएको छ ।’
रुसेकले त्यहाँको किसानलाई दिएको बाख्राबाट स्थानिय बासीन्दाले मनग्य लाभ लिन सफल भएका छन् । बाख्रा मात्र नभएर डाले घाँसको बिऊ, बेला बेलामा बाख्राको लागि औषधीको समेत व्यवस्था गरेको र परियोजना समाप्त भएपनि आफुहरुले सहकारी मार्फत् गाउँमा सहयोग जारी राखीरहने रुसेक चितवनका अध्यक्ष रविकिरण पौडेलले बताउनुभयो ।
रुसेकको सहयोगमा बाख्रा पाल्न सुरु गर्नुभएका स्थानिय किसान चन्द्रबहादुर बि.क.का अनुसार उहाँले यस वर्षमात्रै बाख्रा तथा खसी–बोका बेचेर रू.५० हजार आम्दानी गर्नुभएको छ । उहाँ अगाडि थप्नुहुन्छ, ‘मैले पहिला आरन पेशा गर्दा छाक टार्न समेत मुस्किल हुने गथ्र्यो भने अहिले त राम्रो आम्दानी गरेको छु मसँग अहिले बाख्राका पाठा–पाठी सहित जम्मा १३ बटा बाख्रा रहेका छन् । मसँग भएको ५ कठ्ठा बारीमा डाले घाँस रोपेकोछु यतिले बाख्रालाई पर्याप्त मात्रामा घाँस पुगेको छ ल हेर्नुस् मेरो बाख्रा पनि स्वस्थ छन् ।’

1 comment

Anonymous said...

Nice

@lonely_aananda. Powered by Blogger.