प्रविधीको विकास सँगै परिवर्तीत नयाँ वर्ष


भरखरै हामीमाझबाट नेपाली नयाँ वर्षले बिदा लिएर गएको छ । साँच्चै नै नयाँ वर्ष नयाँ तामझमका साथ मनाउन हामी सबैजना लागि पर्ने गरेका छौँ । अझै अहिले त नयाँ वर्षमा विदेशी संस्कृतिको प्रभाव बढ्दो छ । कन्सर्ट गर्ने, पार्टी गर्ने अनि जुवा तास खेलेर नयाँ वर्षलाई स्वागत गर्ने परम्परा नै भइसकेको छ, हामी नेपालीहरुको ।
हामीले जानेर होस् अथवा लहैलहैमा जसरी भएपनि नयाँ वर्षलाई नयाँ तरिकाबाट नै मनाउने प्रयासमा जुटिरहेका छौँ । नयाँ वर्षको बेला पारेर घुम्नको लागि यसो कतै पार्क, नदी किनार, तथा एकान्तमा जता गए पनि नव जोडिहरु भेटिइहाल्छन् । कतै नयाँ वर्षले विकृती त भित्राउँदै छैन ? यो सोँचनिय कुरा बनेको छ ।
स्कुल पढ्ने बेलासम्म इमेल र इन्टरनेट प्रति खासै झुकाव नभएको म । त्यतिबेला मेरो नयाँ वर्ष मनाउने तरिका र अहिलेको नयाँ वर्ष मनाउने तरिकामा ठुलै परिवर्तन भएको पाउँछु । कुरा जम्मा छ÷सात वर्षको फरक मात्रैको त हो । तर के गर्नु सुचना र प्रविधीले यति ठुलो फड्को मारिसक्यो कि ! कतै सपना त होइन भन्ने लाग्छ, अहिले ति दिनहरु सम्झिदा ।
साँच्चै कुनै बेला पुस्तक पसल तथा नजिकको गिफ्ट पसलमा गएर नयाँ वर्षको लागि ‘ग्रेटिङ कार्ड’ पनि नकिनेको होइन । अफ्ठ्यारो मानेरै भएपनि त्यो कार्डमा आफ्ना शुभकामनाका सन्देशहरु लेखेर आफ्नो साथीभाइ तथा मन पर्ने मानिसलाई दिएको यादहरु अहिले पनि ताजा नै छन् यो मनस्पटलमा । साँच्चै त्यो बेलामा कति सरल लाग्दथ्यो यसरी शुभकामनाका सन्देशहरु आदान प्रदान गर्न । अनि आफ्नै तरिकाले नेपाली मौलिकतामा आधारित भएर मनाइने गर्दथ्यौँ नयाँ वर्ष । बिहान सबेरै उठ्यो नुहाएपछि घरमा मम्मीले बनाउनुभएको मिठो खाने कुरा खायो, अनि राता अक्षता निधारमा टल्काउदै शुभाशिष लियो बुवा र मम्मीको । त्यसपछि रमाइलो गर्नको लागि साथीहरुसँग वनभोज गयो ।
साँच्चै समय कति परिवर्तशिल छ । समयको गतिले मान्छेलाई कति सौखिन र अल्छि पनि बनाएको छ । स्कूलको अध्ययन पूरा भएपछि आफ्नो अध्ययनलाई निरन्तरता दिनको लागि क्याम्पस जाने दिन पनि आए । जब छ वर्ष क्याम्पसमा जान थालेको थिएँ, मोवाइलको बारेमा हल्का चर्चा हुन थाल्यो । त्यो बेलामा नेपाल टेलिकमको मोवाइल लिनलाई यतिको सजिलो कहाँ थियो र ? महिनौँ कुर्नु पथ्र्यो एउटा सिमकार्ड लिनको लागि । त्यसै समयमा भाग्यवश नै भन्नु पर्छ निजी क्षेत्रको टेलिकम्युनिकेशन सेवा प्रदान गर्नको लागि तत्कालिन मेरो मोवाइलको प्रादुर्भाव भयो र नेपाल टेलिकमको एकाधिकार माथि धावा बोल्यो । भरखरै क्याम्पस पढ्न सुरु गरेको अनि नयाँ प्रविधी त्यो पनि बिना कठिनाइ चलाउन पाइने भएपछि म जस्ता युवाहरु त्यही निजी क्षेत्रको मोवाइल तर्फ आकर्षित भएका थिए । फेरि सेवा र सुविधा पनि धेरै नै थिए त्यो समयमा ।
