आयो बेला लिंगेपिँङ र रोटेपिँङको

                                सन्दर्भ दशैँ
-आनन्द पोखरेल

नेपालीहरुको महान् चाड दसैँ नजिकिँदै छ । केटाकेटीहरु नयाँ नाना र मीठो खान पाइने आशामा फुरूङ्ग भएका छन् । उनीहरु औँला गन्दै दसैँ आउने दिन गनेर बसिरहेका
छन् । कहिले स्कुल छुट्टी होला भनिरहेका छन् ।
यतिबेला कसैलाई दसैँखर्चको व्यवस्था गर्न दौडधूप छ । कसैले दसैँखर्च छुट्याइसकेका छन् । कोही ऋण बोकाउन फेरि आयो दसैँ भनिरहेका छन् । कोही दसैँलाई दशा मानेर चुपचाप बसिरहेका छन् ।
बजारतिर भीडभाड देखिन थालेको छ । व्यापारीहरु यसपटकको दसैँमा कति व्यापार होला भनेर अनुमान गरिरहेका छन् । रेडियो र टेलिभिजनमा मंगलमय मालश्री धुन गुञ्जने दिन आउँदै छ । जमरा राख्ने दिन पनि मुखमा आइसक्यो । अब त आँगनीको डिलमा रोपिएका मखमली र सयपत्री फूलको पनि कोपिला लाग्ने बेला हुन थाल्यो ।
‘दसैँ आयो
खाऊँला पिऊँला
कहाँ पाऊँला
चोरी ल्याऊँला
धत्त पापी म त छुट्टै बसूँला !’
दशैँको जमरा
कान्छीदेखि बूढीऔँलासम्म पालैपालो औँला भाँचेर भन्ने यो उक्ति केटाकेटीदेखि वृद्धवृद्धाको मुखमा झुन्डिएको छ । दसैँ नजिकिँदै गर्दा सबैलाई यो उक्तिको सम्झना गराउँछ । जतिपटक सुने पनि बासी लाग्दैन यो उक्ति । मीठो खाने, राम्रो लाउने, इष्टमित्र र परिवारमा भेटघाट गर्ने, ठूलाबडाको हातबाट आशीर्वाद लिने र पिङ खेल्ने दसैँको विशेषता नै हो ।
दशैँको पिँङमा रमाईलो गर्दै
जोकोही मानिस पिङमा मच्चिएपछि मुखबाट फ्वात्त फुत्किने शब्द हो– ‘चचहै–चचहै’ । दसैँ नजिकिँदै गर्दा पिङ हाल्ने सुरसार गर्दैछन् टोलका युवाहरु । दसैँको पिङ भनेपछि सबै हुरूक्कै हुन्छन् । दसैँको समयमा त पिङ खेलेर एक पटक धर्ती छोड्नुपर्छ भन्ने मान्यता पनि छ । भनिन्छ– दसैँमा पनि नखेलेको पिङ अघिपछि के खेलिन्छ र !
सहरबजार साँघुरो बन्दै गएका छन् । घरहरु निर्माणको क्रमले खाली जमिन त्यति देखिँदैन । कतै रहेका खाली जमिन पनि प्लटिङमा परिवर्तन भएका छन् । त्यसकारण पनि सहरबजारमा कमै देखिन्छन् पिङ । गाउँघरमा भने यसको मह¤व बेग्लै छ । साउदी गएको बिर्खे होस् या भारतबाट आएको हर्के होस्, अथवा सहरमा पढ्न बसेकी रमिता होस् या बिट्रिस लाहुरे राकेश– सबै जना गाउँ आएर दसैँको पिङ मच्चाउँदा त छुट्टै रौनक देखिन्छ । यस्तो देख्दा दलिनमा टुक्रुक्क बसेका वृद्धवृद्धाहरु पनि आफ्नो बैँसको दिनलाई सम्झन्छन् । 
भरतपुुर–१० मा बसेका पर्वतका विनोद भट्टराई यस वर्षको दसैँ मान्न आफ्नो घर पर्वत जाँदैछन् । पिङ भनेपछि उनी पनि हुरूक्कै हुन्छन् । ‘यस वर्षको दसैँ रमाइलो हुन्छ, घर गएर पिङ खेलेर दसैँ मनाउने हो’– उनले भने । ‘गाउँका साथीहरुलाई बाँसको ठूलो पिङ हाल्न भनिसकेको छु, विदेश गएका सबै पुराना साथीहरु आइसकेका छन्, मलाई त कतिखेर मेरो गाउँ पुगौँलाजस्तो भएको छ’, उनले थपे, ‘उता चारैतिर चचहै–चचहै हुने बेला भयो !’
वृन्दावनमा चराले गीत गाइरहेको बेला भगवान् कृष्ण पनि पिङ मच्चाइरहेका हुन्थे रे ! धार्मिक ग्रन्थअनुसार कृष्ण गाई चराउँदा पिङमा राधासँग मस्त हुन्थे रे ! पिङमै कृष्णको साथमा राधा पनि लुटुपुटु हुन्थिन् रे ! कृष्णराधा दिनभर पिङ मच्चाउँथे रे ! पिङको इतिहास खोज्दै जाने हो भने भगवान् कृष्णको पालासम्म पुग्नुपर्ने रहेछ । उनको पालाभन्दा अझ अगाडिबाट पिङको विकास भएको पाइयो । भगवान् कृष्णको पालादेखि नै पिङको मह¤व बढ्दै गएको हो ।
