मेरो अनुभूतिमा दसैँ
आनन्द पोखरेल
साँच्चै नै
हाम्रो नेपाली समाज विभिन्न खालका संस्कृति र चाडपर्वले धनी छ । नेपाल एउटा सानो
देश भएर पनि यहाँ विभिन्न खाले धर्म, संस्कृति मान्ने समुदायको संख्या उल्लेख्य भेटिन्छ । यहाँ जतिसुकै फरक र
छुट्टै संस्कृति मनाउनेको जमात भए पनि सम्पूर्ण नेपालीमा भाइचाराको सम्बन्ध राख्न
हामी नेपालीहरु माहिर छौँ, अर्थात् सामाजिक
मेलमिलाप खलबल हुन दिएका छैनौँ ।
केही समयअगाडि
मात्रै मुस्लिमहरुको महान् चाड इद सकिएको छ भने थारु समुदायको जितिया पर्व,
अनि अहिले सुरूवात भएको छ नवरात्रिको, अर्थात् हिन्दूहरुको महान् चाड विजयादशमी । यो
पर्व हिन्दूहरुको मात्र नभएर अहिले सम्पूर्ण नेपालीको साझा पर्व हुन पुगेको छ । के
हिन्दू, के बौद्ध ! यो त सम्पूर्ण
नेपालीको महान् पर्व हो भन्दा पनि अत्युक्ति नहोला ।
यो बेलामा देश
तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरु आफ्नो घर फर्कने गर्दछन् । यो पर्वले एउटा
छुट्टै इतिहास बोकेको छ । माता दुर्गा भवानीले दानवहरुलाई पराजय गरेको खुसीयालीमा
यो पर्व मनाइने गरेको तथ्य विभिन्न धर्मग्रन्थहरुमा उल्लेख गरेको पाइन्छ । तर जे
होस्, यो पर्वले हामीमाझ
खुसीयाली छाउने काम गर्दछ भने हामी आफूभन्दा ठूला आफ्ना मान्यजन तथा आफन्तको
घरघरमा टीका थाप्न
जाने गर्दछौँ ।
यतिमात्रै नभएर
रमाइलो गर्नका लागि सम्पूर्ण साथीभाइ जम्मा हुने र चोकचोकमा दसैँका पिङहरु हाल्ने
परिपाटी पनि हाम्रो रहेको छ । अझै दसैँको टीकाको दिनमा त एक दिन भुइँ छोड्नुपर्छ
भन्ने मान्यताले पनि चोकचोकमा क्षमताअनुसार भौगोलिकता सुहाउने खालको पिङ राख्ने
गरिन्छ– कतै लिंगे पिङ त, कतै रोटे पिङ । आफ्नो घर पायक पर्ने ठाउँमा पिङ
नभएमा मानिसहरु टाढा–टाढा पनि पिङ
खेल्न जाने गरेकाले पनि यो पर्वमा पिङको मह¤व ज्यादै नै ठूलो रहेको
देखिन्छ ।
तर जति चाडपर्वको
रमाइलो बढ्दै जाने गर्दछ, त्यति नै धमिलो
पानीमा माछा मार्नेहरु पनि सलबलाउन थाल्दछन् । चाहे त्यो सामानमा कालोबजारी गरेर
होस्, या त यात्रुहरुलाई
यातायातको साधनमा मनपरी भाडा असुलेर नै किन नहोस् । समाजमा अशान्ति मच्चाउन
खोज्नेहरु पनि यो समयमा अलि बढी सक्रिय हुने गरेको तथ्य हामीमाझ रहेको छ ।
यतिबेला गनिएका
ठूलाबडा पसलका साहूजीहरुले आफूसँग रहेको सामान लुकाएर कृत्रिम अभाव सिर्जना गर्दै
सामान नभएको ढ्वाङ फुक्दछन् अनि लुकाइछिपाइ महँगोमा सामान बेच्ने गरेको घटना कुनै
नौलो होइन । प्रायः यस्ता घटनाहरु चाडपर्वका बेलामा बढी नै हुने गरेको छ ।
सरकारको अनुगमन
पनि साह्रै नै फितलो भएको जनगुनासो सुन्नमा आउँछ । बजारमा अनुगमन गर्न जाने टोलीले
न त खाद्यान्नमा मिति गुज्रिएको सामान बेचेको भेट्टाउन सक्छ, न त गुणस्तरहीन सामान बेचेको नै । कारण,
बजारमा अनुगमन गर्न जानुभन्दा धेरै समयअगाडि नै
ढ्वाङ बजाएर भन्ने गरिन्छ, अब सरकारले
नारायणगढ बजारमा अनुगमन गर्दैछ वा रत्ननगर अथवा कावासोतीमा नै किन नहोस् । यसरी
अनुगमन गर्नुभन्दा अगाडि नै हल्ला फिँजाएर गरिएको अनुगमन पनि प्रभावकारी होला त ?
