वास्तवमा वर्ड फ्लुघटनाको जानकारी ढाकछोप गर्न खोजिएको होइनः डा. अधिकारी

पोल्ट्रीको राजधानी भनेर चिनिने चितवनमा यतिबेला वर्ड फ्लु देखिएको छ । पोल्ट्री व्यवसायीहरु भयवित र चिन्तित भएका छन् कतै आफुले पालेको कुखुराहरुमा पनि वर्ड फ्लु हुने त होइन ? उता पशु सेवा कार्यालय तथा राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशालामा कार्यरत डाक्टर तथा कर्मचारीहरु भने यस रोगको बारेमा सजग हुँदै संक्रमित ठाउँ तथा वरिपरीका क्षेत्रहरुमा खटिएका छन्, रोग नियन्त्रणको प्रयास गर्दै, यसले महामारीको रुप लिन नपाओस् भनेर । प्रस्तुत छ, यसै सन्दर्भमा अभिमत्रपत्र साप्ताहिकका लागि आनन्द पोखरेलले राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशाला भरतपुरका प्रमुख तथा वर्ड फ्लु नियन्त्रणको लागि जिल्ला समन्वय अधिकृत डाक्टर बोधराज अधिकारीसँग गर्नुभएको कुराकानीको केही अंश जस्ताको तस्तै ।

डा. भोजराज अधिकारी

चितवनमा वर्ड फ्लुको संक्रमण कसरी भयो भन्नेबारे अनुसन्धानबाट केही जानकारी आएको छ ?
नेपालमा वर्ड फ्लु भेटिएको वि.सं. २०६५ तिर झापा बाट हो त्यस पछाडि क्रमिक रुपमा हरेक वर्ष कहिले ताप्लेजुङमा, कहिले पाँचथरमा, कहिले काठमाण्डौमा त कहिले पोखरामा देखिँदै आएको छ । यसरी यो भाइरल रोग एक पटक प्रवेश गरिसकेपछि एउटा स्थानमा हामीले यसलाई नियन्त्रण गरिसकेका छौँ भने पनि यसको विभिन्न जोखिमहरु जस्तो कि चराहरुबाट हुन्छ फेरि यो रोगको प्रकोप हाम्रो छिमेकी मुलुक भारत र बंगलादेशमा रहिरहेको हुृनाले पनि छिमेकी राष्ट्रहरुबाट छिर्ने सम्भावना पनि त्यतिकै छ भने समय समयमा बसाइँ सरेर आउने चराहरुबाट पनि घरपालुवा पंक्षीमा सर्ने गरेको पाइएको छ यसको प्रमुख कारण पनि यिनै चराहरु नै हुन् र बेलाबेलामा यो रोग देखिइराखेको हो ।

किसान र तपाईँहरु बिचको मिलेमतोमा वर्ड फ्लुको सुचना लुकाइएको भन्ने कुरा बाहिर आएको छ नि ?
त्यो सम्बन्धमा पशुसेवा कार्यालयको पनि आफ्नै नियम हुन्छ । यो सुचना लुकाइएको भन्ने कुरा जुन अहिले मिडियाका साथीहरुले गर्नुभएको छ त्यो विलकुलै होइन । हामीले कामको प्राथमिकतालाई कुन काम पहिले गर्नुपर्ने हो भनेर त्यता लाग्नु पर्ने भएकोले यहाँहरुले जानकारी लिन अलि पछि पर्नुभएकोले त्यस्तो पर्न गए जस्तो लागेको हो । कृपया यस्तो भाषालाई अलि बिचार पु¥याइदिनुहोला । जिल्ला पशुसेवा सेवा कार्यालयले अरुबेला नियमित सेवा दिएको बेलामा जस्तो अरु रोगहरु, प्रकोपहरुको फैलिएको बेलाको जस्तो जानकारी वर्ड फ्लुको सन्र्दभमा उहाँहरुले भनिराख्नु मिल्दैन ।