मोवाइलको सुरुवातसँगै नयाँ वर्ष मनाउने परिपाटीमा परिवर्तन देखिन थाल्यो । मोवाइल सेवा लिन थालेपछि त पहिलेको जस्तो कसले झन्झट गरिराखोस् ‘ग्रेटिङ कार्ड’ किन्नलाई ? मोवाइलबाटै म्यासेज लेख्यो पठायो जो–जसलाई पठाउन मन लागेको छ । न त कार्ड रोज्ने नै झन्झट न त लामो भिड पन्छाउदै पालो कुर्नुपर्ने टन्टो । साथीलाई हुलाकी बनाईराख्नुपर्ने अवस्थाको पनि अन्त्य भयो । आफुलाई मन लागेको कुराहरु मोवाइलबाटै म्यासेज मै लेख्यो पठायो । आहा ! कति सजिलो यो प्रविधीको विकासले । मन यतिकै प्रफुल्लित हुने ।
हिजो आज इन्टरनेट सेवाको यति दु्रततर विकास भइराखेको छ कि । यसबाट विरलै बन्चित होलान् । त्यसमा पनि सामाजिक सञ्जाल नचलाउने मान्छे त झन् दिन प्रतिदिन बढ्दै गइरहेको अवस्था छ । त्यसबाट म पनि अछुतो हुन सकिन । के गर्नु प्रविधीले मारेको फड्कोलाई अनुशरण गर्नै प¥यो यदि यस्तो गर्न सकिएन भने पछि परिदो रहेछ । म पनि फेसबुक, याहु तथा गुगल प्लस जस्ता सामाजिक सञ्जालसँग नजिकिएको छु । चाहे आफन्तहरुसँग नजिकिने बाहानाले होस् वा फुर्सदको समयलाई सदुपयोग गर्न होस् । दैनिक दुई÷चार घण्टा त इन्टरनेटमा नै बिताएको हुन्छु ।
पोहोर साल र त्यस भन्दा पहिलाको जस्तो रहेन मेरो नयाँ वर्ष यो २०७० सालमा । पहिलेको जस्तो ‘ग्रेटिङ कार्ड’ र मोवाइलको म्यासजमा आउने शुभकामनामा सिमित रहेन मेरो यो नयाँ वर्ष । सधैँ त नयाँ वर्षको रातीबाट मोवाइलमा म्यासेजको ओइरो नै लाग्ने गर्दथ्यो । तर यस वर्ष भने त्यस्तो भएन म पिडाले छटपटिन थालेँ कतै मेरो मोवाइल त बिग्रिएन ? अनि बेलाबेलामा फोन पनि चेक गर्ने गर्थेँ तर मोवाइललाई केहि भएको थिएन । फाट्ट फुट् एक दुईटा म्यासेज आएपछि म ढुक्क भएँ मोवाइलमा कुनै समस्या रहेनछ भनेर । तर किन शुभकामना सन्देश नआएको होला ? म बिचार गर्न बाध्य भएँ । अनि मैले केही साथीहरुलाई मोवाइको म्यासेजबटै शुभकामना पठाएँ ।
काम विशेषले दुई/तीन दिन सामाजिक सञ्जालको पहुँच भन्दा बाहिर बस्नु परेको पिडा थियो म मा अनि नयाँ वर्षको शुभकामना सन्देश साथीहरुले किन पठाएनन् भन्ने अर्को पिडा थपियो । कतै साथीहरु म सँग रिसाउन त रिसाएनन् ? भन्ने अर्को कुरा पनि मनमा खेल्न थाल्यो । यस्तैमा वैशाखको १ गते बेलुकीबाट नेट चल्न थाल्यो मनमा केही भए पनि खुसी थपियो । त्यसपछि खोल्न थालेँ सामाजिक सञ्जालमा भएको आफ्नो खाताहरु । फेसबुकको खाताको गृह पृष्ठ के खुलेको थियो त्यहाँ मैले म्यासेज र नोटिफिकेशनमा सेतो