चितवनको कांग्रेसमा फेरि विवाद चर्कियो विरोध गर्नेहरुको खुट्टा भाँचिने


चितवन । सधैं टिके राजनीतिमा विश्वास गर्ने नेपाली कांग्रेसमा फेरि टिका लगाएरै नेविसंघ चितवनको नेतृत्व चयन भएपछि चितवनका विद्यार्थी देखि कांग्रेसका नेता कार्यकर्ताहरुमा चर्को विवाद सुरु भएको छ । एक वर्षअघि निर्वाचित चितवन जिल्ला सभापति विकास कोइरालालाई समेत पदमुक्त गरेर टेकप्रसाद गुरुंगलाई टिका लगाएर जिल्ला सभापति बनाइसकेको चितवन कांग्रेसको टिके इतिहासले फेरि नेविसंघ चितवनमा आएर निरन्तरता पाएको छ । गत शुक्रबार नेविसंघको ४३ औं स्थापना दिवसका दिन नेविसंघ चितवनको जिल्ला अधिवेशन तोकिएको थियो । तर विभिन्न क्याम्पस र क्षत्रीय अधिवेशनहरुको विवादले प्रतिनिधि छनौट पनि विवादित बन्यो ।
नेविसंघ चितवनको प्रेस विज्ञप्ती
अधिवेशन सम्पन्न गर्न केन्दबाट केन्द्रीय सदस्य अन्जन चौलागाई आए । उनले चितवनको विवाद समाधान गर्न सकेनन । प्रतिनिधि छनौटमा व्यापक विवाद भएकै कारणले नेपाली कांग्रेस चितवनको सहमतिमा आगामी वैशाख १३ गते अधिवेशन गर्ने भनि मिति तय भयो । तर एकाएक यो निर्णय उल्टियो । चौलागाइले एकाएक विभिन्न प्रलोभनमा परेर रातारात नेविसंघ चितवनको कार्यसमिति भंग गरिदिए । उत्तम जोशीको नेतृत्वमा रहेको समिति भंग गरी अरुणेश्वर खनालको अध्यक्षतामा नयाँ चितवन जिल्ला कार्यसमिति टिका लगाएरै घोषणा गरिदिए । वैशाख ६ गतेको अधिवेशन स्थगित भई वैशाख १३ गतेका लागि तय भएको अधिवेशन अगाडि सबैलाई चकित पार्ने किसिमले टिके समिति चयन भएको प्रति चितवनका कांग्रेस विद्यार्थीहरुले असहमति जनाएका छन् ।  
नेविसंघ, चितवनको समेत सहमतिमा नेपाली का“ग्रेस,चितवनले बनाएको पार्टी संयन्त्रले बैशाख १३ गतेका लागि सारेको २४ औं जिल्ला अधिवेशन नहुँदै अरुणेश्वर खनाललाई अध्यक्ष भएको घोषणा गरिएपछि विवाद झनै चुलिएको हो ।
खनाललाई अध्यक्ष बनाइएको घोषणा गरिएपछि नेविसंघ, चितवनको विवाद झनै चरमचुलीमा पुगेको छ भने केन्द्रीय प्रतिनिधि चौलागाईंले लिएको निर्णयको विरोधका स्वरहरु ‘आगोको मुस्लो’ झैं फैलिएको छ । आसन्न स्ववियु चुनावको अवस्थामा आएर भएको यस किसिमको रवैयाले सो चुनावलाई नै प्रभाव पार्ने भएकाले चौलागाईंको निर्णयलाई तत्काल खारेज गरेर विधिसम्मत् रुपमा अधिवेशन गर्नुपर्ने माग धेरैले गरेका छन् । यस सम्बन्धमा प्रतिक्रिया दिँदै नेविसंघ,चितवनका अध्यक्ष उत्तम जोशीले विधिसम्मत जानेहरुका लागि शुक्रबार भएको निर्णय कुनैपनि हालतमा मान्ने नहुने जिकिर गरे । “केन्द्रीय प्रतिनिधिलाई सबै विद्यार्थीको भावनाको कदर हुने गरी विधिसम्मत् रुपमा अधिवेशन गर्न पठाइएको हो,मनलाग्दी गर्न र लेटरप्याडको नै दुरुपयोग गरेर आफूलाई मन लागेको मान्छेलाई अध्यक्ष बनाउन पठाइएको होइन”,उनले भने,“केन्द्रीय प्रतिनिधिबाट खनाललाई अध्यक्षमा चयन गरिएको भन्ने खबर पाएपछि बैशाख १३ गतेको अधिवेशनमा आएर आफ्नो नेता छान्ने प्रक्रियामा रहेका सबैलाई आक्रोशित बनाएको छ र कसैले पनि यसलाई वैधानिकता दिनसक्ने अवस्था छदैंछैन ।”