कि सरकार र व्यापारीबीच कुनै साँठगाँठ त छैन ?
यदि होइन भने सरकार र व्यापारीबीच तँ कुटेझैँ
गर, म रोएझैँ गर्छुको नाटक
किन त फेरि ?
सरकारले मासु
पसलमा अनुगमन ग¥यो भन्ने सुनिन्छ
तर हात लायो शून्य । मतलब, त्यहाँ कुनै
किसिमको गलत काम गरेको पाइएन रे ! जहाँ खसीको टाउको झुन्डाएर बाख्रीको मासु
बेचिएको हुन्छ, त्यहाँ अनुगमनमा
त्यस्तो भेटिँदैन । भेटिए पनि अब यस्तो नगर्नुस् भनेर हिँडिन्छ । के यसरी अनुगमन
गर्दा प्रभावकारी होला त ?
हामीले सुन्ने
गरेका छौँ, अथवा पढ्ने गरेका छौँ कि
नगरपालिकाले पसल अनुगमन ग¥यो । जिल्ला
प्रशासन कार्यालयले खाद्य अनुगमन ग¥यो, उपलब्धि शून्यजस्तै छ । म्याद गुज्रेको चाउचाउ,
फ्रुटी, पेप्सी, स्टिम चाउमिन
थोरै मात्र भेट्टाइन्छ, त्यो पनि औँलामा
गन्न मिल्ने गरी । दाल, चामल, तेललगायतका दैनिक उपभोग्य वस्तुमा चाहिँ अनुगमन
गरिँदैन कि क्या हो ? होइन भने म्याद
गुज्रेको तेल, ढुङ्गा मिसिएको
चामल, पोलिस गरेर बेचेको
कुहिएको दाल, खोइ त भेट्टाएको ?
उपभोक्ताले उपभोग गर्ने बेलामा यस्ता सामानहरु
सजिलै भेट्टाउने तर अनुगमन टोलीले अनुगमन गर्दा नभेट्टाउनुले पनि अनुगमन टोलीका
कर्मचारीहरुको नियत प्रस्ट हुन्छ ।
लामो दूरीको
यात्राको बेलामा पनि यात्रुले धेरै नै सास्ती पाउने गरेका छन् । घर जानको लागि
बसको टिकट नपाएर यात्रुहरु अलपत्र परिरहेको सुन्नमा आउने गर्दछ, अनि टिकट पाइहाले पनि दुई गुणा महँगो भाडा
तिर्न बाध्य हुनुपर्दछ यात्रुहरु । के गर्नु, भाडा जति महँगो भए पनि वर्षमा एक पटक आउने पर्व हो, घरमा त जानै प¥यो नि भन्ने यात्रुहरुको गुनासो हुने गर्दछ । खै त, यसरी टिकटको बढी मूल्य लिएर बेच्नेलाई कारबाही
भएको ? अनि अर्को समस्या छ,
विद्यार्थीहरुलाई यो चाडबाडको बेलामा ।
उनीहरुले आफ्नो विद्यार्थी परिचयपत्रको आधारमा बसमा यात्रा गर्दा विद्यार्थी
सहुलियत पाउँदैनन् । के चाडबाडको बेलामा विद्यार्थीहरु विद्यार्थी हुँदैनन् र ?
के चाडपर्व अनि सार्वजनिक बिदाको दिनमा
विद्यार्थीलाई यात्रा गर्नुपर्दैन र ? यसमा खोइ त सम्बन्धित पक्षको ध्यान जान
सकेको ?
समाजमा विभिन्न
खालका विकृति र विसंगतिले प्रश्रय पाउने बेला भनेको चाडपर्व नै हो । यसबाट हामी
टाढा रहेर आफ्नो सांस्कृतिक पर्वमा दाग लाग्न दिनुहुँदैन । सबैसँग भाइचाराको
सम्बन्ध कायम गरेर चाडपर्वहरु मनाउन सकेमा सामाजिक मान, मर्यादा पनि कायम हुन्छ र समाजमा कुनै प्रकारका विकृतिले
डेरा जमाउन सक्ने थिएन । नजिकिँदै गरेको बडादसैँको सुअवसरमा सम्पूर्ण नेपालीहरुमा
मङ्गलमय शुभकामनासहितका पुष्पगुच्छाहरु टक्राउँछु ।
Leave a Comment