अक्षरलाई रातो मसीले हाइलाईट गरेको ठुलै अङ्क पो देख्छु । कहिल्यै एकै पटकमा यति धेरै म्यासेजहरु पाएको थिईन मैले फेसबुक लगाएतका अन्य सामाजिक सञ्जालहरुमा । म फेरि एक पटक अकमकिन थालेँ, कतै यो सपना त होइन ? यतिकैमा बाहिरबाट कसैले “आनन्द” भनेर बोलाएको शब्दले म झसँग हुदै बाहिर निस्किएँ यो सपना नभएर विपना नै रहेछ भन्ने यकिन गरेपछि म पुनः आफ्ना म्यासेज बक्स र नोटिफिकेसनहरु केलाउन थालेँ । यति धेरै म्यासेज थिए की पढ्नलाई झण्डै झण्डै एक घण्टा नै लाग्यो । त्यसपछि त्यसको उत्तर पठाउन थालेँ, गुगलबाट ‘न्यु इएर म्यासेज विथ कार्ड’ सर्च गर्दै । कस्तो म्यासेज कसलाई पठाउने निक्र्यौल गर्दै ‘कपि र पेष्ट’ गर्न थालेँ । सामाजिक सञ्जालमा साथीहरुको भित्ता जता पनि नयाँ वर्षका शुभकामनाहरुले रङ्गिएको भेटिन्थ्यो । यस्तैमा एउटा साथीको भित्तामा ठ्याक्कै मेरो विगतसँग मिल्दो जुल्दो शुभकामनाको सन्देश भेटियो र त्यसलाई लाइक र कमेण्ट गर्न म पछि किन पर्थेँ र ? त्यहाँ यस्तो लेखिएको थियोः 
“सानो छँदा एक रूपैयाको पोस्टकार्ड किनेर त्यसको पछाडी जानि–
नजानी एउटा सायरी लेखेर, लजाउँदै लजाउँदै आफ्नो Someone special लाई दिएर New Year  को Wish गर्दा निक्कै मज्जा हुन्थ्यो । बिस्तारै मुना, नवयुवा जस्ता पत्रीकाबाट पत्रमित्रता गर्दै शुभकामना आदन–प्रदान गर्ने क्रम शुरु भयो । त्यसपछी Mobile को युग शुरु भएसगै SMS मार्फत्
(one glass of Water,
one glass of Beer.
Oh my dear,
Happy new Year)
भनेको हिजो जस्तो लाग्छ । तर आजकाल प्रविधीको विकास भएर भनौ कि हामी व्यस्त हुन थालेर हो ति सबै एकादेशको कथा जस्तो भएका छन् । अहिले त फेसबुक मा एउटा Status लेख्यो अनि Like र Comment  गन्न थाल्यो । पहिलेको जस्तो रमाइलो रहेन, आफ्नो पनको भावना पनि हराउन थाल्यो । तै पनि चलेको चलन चलाउनै पर्यो । प्रविधी सग“ Upgrade पनि हुनै प¥यो । तपाईंहरु सबै जनालाई नया“ वर्È २०७० को हार्दिक मंगलमय शुभकामना । फुलोस, फलोस जिन्दगी पूरा हुन् मनका सबै चाहना !!”
सबैलाई शुभकामनाका सन्देश पठाएर सक्दा मध्यरातको १ बजिसेको थियो । साँच्चै यो सुचना र प्रविधीले मानिसलाई कति ठाउँमा सहयोगी भएर सघाएको छ । जे मा पनि साथ दिन आएको छ, सामाजिक सञ्जालहरु । यसले हाम्रो जिवनशैली नै परिवर्तन गरिदिएको छ । हामीले गर्ने गरेको हरेक कार्यलाई प्रत्यक्ष रुपमा प्रभाव पारिरहेको छ । अन्त्यमा सबैजनालाई नयाँ वर्ष २०७०को हार्दिक मङ्गलमय शुभकामना । साथै देशले चाडै नै निकास पाओस्, जनताले राम्रो अनि हाम्रो संविधान पाउन् कामना ।

No comments

@lonely_aananda. Powered by Blogger.