आज भन्दा करिब एक महिना अगाडि पनि गौरीगञ्जकै हिमालय फिड लगाएत केही फर्महरुमा कुखुरा मरेका थिए । यो कुरा पनि तपाइहरुलाई थाहै नभएको हो त ? वा यो सुचना लुकाउने प्रयास गर्नुभएको हो ?
हामीलाई त्यहाँबाट यो जानकारी आएन तपाइहरुले जस्तै हामीले पनि बाहिरबाटै हल्लाहरु सुन्यौँ, यदी यस्तो घटना भएको भए चितवनमा पंक्षीरोग सम्बन्धी यति ठुलो प्रयोगशाला छ यहाँ ल्याएर परिक्षण गर्न सक्नुहुन्थ्यो । अनि मात्र यसबाट के रोगले मरेको हो भन्ने कुरा थाहा हुन्थ्यो । बाहिर हुने हल्लाको भरमा मात्र हामी पुगेर यहाँ यस्तो रोग लागेको छ अरे रोग परिक्षणको लागि नमुला लिनु प¥यो भन्दाखेरि कहिले काहीँ सहज तरिकाले काम गर्न सक्ने वातावरण हुन्छ भने कहिले काही यसले समस्या पनि उत्पन्न गराउने गर्दछ ।

वर्ड फ्लुकै कुरा गर्दा पिडित किसान प्रताप थापाका अनुसार उनको आफ्नो कुखुरा त म¥यो नै साथै तपाइहरुले अनुसन्धानमा ढिलाइ गर्दा कुखुराको औषधी उपचारको लागि कम्तिमा पनि रू.५० हजार भन्दा बढी नोक्सानी भएको बताउँछन् त ?
अब वहाँको लागि तपाइहरुले यसरी बुझ्नुप¥यो जब उहाँको कुखुरा बिरामी भए पछि पहिलो नमुना लिएर आउनुभयो । सुरुमा फाटफुट कुखुरा मर्ने भन्ने कुरा अन्य रोगहरुबाट पनि हुनसक्छ । उहाँले ल्याउनुभएको पहिलो परिक्षणमा त्यस्तो खतराको स्थिती थिएन त्यस कारण हामीले भन्यौ तपाईले सामान्य उपचारहरु गर्दै जानुस् त्यस पछि पनि कुखुराहरु मर्ने क्रम जारी रहेमा पुनः परिक्षण गर्नुपर्छ । सुरुमा उहाँले चैतको १२ गते हामीलाई जानकारी गराउनुभएको थियो र चैतको १५ गते सम्म ३ दिन हामीले हेर्दाखेरी उहाँको कुखुराहरु मर्नेक्रम बढि देखियो र पुन परिक्षण गर्ने स्थिती देखाप¥यो र हामीले १५ गते फार्म निरिक्षण गर्दै वर्ड फ्लुको पुन परिक्षण ग¥यौ र त्यसको संक्रमण देखिने वित्तिकै हामीले नमुना काठमाण्डौ पठायौँ । किनभने हामीले यहाँ प्रारम्भिक परिक्षण मात्र गर्छौँ तर रोगबारे पूरा जानकारी काठमाण्डौबाट हुन्छ ।