दसैँ मुखमै आइसक्यो । ठूलादेखि साना बालबालिकासम्म सबैले पिङ मच्चाउन थालिसके । बढीमात्रामा केटाकेटी पिङ खेल्न मरिहत्ते गर्छन् । अभिभावकले छोराछोरीलाई उमेरअनुसारको पिङ हाल्छन् । पिङको रस बसेपछि केटाकेटीहरु दसैँका मीठा परिकार खानसमेत भुल्छन् ।
दसैँमा हालेको पिङ तिहारसम्म राखिन्छ । दसैँमा राखिने पिङ मनोरञ्जन र रमाइलोको साधन बनेको छ । गाउँघरतिर पीपल, बकैनालगायतका रुखमा, घरको पालीमा पनि पिङ हाल्ने चलन छ । एउटै ठूलो पीपलको रुखमा ६÷७ वटा पिङ हालेको पनि देखिन्छ ।
पालीमा हालेको सानो पिङ मच्चाउँदा केटाकेटीहरु ‘खुट्टाले दलिन छुनै आँट्यो’ भन्दै खूब रमाउँछन् । वैज्ञानिक भनाइअनुसार दसैँमा धेरै खाने भएकाले पनि पाचनशक्तिको लागि पिङ खेल्ने चलन सुरू भएको हो । दसैँमा टन्न खाएको चीजलाई सजिलैसँग पचाउन पिङ खेल्नुपर्छ । यसबाहेक आफ्नो संस्कृति जोगाउन पनि त पिङ खेल्नुप¥यो नि !
‘दसैँमा टन्न खाइन्छ, खूबसँग लिंगेपिङ मच्चाइन्छ’– शुक्रनगर–९ का विष्णु कँडेलले भने, ‘जवानीमा पिङ नै फर्कने गरी मच्चाइयो तर अहिले पहिलेको जस्तो मच्चाउन सकिँदैन, तैपनि अरुलाई डर लाग्ने गरी मच्चाउन सक्छु ।’ दसैँमा पिङ खेल्न पश्चिम चितवनका विभिन्न ठाउँमा पुग्छन कँडेल । उनी भन्छन्– ‘पिङ भनेपछि नखेली मनै मान्दैन, मैले पिङ मच्चाउँदा कति मानिस त डरले थररर काँप्छन्, यसपटक पनि हाल्ने हो गाउँमा पिङ ।’
गीतानगरका शिक्षक यज्ञप्रसाद सापकोटाले पहिलेको तुलनामा अहिले कम मात्रामा पिङ बनेको बताउँछन् । ‘पहिले प्रत्येक गाउँमा तीन÷चारवटा पिङ हुन्थे, गाउँका मानिस खेल्नको लागि भीड लाग्थ्यो तर अहिले झगडा र हानाहान हुन्छ भनेर भीडतिर मान्छे जान डराउँछन्’– चापागाईंले भने, ‘पिङको संस्कृति कताकता मेटिँदै गएको महुसुस भएको छ ।’ अहिले कतैकतै मात्र पिङ हालेको देखिन्छ । यसलाई संरक्षण गर्न टोलमा रहेका सामाजिक क्लबहरु, टोलसुधार समितिहरु लाग्नुपर्छ नत्र हामीपछिका पुस्ताले ‘एकादेशमा पिङ थियो रे, दसैँमा खूब खेल्थे रे भन्ने अवस्था आउन सक्छ’, सापकोटाले थपे, ‘यो दसैँको संस्कृति मेटिन हुँदैन ।’
परम्परागत रुपमा पिङ लिंगे, रोटे, जाँते र लथारे गरी चार प्रकारका भेटिन्छ । हाम्रो यस भेगमा लिंगेपिङ बढी हालिन्छ । सबैभन्दा प्रख्यात हो लिंगेपिङ । यो पिङ अरुभन्दा बनाउन सजिलो हुन्छ । यसको डोरी बाबियो, सुतरीबाट बनाइन्छ । चारवटा बाँस गाडेर दुई जोडी बनाएर डोरी बाँधेपछि लिंगेपिङ बन्छ ।
काठबाट बनाइने रोटेपिङ गोलो आकारमा घुम्छ । जाँतेपिङ पनि काठबाट बनेको हुन्छ । विभिन्न रुखहरुमा डोरी बाँधेर बनाइएको पिङलाई लथारेपिङ भनिन्छ । केटाकेटीको लागि यो पिङ साह्रै उपयुक्त हुन्छ ।
प्रत्येक वर्षझैँ यस वर्ष पनि गीतानगरकै अजिता भण्डारीले आफ्नो घरमै पिङ हाल्ने विचार गरेकी छन् । ‘स्कुल बिदा भएपछि त खूब पिङ खेल्ने हो, गाउँका दाइहरुले घरनजिकै पिङ हाल्ने भनेका छन्’– उनले भनिन् । ‘पिङ हालेपछि चहलपहल छुट्टै हुन्छ । रौनक बेग्लै हुन्छ, दसैँ आएको अनुभव हुन्छ’, अजिताले थपिन् । 
कतैकतै त्यही रमाइलो पिङ झगडाको प्रमुख कारण बन्न सक्छ । हिजोआज कतकतै दसैँको पिङ खेल्ने ठाउँमा झगडा गर्ने, राति मादक पदार्थ खाने, केटी जिस्काउने ठाउँको रुपमा पनि विकास हुँदैछ । पिङ भएपछि खेल्नको लागि विभिन्न ठाउँबाट उच्छृंखल युवाहरु जम्मा हुन्छन् । सानो कुरामा त्यतिबेला झगडा, कुटाकुट र हत्याका घटना पनि हुन सक्छन्, यसतर्फ टोलवासी सतर्क रहन पनि जरूरी छ  ।

No comments

@lonely_aananda. Powered by Blogger.