नेविसंघ,चितवनको अधिवेशन सम्पन्न गराउनका लागि जिल्ला समितिको बैठकबाट सर्वसम्मतरुपमा बनाइएको ५ सदस्यीय पार्टी संयन्त्रका संयोजक तथा नेपाली काँग्रेस,चितवनका सचिव जीतनारायण श्रेष्ठले अहिलेसम्मको अवस्थामा उत्तम जोशीबाहेक अरु कोही नेविसंघ,चितवनको अध्यक्ष नरहेको बताउँदै कसैले बाटो–बाटोमा मनलाग्दी रुपमा कसैलाई अध्यक्ष बनाउँदै हिंड्छ भने त्यसलाई अध्यक्ष मान्न नसकिने अडान व्यक्त गरे । 
यसैबीच, नेविसंघ, चितवनको २९ सदस्यीय कार्यसमिति मध्ये १६ जनाले शनिबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै संगठनको आन्तरिक प्रतिस्पर्धा र नयाँ नेतृत्व चयनका सन्दर्भमा नेविसंघ,चितवनले तय गरेको २४ औं जिल्ला अधिवेशन प्रतिनिधिहरुको अन्तिम नामावली प्रकाशन गरेपछि मात्रै गर्ने गरी नेकाँ, चितवनको पार्टी संयन्त्रले निर्णय गरेको अवस्थामा केन्द्रीय प्रतिनिधिका रुपमा आएका अञ्जन चौलागाईंले बहकाउ र भडकावमा लागेर संगठनको हीत र नीतिविपरीत अरुणेश्वर खनाललाई अध्यक्षमा चयन गरेको भन्ने सुनिन आएकोमा आफूहरु अचम्मितमा परेको स्पष्ट पारेका छन् । उनीहरुले संगठनको विधि, विधान र प्रक्रिया मिचेर आर्थिक प्रलोभनमा पर्ने चौलागाई र आपसी द्वन्द्व र भड्काउने कार्यको उक्साहटमा लाग्न प्रयत्न गर्ने  सबैका विषयमा अध्ययन—अनुसन्धान गरी संगठनबाट कारबाही गरी इमानदार र कर्मठ कार्यकर्ताहरुको मनोबल उच्च राख्न नेविसंघ केन्द्रीय समिति र नेपाली काँग्रेससँग माग गरेका छन् । विज्ञप्तिमा पार्टी संयन्त्रबाट तोकिएको बैशाख १३ गतेको २४ औं जिल्ला अधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्नपनि सबैस“ग आग्रह गरिएको छ । 
चितवनमा रहेका स्ववियु निर्वाचन हुने १३ वटा क्याम्पसमध्ये १० वटा क्याम्पस तथा कलेज इकाईका सभापतिहरुले पनि शनिबार नै संयुक्त विज्ञप्ति जारी गर्दै केन्द्रीय प्रतिनिधि चौलागाईंले कोठे राजनीतिलाई बढावा दिदैं विभिन्न लोभ र प्रलोभनमा परि संगठनको विधान र प्रक्रिया विपरीत संगठनमा हाल क्रियाशील नै नरहेका खनाललाई अध्यक्ष बनाएको भन्ने तथाकथित हल्ला चलाएकोमा आफूहरु आश्चर्यचकित भएको बताएका छन् । उनीहरुले अधिवेशन गर्नका लागि उत्साहित रहेको अवस्थामा त्यसलाई नै कुण्ठित पार्दै व्यक्तिगत र स्वेच्छाचारी निर्णय गर्ने केन्द्रीय प्रतिनिधि चौलागाईंलाई विधानबमोजिम कारबाही गर्न माग गरेका छन् । 
उता, अधिवेशन नहुँदै अध्यक्ष भएको घोषणा गराइएका अरुणेश्वर खनालले ने।वि।संघको विधान २०२७ को संशोधित विधान २०६९ ले जिल्ला अध्यक्षलाई दिएको अधिकारको प्रयोग गर्दै जिल्ला कार्यसमिति विस्तार गरेको प्रेस विज्ञप्तिमार्फत जानकारी गराएका छन् । 
यतिबेला उत्तम जोशी पक्षले वैशाख १३ गते भव्यताका साथ अधिवेशन गर्ने तयारी गरेको छ भने अरुणेश्वर खनाल पक्षले नेविसंघ जिल्ला समिति चयन भइसकेकाले अधिवेशन आवश्यक नपर्ने भन्दै कुनैपनि हालतमा अधिवेशन गर्न नदिने निर्णय गरेको छ । “अरुहरु हाम्रा विरुद्धमा लागेपछि हामीपनि उनीहरुलाई छोड्नेवाला छैनौं अब नेविसंघको २४ औँ अधिवेशन चितवनमा कुनैपनि हालतमा हुँदैन” छलफलमा सहभागी एक सदस्यले भने, “साम, दाम, दण्ड, भेद सबैको प्रयोग गरेर हामीलाई नै अब वैधानिकता दिनेछौँ, हाम्रा विरुद्धमा लाग्नेको हातखुट्टा भाँचिन्छ ।”

No comments

@lonely_aananda. Powered by Blogger.