तपाईले यहाँबाट रोग पहिचानको लागि नमुना संकलन गरेर १६ गते काठमाण्डौ पठाएको भन्नुहुन्छ । फेरि यसको पहिचान भएको जानकारी त चितवनमा २० गते मात्र आयो । किन यति लामो समय लागेको होला ?
हो हामीले १५ यहाँ परिक्षण गरेपछि १६ काठमाण्डौ पठायौँ त्यो दिन शुक्रबार थियो । १७ शनिबार सार्वजनिक बिदा भयो र १८ गते उहाँहरुले परिक्षण गरेर करिब करिब त्यसको यकिन गरिसक्नु भएको छ । १९ गते त्यसको जानकारी पशु स्वास्थ्य निर्देशनालयमा जान्छ विभागको महानिर्देशक, कार्यक्रम निर्देशक लगाएतको टोली बसेर निर्णय गरेर मन्त्रालयमा यसको आवश्यक प्रक्रिया कार्यान्वयन गर्नुपर्छ भनेर मन्त्रालयबाट सुचना पठाउनु पर्नेहुन्छ । उताबाट पठाउने क्रमलाई उहाँहरुले अगाडि बढाउँदै गर्ने र यताको काम तुरुन्तै गर्ने भनेर हामीलाई उहाँहरुले १९ गते नै खटाएर जान भन्नुभयो । त्यो दिनमा म काठमाण्डौमा नै थिए, त्यहाँ १९ गतेबाट हाम्रो एक हप्ताको समीक्षा चल्दै थियो । हामी १९ गतेको समीक्षामा एक दिन मात्रै बसेर २० गते बिहान जिल्ला पशु सेवा कार्यालयका डा. तेजबहादुर रिजाल र म यो कार्यक्रमको लागि आयौँ । फेरि यहाँले यो जति लामो समय लाग्यो भन्नुभएको छ, यथार्थमा यो काम गर्दा गर्दैको प्रक्रिया नै हो ।

अहिले देखिएको यो रोग तत्काल नियन्त्रणको लागि तपाईहरुले कस्ता उपायहरु अपनाउनुभएको छ ?
तत्कालको लागि संक्रमण भएको फार्मको कुखुरा जन्य वस्तुहरु जस्तै कुखुरा, दाना, अण्डा लगाएतका वस्तुहरु नष्ट गर्ने कार्य भएको छ, त्यसपछिको अवस्थामा त्यो ठाउँमा विभिन्न खालका रसायन, चुनाहरु हालेर सरसफाई गरिएको छ । ता की त्यहाँ कुनै पनि जिवाणुहरु नरहुन् । यो कुरा हाम्रो प्राविधिकहरुको टोली खटिएर गर्नुभएको छ र वरिपरीको क्षेत्रमा सफाइको काम पनि भरखरै मात्र सकिएको छ ।

संक्रमित ठाउँ वरिपरि रहेका अन्य फार्महरुको अवस्था के छ ?
यसको लागि अहिले एउटा सर्वेक्षण र अनुगमन टोली नै खटिएर काम गरिरहेको अवस्था छ । यो टोलीमा एकजना भेटेरेनरी डाक्टर, एकजना प्राविधीक र एकजना सहयोगी सहित तीन देखि चारजनाको टोली परिचालन गरिएको छ । सङ्काश्पद ठाउँहरु भेटीए भने त्यसको नमुना लिएर हामीले परिक्षण पनि गर्ने गरेका छौँ ।

वर्ड फ्लु लागेपछि किसानको कुखुरा त नष्ट गरिन्छ नै, साथै दाना, अण्डा लगाएतका वस्तुहरुपनि नष्ट गरिँदा किसानलाई ठुलै मर्का पर्ने देखिन्छ । सरकारी तवरबाट पिडीत किसानलाई आर्थिक राहात मिल्ने व्यवस्था कस्तो छ ?
जव नेपाल सरकारले वर्ड फ्लु नियन्त्रण आदेश जारी ग¥यो त्यस पछाडि यसमा सरकारले किसानहरुलाई भएको क्षतिको राहात स्वरुप किसानलाई यो व्यवसायमा टिकाइराख्नको लागि केहि मात्रामा भएपनि राहातको व्यवस्था गरेको छ । सम्पूर्ण नोक्सान बेहोर्नको लागि त सरकारसँग वजेट पनि ठुलो मात्रामा आवश्यक पर्दछ । त्यसैले नष्ट गरिएको वस्तुहरुको राहात स्वरुप सरकारले व्यवस्था गरेको रकम उपलब्ध हुन्छ । त्यसको लागि हामीले संक्रमित ठाउँमा वस्तुहरु नष्ट गरिसकेपछि नष्ट गरिएका वस्तुहरुको जानकारी सहित एउटा प्रमाणपत्र दिन्छौँ । त्यो प्रमाणपत्र ४५ दिन भित्रमा जिल्ला पशु सेवा कार्यालयमा पेश गर्नु पर्ने हुन्छ । त्यसपछि प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा गठित जिल्ला वर्ड फ्लु रोग नियन्त्रण प्रविधिक समितिबाट यो प्रमाणपत्रमा भएका कुराहरुमा अनुमोदन भएपछि पिडीत किसानले क्षतिपूर्ति पाउनुहुन्छ ।

क्षतिपूर्ति के केति मात्रामा पाउने व्यवस्था छ ?

क्षतिपूर्तिको व्यवस्था गर्दा हरेक वस्तु अनुसार फरक फरक मूल्य निर्धारण गरिएको छ । लेयर्स कुखुरा प्रति कुखुरा रू.१२०, अण्डा प्रतिगोटा रू.३ र दाना प्रति के.जी. रू.१० का दरले जे जति नष्ट भएको छ त्यो उपलब्ध गराउने व्यवस्था रहेको छ ।

किसानको नष्ट भएको वस्तुको हिसावमा त यो मूल्यांकन अति नै न्यून भएन र ?

हो किसानलाई भएको नोक्सानी र हानी यसले पूर्ति गर्न सक्दैन । किसानलाई धेरै नोक्सान परेको हुन्छ । यसमा सरकारले भविश्यमा यस्तो केहि राहातको प्याकेजहरु ल्याउने योजना पनि बनाइराखेको छ । त्यसले आगामी दिनहरुमा उहाँहरुले पुनः यो व्यवसाय सञ्चालन गर्नको लागि सहुलियतको कार्यक्रमहरु पनि आउने व्यवस्था हुन्छ । त्यसबाट पनि पिडीत किसानहरुले लाभ लिन सक्नुहुनेछ ।

वर्ड फ्लु रोगबाट बँच्नको लागि कस्ता उपायहरु अपनाउन सकिन्छ ?

यो रोग देखा परिसकेपछि हामीले ध्यान दिनु पर्ने कुरा जैविक सुरक्षा हो । शंकास्पद ठाउँहरुबाट कुनै जानी नजानी संक्रमित मासु, अण्डाहरु आदि इन्यादि हाम्रो ठाउँमा आएकी भन्ने कुरामा सचेत हुनुपर्छ । कुखुरा फर्ममा काम गर्ने मानिसहरु पहिलो जोखिममा पर्नुहुन्छ उहाँहरुले कम्तिमा पनि काम गर्नेबेलामा मुखमा मास्क लगाउने, हालमा ग्लब्स लगाउने, खोरमा पस्दा खेरी छुट्टै जुत्ताको प्रयोग गर्ने ता की त्यहाँ भित्रको फोहोरहरु बाहिर आउन नपाओस् । दोस्रो जोखिममा मासु काट्ने तथा बेच्ने ठाउँका मानिसहरु पर्नुहुन्छ उहाँहरुले पनि कम्तिमा पनि मासु काट्ने बेलामा मास्क तथा ग्लब्सहरु लगाएर काटकुट गर्नुभयो भने संक्रमणबाट जोगिन सकिन्छ । तेस्रो जोखिममा पर्ने भनेको उपभोक्ताहरु हुन्, उनीहरुले मासु राम्रोसँग पकाएर खाएको खण्डमा यो रोगको जोखिम न्यून हुन्छ ।

अहिले सामाजिक सञ्जालहरुमा के पनि आरोप लगाइएको छ भने डाक्टर तथा किसानको मिलेमतोमा चितवनको वर्ड फ्लुलाई लुकाउने प्रयास गरियो । यसबारेमा तपाइको धारणा के छ ?

यसबारेमा अलिकति फरक किसीमले मिडियामा कार्यरत साथीहरुले बुझ्नुभएको जस्तो छ । जब हामीले १९ गते पाएको रिपोर्ट अनुसार २० गते हामी यहाँ आयौँ । छिटो भन्दा छिटो संक्रमित ठाउँबाट संक्रमित वस्तुहरु नष्ट गर्नु पहिलो प्राथमिकता हुनुपर्छ भन्ने कुरा सबैले बुझ्नु जरुरी छ, न की वर्ड फ्लु लागेकोछ भनेर हल्ला गर्दै समय नष्ट गर्नुको कुनै औचित्य हुँदैन । त्यसपछि तत्काल संक्रमित स्थानमा गएर संक्रमित वस्तुहरु नष्ट गर्नुपर्छ भनेर हाम्रो बैठक बस्यो । त्यही दिनको राती नै गएर नष्ट गर्नुपर्छ भनेर हामीले नष्ट गर्न गयौँ कतिपय मिडीयाका साथीहरुले किन राती राती गरेर नष्ट गर्नुप¥यो भन्नुभएको थियो । कृपया यो सुचना लुकाउने उद्देश्यले राती गएर कुखुरा नष्ट गरिएको होइन । संक्रमण फैलनबाट जोगाउनको लागि राती राती गरेरै भए पनि संक्रमित कुखुरा नष्ट गरिएको हो ।

कुखुरा नष्ट गरिने ठाउँमा सञ्चारकर्मीहरुलाई नजान भनिएको त थियो नि ?
काम गर्ने टोली गएर काम गर्ने हो । मिडीयाका साथीहरु, अरु जनताहरु त्यहाँ गएर लाइन लागेर कसरी मार्ने रहेछ भनेर हेर्न थाले भने त्यसले समस्या उत्पन्न गराउँछ । त्यो त भाइरस संक्रमित ठाउँ हो, जो कसैलाई पनि जोखिम हुन सक्छ त्यो जोखिमबाट बँच्नको लागि पनि तपाइहरु त्यहाँ नजानुस् भनेर भनिएको हो । किन भने त्यहाँ गएर काम गर्ने साथीहरुले स्वास्थ्य परिक्षण गरेर ट्यानी फ्लु भन्ने औषधी खाएर काम गर्न जानुभएको छ । कम जोखिमपूर्ण अवस्थामा गएर काम गर्नुभएको छ भन्नुस् त ? आफ्नो जिउको बाजी लगाएर काम गर्न जानुभएको छ कमसेकम त्यो काम गर्न सहज वातावरण बनाइयोस् साथीहरुले मिलेर सोध्ने काम गर्न थाल्दा अलिकति  ढीलो हुन्छ, त्यहाँ काम गर्न अलि अप्ठ्यारो हुन्छ । यस पछाडि पनि काम गर्दै गरेका अवस्थामा कतिपय मिडियाका साथीहरुले सोध्ने क्रम जारी भएपछि ल काम गर्ने अप्रेशन भइराखेको अवस्था छ, तपाइहरु बाहिरबाट  मास्क लगाएर टाढैबाट फोटो खिच्न र जानकारी लिन  मन लागेको छ भने लिनुहोला किनकी संक्रमण भएको क्षेत्रभित्र तपाइहरु पस्नुभयो भने तपाइहरुलाई पनि जोखिम हुन्छ साथीहरु भन्दै यसरी मिडियाका साथीहरुलाई संक्रमित ठाउँमा जान रोकिएको हो । वास्तवमा घटनाको जानकारी ढाकछोप गर्न खोजिएको होइन यो कुरा तपाइहरुले बुझिदिनुप¥यो ।

No comments

@lonely_aananda. Powered by Blogger.